देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिगमनको खतरा अझै टरेको छैन

देशान्तर

नेकपा मसालका महासचिव मोहनविक्रम सिंहले अहिले पनि प्रतिगमनको खतरा कायमै रहेको आंैल्याएका छन् । चुनावअघि बनेको पाँचदलीय गठबन्धनबाट प्रचण्ड केही समय बाहिर हुँदा प्रतिगमनको मतियार रहेको नेकपा एमालेले केही टाउको उठाउने मौका पाएको उनको ठम्याइँ रहेको छ । एमालेले प्रतिगमनकारी शक्तिको रूपमा रहेको राजावादीलाई साथ दिँदा संसद्मा उनीहरूको उपस्थिति बढेको र उनीहरूले अहिले गणतन्त्र र धर्मनिरपेक्षतामाथि बारम्बार प्रहार गर्न खोजेको पनि आरोप लगाए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै महासचिव सिंहले भने ‘राजवादीहरू गणतन्त्र, धर्मरिनपेक्षताजस्ता प्राप्त उपलब्धिहरू फाल्नका लागि पहिलाको भन्दा बढी आफ्ना गतिविधिहरू बढाएर गएका छन् । त्यो शक्तिलाई अहिले नेकपा एमालेले समर्थन गरिरहेको छ । त्यसले गर्दा पनि प्रतिगमनको खतरा अझैं बढेको छ ।’

तपाईंको स्वास्थ्य कस्तो छ अहिले ?
म अहिले ८८ वर्षको भए । मेरो स्वास्थ्य ठीकै छ । म सुगरको बिरामी पनि छु, त्यसले गर्दा मैले नियमित औषधि सेवन पनि गरिरहेको छु । खानपानमा पनि विशेष जोड दिन्छु । सुगरको बिरामी भएकाले शरीरलाई हानि गर्ने कुराहरू खाँदिनँ ।

पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

अहिले नेपाली राजनीतिमा धेरै नै उथलपुथल भइरहेको छ । त्यस विषयमा हामीले गम्भीर भएर सोची पनि रहेका छौं । देशमा अहिले पनि प्रतिगमनको खतरा कायमै छ । राजवादीहरू गणतन्त्र, धर्मरिनपेक्षताजस्ता प्राप्त उपलब्धिहरू फाल्नका लागि पहिलाको भन्दा बढी आफ्ना गतिविधिहरू बढाएर गएका छन् । त्यो शक्तिलाई अहिले नेकपा एमालेले समर्थन गरिरहेको छ । त्यसले गर्दा पनि प्रतिगमनको खतरा अझैं बढेको छ । यसैगरी अमेरिकी साम्राज्यवादको गतिविधि पनि अहिले बढेर गएको छ । नेपालको राष्ट्रियता, सार्वभौमिकता र बृहत्तर राष्ट्रिय हितमा धेरै नोक्सान पुगेको छ भन्ने गम्भीर विश्लेषण हामीले गरिराख्या छौं ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तपाईंहरूले विज्ञप्ति निकालेर बधाई दिँदा ‘प्राप्त ऐतिहासिक उपलब्धिहरूलाई स्थापित गर्न मद्दत पुग्छ’ उल्लेख गर्नुभयो, भनेको अझै खतरा छ ?

नेपाली कांग्रेसबाट उम्मेदवार बन्नु भएका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित हुनु भयो । उहाँलाई निर्वाचित गराउनका लागि हामीले पनि मतदान गरेका हौं । उहाँको कार्यकालको सफलताको कामना गर्दै बधाई पनि दिएका छौं । उहाँको आगमनलाई हामीलाई आशावादी पनि बनाएको छ । हाम्रो अहिले पनि एमालेसँगको टक्कर भनेको प्रतिगमनसँगको टक्कर हो । त्यसमा एमाले पक्षको विजय भएको भए, नेपालको गणतन्त्र, धर्मनिरपेक्षतालाई धेरै नोक्सान पुग्ने थियो । त्यसैले हामीले राष्ट्रपतिको चुनावलाई सामान्य रूपमा लिएका थिएनौं । हुन त राष्ट्रपतिको चुनाव सामान्य हो । संविधानअनुसार नेपालको राष्ट्रपति अलंकारिक राष्ट्र प्रमुख हो । उसलाई कार्यकारिणी अधिकार हुँदैन । तर, अहिलेको परिस्थितिमा राष्ट्रपतिको चुनाव प्रतिगमनविरुद्धको संघर्षको अंग भएको थियो । त्यसैले हामीले यसलाई महत्वपूर्ण रूपमा लिएका थियौं र छौं साथै स्वागत पनि गरेका छौं ।

