देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफ्नो अभिव्यक्ति सच्याउन सभामुखलाई पत्रकार महासंघको आग्रह

देशान्तर

काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ ।

संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो । त्यसक्रममा घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ ।

सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत भएको भन्दै महासंघका महासचिव रोसन पुरीले सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् तुल्याएको विज्ञप्तिमार्फत भनेका छन् ।

‘महासंघ जन निर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिवद्ध भएको व्यवहारमा देख्न चाहन्छ । साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्धता जनाउन सभामुख समक्ष आग्रह गर्दछ’ महासचिव पुरीले विज्ञप्तिमा भनेका छन् ।

शुक्रबार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको र पित पत्रकारिता भइरहेको अभिव्यक्ति दिएका थिए ।

नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेको बेला जिम्मेवार व्यक्तिले समग्र प्रेस जगतलाई लान्छित गर्ने अभिव्यक्ति दिँदा यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्ने महासंघको भनाइ छ ।

सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेपनि सचिवालयबाट सामान्य प्रष्टीकरणबाहेक सभामुखको आधिकारिक धारणा आउन नसकेको महासंघले जनाएको छ ।

सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा कानूनीलगायतका अन्य दबावमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।