देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले ल्याएको बेपत्ता छानबिन तथा सत्य निरूपण विधेयकको राप्रपाले प्रतिवाद गर्ने

फौजदारी कसुरमा माफी दिन नमिल्ने तर्क

देशान्तर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले ल्याएको बेपत्ता छानबिन तथा सत्य निरूपणसम्बन्धि विधेयकको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको राप्रपाको संसदीय दलको बैठकले सरकारले भोलि प्रतिनिधिसभामा पेस गर्न लागेको विधेयकको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

सरकारले ल्याउन लागेको विधेयक द्वन्द्वमा परेका नागरिकको न्यायका लागि नभएर दोषीहरूलाई उन्मुक्ति दिनका लागि ल्याइन लागेको भन्दै राप्रपाले फौजदारी कसुरमा माफी दिन नमिल्ने बताएको छ ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ल्याउन लागेको विधेयकमा मानव अधिकारको विषयमा कारबाही गर्नुभन्दा उन्मुक्ति दिनु, हत्या गर्नेलाई उन्मुक्ति दिनु, बाँदरमुडेजस्ता ठूला घटनामा मान्छे मार्नेलाई उन्मुक्ति दिने विषय उल्लेख रहेको भन्दै जस्तासुकै अपराध गरे पनि छुट दिने कुरा आफूहरुलाई स्वीकार्य नरहेको बताए ।राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने विषयमा अर्को बैठक बसेर निर्णय लिने पनि उनले जानकारी दिए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा उपाध्यक्ष बुद्धिमान तामाङ चयन हुनु भएको छ ।आज बसेको पार्टी संसदीय दलको बैठकले तामाङलाई संसदीय दलको उपनेता चयन गरेको हो । प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए । आज बसेको बैठकले संसदीय दलको विधान पनि पास गरेको नेता तामाङले जानकारी दिए।