खासमा वामपन्थी भनेको, तपाईंले एमालेलाई प्रतिगमन देख्नुहुन्छ, एमालेले तपाईंहरूलाई कम्युनिस्ट देख्दैन ?
हेर्नुस्, यो कुरा प्रस्ट छ । एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले भारतीय सामन्त गोएलसँगको भेटघाट पछि एमालेको लाइनमा परिवर्तन आयो । त्यो परिवर्तन के अर्थमा भयो भने, गणतन्त्रात्मक व्यवस्था माने पनि अहिले राजावादीहरूसँगको साँठगाँठ र सदाशयता बढेको छ । धर्मनिरपेक्षताप्रतिको उसको दृष्टिकोण बदलिएर गएको छ । त्यसैले अहिलेको अवस्थामा एमालेले नै प्रतिगमनको मुख्य नेतृत्व गरिरहेको छ भन्ने हाम्रो स्पष्ट दृष्टिकोण हो । त्यो हाम्रो तथ्य र वास्तिविकतामा रहेर विश्लेषण गरेका पनि हौं । त्यसैले प्रतिगमनविरुद्धको पाँचदलीय गठबन्धन चुनावी तालमेललाई हामीले समर्थन गरेका हौं । पुस १० मा सरकार बन्दा प्रचण्ड पाँचदलीय गठबन्धन छोडेर एमालेसँग मिल्न गएपछि हामीले त त्यसको भत्र्सना पनि गरेका थियौं । पछि प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको सन्दर्भमा गैरएमालेलाई समर्थन गरेर आउनुभयो त्यसलाई स्वागत पनि गरेका थियौं । राजनीतिमा कुनै पनि पूर्वाग्रहबिना तथ्यअनुसार राजनीतिक दलले लिने लाइनअनुसार उनीहरूको मूल्यांकन गरेर दृष्टिकोण सार्वजनिक गर्ने गर्छौं ।

अहिलेको सरकारलाई कसरी मूल्यांकन गर्ने, पहिला विपक्षमा मत दिनुभयो, अहिले पक्षमा मत दिनुभयो ?

हामीले कसलाई समर्थन गर्ने कसलाई विरोध गर्ने भन्ने कुरामा कसैप्रति पूर्वाग्रह राख्दैनौं । उनीहरूले कुन प्रकारको नीति अपनाउँछन्, त्योअनुसार नै हामी अघि बढ्छौं । पहिला एमाले र माओवादी मिल्दा त्यसलाई समर्थन गरेका थियौं । त्योभन्दा पहिला भारतीय नाकाबन्दीलाई ओलीले गम्भीर रूपमा लिएका थिए, त्यो नाकावन्दी सामना गर्नका लागि हाम्रो पार्टीबाट उपप्रधानमन्त्री भएर सरकारमा जानु भएको थियो । जब केपी ओलीले आफ्नो कोर्स बदले त्यसपछि हामीले समर्थन नगरेका हौं । पछिल्लो समय ओली राजावादीसँग बढी साँठगाँठमा केन्द्रित भएपछि हामी अलग भयौं । त्यसैगरी पुस १० गते सरकार बनाउँदा हाम्रो पाँचदलीय गठबन्धन छाडेर नेकपा एमालेका अध्यक्ष ओलीसँग मिल्न गए, त्यसलाई हामीले विरोध ग¥र्यौं । अहिले प्रचण्ड एमाले गठबन्धन छोडेर राष्ट्रपतिको चुनावको सन्दर्भमा यता आएपछि हामीले समर्थन ग¥यौं । हाम्रो पहिलादेखि नै अडान थियो, एमालेको उम्मेदवारले राष्ट्रपति पदमा चुनाव जित्दा सबैमा ओलीको प्रभुत्व हुन्छ र देश तानाशाहीतर्फ जाने सम्भावना हुन्छ । त्यसकारण हामीले त्यसलाई विरोध गरेका थियौं । जब फेरि प्रचण्डले गठबन्धन छोडेर हाम्रो गठबन्धनमा आएपछि स्वागत गरेका हौं । त्यसकारण हामीले कुनै पूर्वाग्रह वा प्रलोभन बिना कुन राजनीतिक पार्टीले कस्तो दृष्टिकोण अपनाउँछ, त्यसैअनुसार नै हामीले मूल्यांकन गरिरहेका छौं । त्यसैका आधारमा यस पटक हामीले प्रचण्डलाई विश्वासको मत पनि दिएका छौं । स्पष्ट छ, अहिले पनि माओवादी र सरकारसँग हाम्रा कयौं गम्भीर प्रकारका मतभेद पनि छन् । त्यो आफ्नो ठाउँमा छ । तर प्रचण्डले ओलीलाई छाडेपछि हामी उनको पक्षमा हो ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि संविधान जोगियो भन्ने निष्कर्ष हो ?

