देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योग वाणिज्य महासंघमा अञ्जन बलिया

देशान्तर

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अहिले नयाँ नेतृत्व चयनका लागि चुनावी कार्यतालिकामा अघि बढिरहेको छ । चैत २८ र २९ गते हुने महासंघको साधारणसभामा वरिष्ठ उपाध्यक्षका लागि चुनाव हुनेछ । विधानअनुसार एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति नै अर्को कार्यकाल स्वतः अध्यक्ष हुन पाउने प्रावधान रहेको छ ।

सोही प्रावधानअनुसार अहिले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका शेखर गोल्छाले २८ गते वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई पद हस्तान्तरण गर्नेछन् । वरिष्ठ उपाध्यक्ष अर्को पटकको स्वतः अध्यक्ष हुने भएकाले अहिले चुनाव नै वरिष्ठ उपाध्यक्षका लागि केन्द्रित भएको छ । आउँदो कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म तीन जना उम्मेदवार देखिएका छन् । चैत २१ गते हुने उम्मेदवारी दर्ताका लागि वर्तमान कार्यसमितिमा वस्तुगत उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष रामचन्द्र संघाई र पूर्व वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षको निर्वाचन लड्ने घोषणा गरेर तयारी सुरु गरिसकेका छन् ।
अञ्जन श्रेष्ठले उपाध्यक्षहरूको टिम नै तयार गरेर अघि बढ्दा अन्य दुई उम्मेदवार संघाई र उमेशलालले टिम बनाउने अन्तिम चरणमा पुगेको बताइन्छ ।

वरिष्ठ उपाध्यक्षका रूपमा उम्मेदवार बन्न लागेका लक्ष्मी समूहका अध्यक्षसमेत रहेका अञ्जन श्रेष्ठले जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गीलाई अघि सारेका छन् भने वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई अघि सारेका छन् ।

टिम घोषणपछि अञ्जन अहिले आफ्नो प्यानललाई जिताउन चुनावी प्रचारप्रसारमा लागिसकेका छन् । आगामी तीन वर्षपछि महासंघको नेतृत्व लिने लक्ष्यसहित आफूले बलियो टिम बनाएको दाबी उनले गर्दै आएका छन् । उनी महासंघमा आबद्ध भएको भने २० वर्षको पूरा भइसकेको छ भने १५ वर्ष कार्यसमिति र एक कार्यकाल पदाधिकारी भएका व्यक्ति हुन् । अञ्जनसँग महासंघमा रहने विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेको अनुभवसमेत रहेको छ ।

अञ्जनले आफू नेतृत्वमा पुगेमा जिल्लाका उद्योगी व्यवसायीहरूबीच सहयोगी र सेतुको रूपमा काम गर्ने देशान्तरलाई बताए । उनले भने ‘मैले वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्नेछु ।’ उद्योग वाणिज्य महासंघको चुनावमा झन्डै २१ सय मतदाता रहेका छन् । तीन तहको मतभार हुने चुनावमा सबैभन्दा धेरै मतदाता एसोसिएटतर्फ झन्डै १८ सय जना रहेका छन् । उनीहरूको मतभार २० रहेको छ भने वस्तुगततर्फ १ सय २३ मत रहेको छ । जसको मतभार ३० रहेको छ भने जिल्ला नगरतर्फको मतभार सर्वाधिक ५० रहेको छ । त्यहाँ १ सय १८ मत रहेको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन यसअघि वस्तुगततर्फको उपाध्यक्ष भएकाले उनको त्यहाँ पकड रहेको छ भने सबैसँग मिलनसार स्वभावका कारण पनि उनलाई चुनाव जित्न सहज हुने उद्योग वाणिज्य महासंघ स्रोतले देशान्तरलाई बताए । वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अब अध्यक्ष बन्ने भएकाले उनी अहिलेसम्म खुलेर कसैको पक्षमा मत माग्ने काम नगरे पनि उनको साथ अञ्जनलाई नै हुने बुझिएको छ ।