देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फेरि हेग, मानवअधिकार र माओवादी !


धेरै भएको छैन, चोरको खुट्टा काट् भन्न पाएको छैन, सबै चोरले एकसाथ खुट्टा उचालेर आफू ज्यानमाराजस्ता गम्भीर अपराधी भएको परिचय किन दिएका होलान् भन्ने प्रश्न, अरूले होइन, सबैभन्दा पहिले हामीले नै उठाएका थियौं । नबिराउनु नडराउनु भन्ने नेपाली उखान बिर्सेर हतियारका बलमा हत्या, हिंसा र आतंक मच्चाएर १७ हजार नेपालीको ज्यान मार्नेहरू आफैं अहिले हेगले बाँकी राख्ने भएन भनेर आतंकित हुन पुगेका छन् । कथित् जनयुद्धका नाममा भएका बेहिसाब लुट खसोट र आतंकका मुख्य अभियुक्त सबै यत्तिखेर एक स्वरमा १२ बुँदे दिल्ली सम्झौता र शान्ति प्रक्रियाको दुहाइ दिएर थाकिरहेका छैनन् । हिजो प्रचण्डलाई मुख्य लुटेरा घोषित गर्दै उनलाई गद्दारको पगरी गुँथाएर आफूहरू चाहिँ निक्खर चोखा देखाउन मरेको लासलाई जुम्राले छाडेजस्तै उनलाई छाडेर लुटेका सम्पत्ति जोगाउनतिर लागेका जति क्रान्तिकारी छन्, ती सबै अहिले फेरि प्रचण्ड महलको सरणमा फर्केका छन्– यसपालि हेगको साँच्चैको आतंकबाट जोगिन । उनीहरू आ–आफ्ना ज्यान जोगाइमाग्न प्रचण्डको शरणमा सामूहिक रूपमा यसकारण ओत लाग्न पुगेका छन् कि उनीबाहेक अरू कसैले अब उनीहरूलाई सुरक्षा दिन सक्ने सम्भावना देख्न सकेका छैनन् ।

त्यसो त आफैं त महादेव के देलान् वर भन्ने अवस्थामा पुगेका प्रचण्ड स्वयं कसरी जोगिने उपाय पत्ता लगाउन नसकेर थर्कमान छन् । अरूलाई जोगाउने हैसियत उनले गुमाइसकेका छन् । उनको तेजोबध गरेर त्यो लेबलमा झार्न अहिले उनको गुहार लगाउन आउने सबै जिम्मेदार छन् । हामीले यसै स्तम्भमा लेखेका थियौं कि अन्तर्राष्ट्रिय अपराधीका मुद्दा हेर्ने अदालतले अहिले र उहिले दुवै स्थिति र अवस्थाका सत्ताका आडमा लुकेका अपराधीलाई एकएक गरेर नंग्याउँदै हेग अदालतको कठघरामा उभ्याउने निश्चित देखेपछि उनीहरू पानीबिनाको माछा उफ्रेजस्तै उफ्रिन थालेका छन् । उनीहरू प्रचण्डलाई बचाउन होइन, आफ्नो ज्यान जोगाउन उनलाई रक्षाकवचका रूपमा प्रयोग गर्न उनका वरिपरि टाँस्सिन पुगेका हुन् । तर जब रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीसमेत अदालतले एक पटक क्रिमिनल सावित गरिसकेपछि त्यस्ता आरोपबाट उम्किन अथवा बच्न सकेनन् भने नेपाली माओवादी छाउराहरूले त्यो अदालतको कारबाहीबाट बच्ने औकात् अर्जित गर्न सकुन् पनि कसरी ? उनीहरूको सबैभन्दा ठूलो त्रास नै त्यही हो ।