गैर कम्युनिस्ट वा कम्युनिस्ट भन्ने हाम्रो सोचाइ होइन । एमालेले प्रतिगमनको बाटो समातेको हुनाले गैरएमाले राष्ट्रपति हुनुपर्छ भन्ने हाम्रो सोचाइ थियो । त्यसमा सफलता पनि हामीले पाएका छौं । पाँचदलीय गठबन्धन हामीले बनाएका थियौं । त्यही पक्षको मानिस रामचन्द्र पौडेल हुनुहुन्थ्यो । समितिको संयोजक पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसकारण हामीले उहाँलाई समर्थन गरेका हौं । रामचन्द्र राष्ट्रपति भइसक्नु भएको छ, देशको सम्पूर्ण स्थिति परिवर्तन हुन्छ भन्ने पनि होइन । राष्ट्रपति भनेको कार्यकारी पद पनि होइन ।

ओलीसँग डराउनु भयो, रामचन्द्रजीले चेक एन्ड ब्यालेन्स गर्नुहुन्छ भन्ने अपेक्षा हो ?

ओलीसँग डराएको होइन । हामी त ओलीसँग संघर्षको मैदानमा छौं । उनले गलत गरेकाले हामीले संघर्ष सुरु गरेका हौं र पाँचदलीय गठबन्धन बनाएका हौं । हाम्रो गठबन्धनले ओली नेतृत्वको नेकपा एमालेलाई धेरै ठाउँमा पराजित पनि गरेका छौं । स्थानीय तहदेखि संघ प्रदेश हुँदै राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा हामीले जित निकाल्न सफल भयौं । बीचमा प्रचण्डले पाँचदलीय गठबन्धनलाई धोका दिँदा केही ठाउँमा ओलीले टाउको उठाउन पाएका छन् त्यसलाई हामीले खतराको रूपमा देखेका छौं ।

अब कसरी प्रचण्ड नेतृत्वको सरकार अगाडि बढ्ला ?

पहिलो कुरा, आम चुनावले राम्रो परिणाम दिन सकेन । तर महत्वपूर्ण सफलता के हो भने एमालेले चुनावअघि दुई तिहाई ल्याउँछ यस्तो गर्छ भन्ने कुरा गरेको थियो त्यसमा एमालेलाई पराजित ग¥यो । त्यो नै पाँचदलीय गठबन्धनको महत्वपूर्ण सफलता थियो । तर, गठबन्धनको पक्षमा बहुमत आउन सकेन । जनताले निश्चितरूपमा गठबन्धनको पक्षमा भोट दिएका हुन् । गठबन्धनभित्रका गलत प्रकारका सोचाइहरूका कारणले नतिजा राम्रो आएन । त्यसले गर्दा अहिले देशमा अस्थिरता पैदा भएको छ ।

यो गठबन्धनभित्र देखा परेको अन्तरघातको परिणाम हो । हाम्रो पार्टीले पाँचदलीय गठबन्धनभित्र जुन समझदारी भएको थियो त्यसमा इमान्दारिताका साथ प्रस्तुत भयो र आफ्नो जिम्मेवारी निर्वाह गरेको छ । तर अन्य पार्टीहरूमा कमजोरीहरू देखा परेको कारण पनि अहिलेको अवस्था भएको हो । सकेसम्म हामी सबैले देशलाई सही दिशामा लैजाने प्रयत्न गर्नुपर्छ । अहिले हामीले प्रतिगमनका विरुद्धमा गठबन्धन गरेर प्रतिगमनलाई परास्त गर्न सक्नुपर्छ । अहिले आम जनजीविकाका प्रश्नहरू गम्भीर प्रकारका छन् । ती समस्या समाधानका लागि हामीले सरकारलाई निरन्तर दबाब पनि दिन्छौं । र हामीले सरकारलाई विश्वासको मत दिएका छौं, तर हामी सरकारमा जाँदैनौं ।

यो गठबन्धन पाँच वर्ष ढुक्क टिक्छ ?

यो गठबन्धन कति वर्ष वा कति समय टिक्छ त्यो भन्न सक्दैनौं । अहिले नेकपा एमालेका अध्यक्ष केपी ओलीको एकमात्र रणनीति सुरुदेखि नै के हो भने गठबन्धनलाई तोडाउने । ओली प्रतिगमनकारी शक्तिका नाइके भएकाले प्रतिगमनविरुद्धको गठबन्धन हामी अझै मजबुत बनाउने कोसिसमा हुन्छौं । गठबन्धन कति बलियो र टिकाउ बनाउने कुरा नेपाली कांग्रेसको हातमा छ ।

प्रतिगमन भनेको एमाले, पात्र भनेको केपी शर्मा ओली हो ?

