देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

व्यवसायीलाई चुनाव लाग्यो

देशान्तर

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै जादा पदका आकांक्षीहरू अहिले आफ्नो समूह निर्माणमा व्यस्त हुन थालेका छन् । उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका लागि बढी प्रतिस्पर्धा हुन्छ । वरिष्ठ उपाध्यक्ष नै ३ वर्षपछि स्वतः अध्यक्ष बन्ने भएकाले आगामी २८ गते हुने चुनावका लागि उद्योगी व्यवसायीहरू अहिले नेतृत्व लिनका लागि तँछाडमछाड गरेका छन् । चैत २८ गते वर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल पूरा भएर चन्द्र ढकाल अध्यक्ष हुनेछन् भने यस पटकको चुनावमा निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले तीन वर्षपछि चन्द्र ढकालको स्थान लिनेछ ।

महासंघमा भवानी राणा वरिष्ठ उपाध्यक्ष भएका बेला विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यसमितिको स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको हो । त्यसपछि महासंघको अधिवेशनमा यो पद सबैभन्दा आकर्षक मानिएको छ । वरिष्ठ उपाध्यक्षको उम्मेदवारको आकांक्षी व्यक्तिगत र सामूहिक छलफलमा व्यस्त छन् । उनीहरू प्यानल बनाउने तयारीमा छन् ।

अहिलेसम्म महासंघको आगामी नेतृत्वका लागि ४ जनाले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । अहिले वस्तुगततर्फको उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ, उद्योगतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ, एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाई र अघिल्लो कार्यकालका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन् ।

पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ केही दिनमा उम्मेदवारी घोषणा गर्ने बताउँदै अब हुन लागेका अध्यक्ष चन्द्र ढकाललाई सघाउने मुख्य उद्देश्य रहेको उल्लेख गरेका छन् । वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी रामचन्द्र संघाईले पनि आफू उम्मेदवारी घोषणाको तयारीमा रहेको जानकारी दिँदै आफू वरिष्ठ उपाध्यक्षको निर्विकल्प उम्मेदवार रहेको दाबी गर्छन् । संघाईले प्यानल नै घोषणा गर्ने तयारी गरेको बताए ।

उपाध्यक्ष अञ्जन श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन् । अन्य उम्मेदवारको तुलनमा उनी अझ बढी जित्ने कुरामा ढुक्क रहेको निजी क्षेत्रवृत्तमा चर्चा पनि चलेको छ । उनले आफूलाई पूर्वअध्यक्षहरू, अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने चन्द्र ढकालको समर्थन र जिल्ला तथा नगरको मतसमेत आफूलाई आउने आशा पनि गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका दिनेश श्रेष्ठ सकेसम्म निर्विरोध वरिष्ठ उपाध्यक्ष छान्ने पक्षमा छन् । प्रतिस्पर्धा हुने अवस्थामा निर्वाचनमा गए पनि अन्तिममा आफूलाई सद्भाव राख्नेलाई सघाउने उनको योजना रहेको बताइएको छ । २८ चैतदेखि महासंघको अध्यक्ष बन्ने चन्द्र ढकाल आफू अनुकूल टिमका लागि गृहकार्यमा लागेको बताइए पनि उनले औपचारिक रूपमा चार जना मध्ये कसलाई वरिष्ठ उपाध्यक्ष बनाउने भनेर मुख खोलेका छैनन् । महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका आफू कुनै पनि उम्मेदवारको पक्षमा नलाग्ने बताउँदै आए पनि अन्तिममा कसलाई संकेत गर्छन् भावी नेतृत्वमा उसको पल्ला भारी हुने अनुमान पनि गर्न सकिन्छ ।

महासंघको निर्वाचनमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको मतभार सबैभन्दा धेरै अर्थात् ५० प्रतिशत छ । महासंघमा वरिष्ठ उपाध्यक्ष जित्न ५१ प्रतिशत मतभार आवश्यक हुन्छ ।