देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

परशुराम सराबगी

देशान्तर

त्यसो त म अर्कै कार्यक्रममा वीरगन्ज जाँदै थिएँ । त्यस कार्यक्रम वा समारोहबारे पछि वीरगन्जका एक राम्रा लेखक गणेशप्रसाद लाठले सोधे– ‘निम्तो दिन तपाईंका साथीभाइको नाउँ दिनुस् । त्यसबखत मेरो मुखबाट पहिलो नाउँ निस्केको थियो– परशुराम सरावगी । आज उनैलाई सम्झिन चाहन्छु । त्यसको कारण पनि छ । त्यो पछि ।

परशुराम सरावगी मेरा सहपाठी हुन् । उनी एक मिलनसार व्यक्ति थिए । क्लासभरिमै एक । यद्यपि हाम्रा फस्र्ट ब्याई थिए परमेश्वरलाल चाचान । परशुराम फस्र्ट नभए पनि एक तेज विद्यार्थी थिए । प्रायः जेट विद्यार्थीको एक लक्षण हुन्थ्यो, अप्सनल म्याथ लिनु । परशुरामले पनि अप्सनल म्याथ लिएका थिए । म आफू त पढ्नमा त्यस्तै थिएँ । परमेश्वरबाहेक क्लासका तेज छात्रको कापीबाट ‘होमवर्क’ सारेर बुझाउँदा परशुराम सराबगीको कापीबाट पनि प्रायः कम्पलसरी म्याथका सवाल र हलमा म सार्ने गर्थेँ । उनी खुसी भएरै मलाई सघाउँथे ।
स्कुलका सहपाठीमा मैले सबैभन्दा बढी सम्झिने सहपाठीमध्ये एक हुन्, परशुराम सराबगी । त्यतिमात्र होइन, परशुराम सराबगीको मिलनसारिता र जाँगरबाट म प्रभावित थिएँ ।

अहिले त सरस्वतीको स्थायी मूर्तिको निर्माण गरिएको छ, त्रिजुद्ध स्कुलको प्रांगणमा हामी पढ्दा त्यस्तो मन्दिर थिएन । तर सरस्वती पूजा भने हरसाल भव्य हुन्थ्यो । हाम्रो मूर्ति दरभंगाबाट ल्याइन्थ्यो । दुई वा तीन चल्तापुर्जा साथीहरू दरभंगा गएर सरस्वतीको प्रतिमा र माइक लाउड स्पिकर लिएर आउँथेँ ।

लाउड स्पिकरका साथै फिल्मका एवं एमभीका कैयौं हिन्द फिल्मका रेकर्डहरू पनि ल्याइन्थे । सरस्वती पूजाका दिन, दिनभरि नै लाउड स्पिकरमा ती गीतहरू बजिरहन्थे, एकपछि अर्काे । म त्यसमा नाच्ने त होइन, उत्साहले चउरभरि उफ्रँदै हिँड्थें ।
यत्रो बयान म त्यसकारण गर्दैछु कि ती मूर्ति आदि लिन दरभंगा जानेहरूमा प्रायः एकजना हुन्थें परशुराम सराबगी ।

एक पटक स्कुलमा कुनै घटना हुँदा, भोलिपल्ट क्लासमा जिजर समयमा परशुरामले ‘ज्यामितिक’ बयान गर्न, त्यसमा सारा क्लासको मनोरञ्जन भएको थियो । सबै हाँसिरहेका थिए, परशुरामको प्रस्तुति नै त्यस्तै थियो । गम्भीरजस्तो तर हास्य पूर्ण ।
एकदिन एक शिक्षकले भने– ‘सराबगी नहीँ सारोगी होगा ।’ परशुले भने– ‘नही सर, सराबगी ही है ।’ स्पष्ट छ, परशुराम सही थिए ।

९ कक्षामा पढ्दा हाम्रा क्लासका साथीहरू एकपटक पिकनिक गएका थिएँ । म पनि थिएँ वीरगन्जको सुन्दरमल रामकुमार कोही अलि परको हजारी मलको फूलबारीमा । निकै रमाइलो भएको थियो । म अझै सम्झन्छु । खानेकुरो शाकाहारी मात्र होइन, अलग्ग स्वादको पनि । त्यसमा क्लासका केटीहरू गएका थिएनन् । कि नलगेको हो थाहा भएन । तिनताका भाइभाइ नामक एक सिनेमाको गीत, मेरा नाम अब्दुल रहमान, पिस्तावाला मै हुँ पठान खाने वालेका दिल हो भाइ बुलबुल, वाहरे वाह रे वाहरे वाह, वाह ।’ अत्यन्त लोकप्रिय थियो । सम्भवतः त्यसमा एउटै ठट्यौलीपन पनि मिसिएको भएर हो । त्यो गीत हामीले त्यस पिकनिकमा निकै गायौं । नगाउनेले पनि गाए, जस्तो यिनै परशुराम सराबगी ।