सार रूपमा प्रतिगमन भनेको राजावादीहरू हुन् । राजावादीहरूलाई एमालेले सघाइरहेको छ । एमालेले सघाएका कारण राजावादीहरूको संसद्मा उपस्थिति बढ्दै गएको छ । संसद्मा राजावादीहरूले अहिले गणतन्त्र र धर्मरिनपेक्षता खत्तम बनाउनुपर्छ भनेर कराई पनि रहेका छन् । उनीहरूलाई बल प्रदान गर्ने काम एमाले र उसका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । कम्युनिस्ट पार्टी, वर्गको र हकअधिकारको पक्षमा योगदान गरेको पार्टी अहिले प्रतिगमनको मतियार भएर राजावादीलाई सहयोग गरिरहेको छ, यसमा हामीलाई दुःख छ ।

द्वन्द्वकालीन विषयहरू अहिले अदालतमा पुग्न थालेका छन् यसप्रति तपाईंको धारणा के हो ?
यो विषयमा अहिले होइन, सुरुदेखि नै स्पष्ट धारणा सार्वजनिक गरेका थियौं । माओवादीसँग हाम्रा कयौं प्रकारका मतभेद छन् भन्ने विषयमा एउटा विषय यो पनि हो । द्वन्द्वकालमा माओवादी र सरकारबीच सशस्त्र संघर्ष भयो । संघर्षका क्रममा जो मारिए या घाइते भए । त्यतिबेला प्रचण्ड र गिरिजाप्रसाद कोइरालाकाबीचमा शान्ति सम्झौता भएपछि सिद्धियो । त्यसमा कुनै आवाज उठाउनुपर्ने मुद्दा गर्नु पर्ने कुनै औचित्य छैन । तर, द्वन्द्वकालमा मानिसहरू पीडित भएका छन्, हत्या भएको छ, सर्वस्वहरण भएको छ, वा घाइते भएका छन्, यो कुरामा सत्ता पक्षका कारणले होस् वा विद्रोही पक्षको कारणले होस् उनीहरूमाथि निष्पक्ष न्याय हुनुपर्छ । अपराधअनुसारको सजाय हुनुपर्छ भन्ने हाम्रो मत छ ।

सजाय हुनुपर्छ भन्दा नेताहरूमाथि अदालतको तरबार झुन्ड्याउने ?

संक्रमणकालीन न्याय भन्दै द्वन्द्वकालीन मुद्दाहरूमा उन्मुक्ति दिने खालको विधेयक आएको छ । यो विधेयकलाई हामीले गलत भनेका छौं । सशस्त्र संघर्षका नाममा हत्या भएका, मानवअधिकार हनन् भएका घटनाको छानबिन हुनुपर्छ । सत्तापक्ष होस् वा माओवादी पक्ष जसले गरे पनि निष्पक्ष छानबिन गरेर यो केश टुंगोमा पुग्नुपर्छ ।

पुष्पलालसँग संविधानसभाको कुरा गर्दा बाटो छुट्टिएको थियो, अहिले संविधान पनि छ, तर यो जोगाउनु पर्ने चुनौती पनि छ है ?

दरभंगा प्लेनममा हामीले स्पष्टरूपमा संविधानसभाको कुरा उठाएका थियौं । त्यतिबेला पुष्पलाल, केशरजंग रायमाझीहरू विपक्षमा हुनुहुन्थ्यो । त्यतिबेला हाम्रो प्रस्ताव अत्यधिक बहुमतले पास गरेको थियो । हामीले लामो संघर्षबाट संविधानसभामार्फत संविधान जारी गराउन सफल पनि भयौं । हामीले यो कुरा २०१७ सालदेखि उठाउँदै आएका थियो । संविधानसभाबाट संविधान जारी हुँदा संघीयताको कुरा समावेश गरियो यो गलत मानेका पनि छौं । हामीले त संघीयता हुँदैन भनेका थियौं र अहिले पनि यो अडानमा प्रष्ट छौं । अहिले गणतन्त्र, धर्मनिरपेक्षताजस्ता कुराहरूमा हमला गर्ने प्रयत्न भइरहेको छ । त्यसैले अहिले पनि संविधान जोगाउनका लागि चनाखो भइरहनुपर्ने अवस्था छ ।

संविधान जोगाउने सुझाव के हो त ?
निश्चितरूपमा अहिले पनि केहो भने अहिलेको पाँचदलीय गठबन्धनबाट संविधानमाथि कुनै खतरा छैन । केपी ओली र राजवादीका कारण अहिले पनि संविधान खतरामा पर्छ । त्यसैले प्रतिगमन भनेको राजावादी र केपी ओली भएकाले उनीहरूलाई परास्त गर्दै अघि बढ्दा संविधान जोगिन्छ ।