देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश नामकरणको विरोधमा विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

देशान्तर

काठमाण्डौ । कोशी प्रदेश नामकरणको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि कोशी प्रदेशको राजधानी विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना निकालेर भोलि बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

गएको फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो । त्यसपछि कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।

विशेषगरी प्रदेश १ को नाम किराँत हुनुपर्ने माग गर्दै आएकाहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । प्रदर्शन भइरहँदा शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले सूचनामा उल्लेख गर्नुभएको छ ।

सूचनामा चैत ५ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रमा सर्वसाधारण तथा गाडी आवत जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न निषेध गरिएको उल्लेख छ ।