त्यो पिकनिकको पाकेका ताजा आँप निचोरेर बाल्टिनभरि बनाएको ‘अमरस’ मैले खुब खाएँ । त्यस्तो शुद्ध अमरस मैले फेरि खाइनँ कहिल्यै । त्यो रस सम्झेको पनि यसकारण कि त्यो बनाउँदा प्रमुख भूमिका परशुराम सराबगीकै थियो ।
उनको फेन्सी स्टोर्स थियो । ‘दीनानाथ, परशुराम’ लेखेको थियो बोर्डमा परशुका पितालाई पनि मैले देखेको छु । उनी पनि पसलमा देख्थेँ । बीचमा पनि एक दाइ थिए, जसलाई मैले देखेको त थिएँ, तर तिनको नाउँ अहिले सम्झिन्न । कान्छा यिनै परशुराम थिए ।
यी सब किन सम्झे भने मेरो पिताजीको त्यहाँ उधारो चल्थ्यो र चीजबीज त्यहीँबाट किन्नु हुन्थ्यो ।

केही वर्षअघि म एक साथीसँग परशुरामलाई भेट्न गएको थिएँ । वर्षाैंपछि भेटेकोले आत्मीयता अनुभव भयो । स्कुलमा सब एकअर्कालाई तुम नै भन्थे । अब त्यो वर्षाैंको अन्तरालमा भेट्दा तपाईंमा पुगेको थियो । सम्भवतः वर्षाैंको अन्तरालले अलिकति औपचारिकता ल्याइदिएको हुँदो हो । त्यस दिन परशुले आफ्नो गाडीमा घरसम्म पु¥याइदिएका थिए । उनका नातिसमेत भइसकेका थिए । उनको शरीरको बनोट त उस्तै थियो । तर उमेरले केही चिन्हहरू छाडेको थियो ।
अर्काे पटक वीरगन्ज जाँदा हामी केही व्यक्तिहरू कतै गइरहेका थियौं एउटा केटो दगुर्दै आयो । परशुको नाति रहेछ, भन्यो– ‘हजुरबुवाले भेट्न बोलाउँदै हुनुहुन्छ ।’
तर त्यस बखत झमक्कै साँझ परिसकेको थियो, मसँग अरू पनि थिए, त्यसकारण भनेँ– भनिदेऊ, भोलि आउँछु ।’

भोलिपल्ट जान सकिन काठमाडौं फर्कें । सोचेँ वीरगन्ज आइरहन्छु, अर्काे पटक भेटुला ।’ काठमाडौंमा एकदिन एउटा फोन आयो । फोन गर्ने रहेछन्, उही परशुराम सराबगी । उनीसँग त्यतिखेर कुरा गर्दा निकै भावुक भएर कुरा गरे । उनी पनि भावुक थिए । कताकताबाट मेरो नम्बर खोजेर ट्रंकल गरेका थिए । त्यसरी फोन गर्ने मेरो सहपाठीमा उनीमात्र हुन् । मैले त्यो फोनमा भने– ‘परशुजी अब वीरगन्ज आउँदा म पक्कै भेट्छु । हामी धेरै पुराना कुरा गरौंला ।’
त्यसकारण गणेश लाठले निम्तो गर्ने साथीहरूको नाउँ सोध्दा, मैले पहिलो नाउँ उच्चारण गरेको थिएँ– ‘परशुराम सराबगी ।’

तर गणेश लाठले भन्नुभयो– ‘उहाँ त एक दुई महिना भयो बितिसक्नुभयो ।’

एक्कासी सुनेर कति रेक्टरको धक्का लाग्यो म भन्न सक्दिनँ तर लाग्यो अवश्य । वीरगन्जमा उनको उही नाति भेट भयो, बडो भावुक भएँ । नातिले ‘स्मृति ग्रन्थ, निकाल्ने भनेर मलाई एउटा पत्र थिए । म मेरो समयको एवं जिन्दादिल’ र आत्मीय साथीको अभाव भएको वीरगन्जमा यस पटक गएँ । मैले भोलि भेट्छु भनेको ‘भोलि’ आएन र अब कहिल्यै आउँदैन । मलाई त्यो नआउने भोलिको मलाई सधैं अफसोच छ ।

परशुराम सराबगीजी तपाईं त जानुभयो, तर तपाईं स्मृति जाँदैन । म आफ्नो स्कुल जीवनमा तपाईंको आत्मीयता, जीवन्तताबाट साँच्चिकै प्रभावित रहेको छु । तपाईंको परिवारको यिनै नातिलाई चिन्दछु, तै पनि सारा परिवारलाई मेरो संवेदना छ ।
तपाईं गए पनि तपाईंसँग बिताएको स्कुल जीवन सधैं सम्झन्छु । तिनै तमाम स्मृतिका साथ, म मेरो आत्मीय साथीलाई श्रद्धाञ्जली ।