जस्तो कि यही स्तम्भमा हिजोका कुख्यात हत्यारा तथा जघन्य अपराधीहरू मौका पर्ने बित्तिकै प्रचण्डलाई पनि अनेक प्रकारका लाञ्छना लगाएर भगौडा बनेका र लुटको धन लगानी गरेर तीन पुस्ताको जोगाड गर्नतिर लागिसकेका पनि हेगले प्रसंग उठ्ने बित्तिकै फेरि माओवादी एकता गर्न प¥यो भनेर एकत्रित हुनेहरूको लिस्ट प्रकाशित गरिएको थियो । हिजोका हत्यारा, लुटेरा, अपहरणकारी तथा स्वदेशको भक्षण गरेर विदेशीको पोषण गर्नेहरूलाई सबैले याद गरुन्, कसैले पनि नबिर्सुन, त्यस कारण त्यसको पुनर्प्रकाशन आवश्यक मात्र होइन, अपरिहार्य बन्न पुगेको थियो । माउत्से तुङले एक ठाउँमा भनेका छन्– कुनै किसानले दाउरा चिर्न लाग्दा आँख्ला परेको मुडा चिर्न सकिएन भने त्यसलाई शत्रुको टाउको ठानेर भएभरको बल निकालेर प्रहार गनुपर्छ, अनि बल्ल त्यो चिर्न सकिन्छ । उनको त्यही कथनको प्रयोग, अहिले माओवादीका विरोधीले माओवादीमाथि गर्नु परेको छ । त्यसैले उनीहरूका जालेमाले नाम र नियतलाई उजागर गर्न मात्र होइन, जनताका नजरबाट उनीहरूका कुनियत एक क्षण पनि ओझेन नपरोस् भन्न त्यसलाई लगातार दोहो¥याइरहनु पर्छ । निरन्तर त्यो क्रम जारी राख्नुपर्छ ।

ती माओवादी, जो नेपालीका छोराछोरी मार्न र जनताको सम्पत्ति लुट्न एक भएर खनिएका थिए तर युद्धविराम हुनासाथ लुटको सम्पत्ति जोगाउन र आफूले कब्जा गरेका धनमाल आफ्नै साथीहरूसित पनि भागबन्डा गर्न तयार नहुने उनीहरूको कस्ता थिए, तिनको नाम र काम सबैका जेहनमा ताजा रहोस्, त्यसका निम्ति त्यसलाई फेरि दोहो¥याउनु परेको हो । पहिले फुटेका र अहिले जुट्न खोजेका माओवादीका विभिन्न मुखौटा हुन्– (१) प्रचण्डको माओवादी केन्द्र, (२) समाजवादी पार्टीका डा.बाबुराम भट्टराई, (३) क्रान्तिकारी माओवादीका सीपी गजुरेल, (४) नेपाल कम्युनिस्ट पार्टीका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, (५) नेकपा बहुमतका धर्मेन्द्र बाँस्तोला, (६) वैज्ञानिक कम्युनिस्ट पार्टीका विश्वभक्त दुलाल आहुति, (७) नेकपा माओवादी, समाजवादीका कर्णजित बुढाथोकी र (८) माओवादी कम्युनिस्ट पार्टीका नारायणप्रसाद धिमाल । ‘भगत जगतको ठगत है धरधरके बहु रूप’ भनेको यही हो । योबाहेक केही होइन । मानवअधिकारवादी तथा हेगको अन्तर्राट्रिय अदालत पनि सचेत रहोस्, त्यसका लागि पनि यो सूची, नथाकिकन उछालिरहनुपर्छ– बारम्बार, लगातार ।

नेपालीले हेक्का राख्नुपर्छ कि रूसका राष्ट्रपति पुटिनलाई युद्ध अपराधका आरोपमा पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय अदालत, राहुल गान्धीले अदालतको मानहानी गरेको आरोपमा उनको सांसद पद खारेज गर्ने भारतको अदालत र कोरोनाकालमा डिस्टेन्सिङ मेन्टेन गर्नुपर्ने बेला, प्रधानमन्त्री बोरिस जोन्सनले सरकारी निवासमा खुला भोजभतेर गरेको आरोपमा संसदीय समितिले उनलाई झिकाएर बयान लिएका घटनाले एक दिन समय आएपछि कसैलाई पनि कसैलाई बाँकी राख्ने छैनन् भन्ने सन्देश सम्प्रेषित गरेका छन् । त्यो कुरा बुझ्नु, घरतिर कुद्नु भन्ने नेपाली उखानको मर्म र महत्व बुझ्न धैर्य र संयमताको खाँचो पर्छ । नेपाली बुध्दु छन् र त बहादुर छन्, त्यसै भनिएको होइन नि ! हामी आफैंले आफ्नो परीक्षण गर्न थाल्यौं भने ती सबैको अर्थबोध गर्न पनि असहज हुने छैन ।