देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले र राप्रपाको अजेन्डा मिलेको हो ? 

देशान्तर

काठमाडौं । तत्कालीन सात राजनीतिक दल राजा ज्ञानेन्द्र शाहको निरंकुशताका विरुद्ध सडक आन्दोलनमार्फत गणतन्त्रको नारा घन्काइरहँदा एमालेका तत्कालीन नेता वर्तमान अध्यक्ष केपी शर्मा ओली बयलगाढा चढेर अमेरिका नपुगिने भन्दै आन्दोलनको खिसी गर्दै थिए । त्यही आन्दोलनबाट प्राप्त उपलब्धि र अझ संविधानसभाबाट नयाँ संविधान जारी भएपछि तिनै ओलीले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको तीन पटक शपथ लिए र मुलुक सञ्चालन गरे । तर, आज पनि तिनै ओली संघीय लोकतान्त्रिक गणतन्त्रको समृद्धि र विकासभन्दा त्यसको समाप्ति र विनाशतिर उद्धत भएको कुरा विगतमा दुई पटक प्रतिनिधिसभा विघटनको असफल प्रयासले पुष्टि गरिसकेको छ ।

त्यतिमात्र होइन राजतन्त्रको स्थापनाको पक्षमा रहेका दक्षिणपन्थीहरूसँगको ओलीको निरन्तर सहकार्यले थप आशंका जन्माएका बेला पुस १० गते आफ्नै समर्थनमा गठन भएको पुष्पकमल दाहाल नेतृत्व सरकारबाट अलग हुने विषयमा पनि पूर्वपञ्चहरूको पार्टी राप्रपाको निर्णय कुर्ने अवस्थामा एमाले पुगेका छ । कांग्रेससहितका दलहरूसँग गठबन्धन गरेर अघि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले निर्णय गरेको भोलिपल्ट राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अलग हुने निर्णय गर्‍यो । तर, एमालेले सोही निर्णय लिन दुई दिन लागेको छ । बागमती सरकारबाट राप्रपा तुरुन्त फिर्ता भए पनि एमाले शुक्रबार मात्र अलग भएको छ । यसले दक्षिणपन्थी धारको नेतृत्व गर्दै आएको राप्रपा निर्णयबाट एमाले प्रभावित हुन थालेको देखिएको छ । एमालेकै नेता दुर्गा प्रसाईं पूर्व राजालाई अघि सार्दै अभियान सुरु गरेका छन् भने राप्रपाका चार नेताले ज्ञानेन्द्रलाई भेटी राजसंस्था फिर्ता ल्याउन छलफल थालेका छन् । र, तत्कालीन सात दलले पूर्वसहमति तोडेर गणतन्त्रमा गएको विषयलाई बाहिर ल्याएका छन् ।

 झापाको दमकमा ज्ञानेन्द्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा ‘लन्च मिटिङ’ गरेका छन् । ओलीको लिङ्देनसँग निकट सम्बन्ध छ । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा रहेका ओली पनि कतै ज्ञानेन्द्रकै पथमा जाने त होइन भन्ने आम आशंका र विश्लेषण गर्न थालिएको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा अझ बुलन्द बनाउने तयारी गरेका छन् । संसद्मा पनि एमाले र राप्रपा एकातिर छन् भने अन्य दल अर्को समूहमा विभाजित भएका छन् । दाहाल प्रधानमन्त्रीमा विश्वासको मत लिँदा राप्रपा र एमाले मात्र विपक्षमा देखिएका छन् । यी दुई दलको राजतन्त्र संस्थापनामा पनि कुरा मिलेको हो र ? आम मान्छे प्रश्न र आशका गर्न थालेका छन् ।