देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकान्त्रिक संस्थाहरु बलिया बनाएर अघि बढ्नुपर्छ : राष्ट्रपति पौडेल

देशान्तर

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय र प्रदेशसभा सांसदहरुलाई धन्यवाद दिएका छन् । फागुन २५ गते नेपालको संविधानको धारा ६२ अनुसार नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएका पौडेलले सरकारी निवास शीतल निवासमा आज विहान संघीय र प्रदेशसभा सांसदहरुलाई चियापान गराउँदै धन्यवाद दिएका हुन् ।

संविधान अनुसार स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व र कर्तब्य रहेको पनि बताएका छन् । उनले भने ‘गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु । राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु ।’

राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव आफू सधै तत्पर रहने पनि राष्ट्रपति पौडेलले बताएका छन् ।

राष्ट्रपति पौडेलले पछिल्लो समय लोकतान्त्रिक संस्थाहरुप्रति ब्यापक निराशा बढेको तर्फ संकेत गर्दै निराशालाई आशामा रुपान्तरण गर्नका लागि सवैलाई आग्रह पनि गरेका छन् । ‘निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अंगिकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा तपाईं हामी सबै सचेत हुनुपर्छ । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरु बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ हामी सजग रहन जरुरी छ भन्नेमा म दृढ छु ।’ उनले भनेका छन् ।

No description available.

कोभिड माहामारीपछि विश्वव्यापी रुपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको र संक्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखापर्न थालेका असरहररुको न्यूनिकरण तथा राजनैतिक उपलब्धिहरुको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता पनि औंल्याएका छन् । राष्ट्रपति पौडेलले भने ‘प्राप्त राजनैतिक उपलब्धिलाई सदुपयोग गर्दै तिव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ हामी सबै गम्भिर हुन आवश्यक छ । अबको हाम्रो बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ संघीय सरकार तथा संघीय संसदका माननीयज्यूहरु र प्रदेश सरकार तथा प्रदेशसभाका माननीयज्यूहरुको सकारात्मक भूमिकाको अपेक्षा गरेको छु । संघ, प्रदेश र स्थानीय तहका साथै नीजि क्षेत्रको समेत सहकार्यमा उच्चतम प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको ईच्छा र आकांक्षा सम्बोधन गर्नुपर्नेतर्फ सबैको ध्यान जाने विश्वास समेत लिएको छु ।’ उनले सम्बोधनका क्रममा भने ।
मेलमिलाप र राष्ट्रिय एकताकै माध्यमबाट हामीले कठिन समयमा पनि समस्याको सहज समाधान निकाल्न सकेको इतिहास मनन् गर्दै सवै एकतावद्ध हुन जरुरीरहेको उल्लेख पनि गरे ।