देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘पिछडिएको क्षेत्रका महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ’

देशान्तर

काठमाडौं– प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले पिछडिएका क्षेत्रका महिलाका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् ।बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले पिछडिएका क्षेत्रका महिलालाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउन उनीहरूलाई सशक्तिकरण गर्न आवश्यक रहेको बताइन् ।

उनले त्यसका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने तर्क गरिन् । उपसभामुख रानाले पिछडिएको क्षेत्र र भूगोलबाट राजनीतिमा महिलाको प्रतिनिधित्व गराउन बढी जोड दिन आवश्यक रहेको पनि स्पष्ट पारिन् ।

स्थानीय तहको वडामा पनि महिलाको प्रतिनिधित्वका लागि पहल गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

उनले सुगम क्षेत्रका गर्भवती महिलाले समेत एम्बुलेन्स पाउने अवस्था नरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक व्यवस्था तत्काल मिलाउनुपर्ने बताइन् । उनले भनिन्, ‘यसरी हरेक भूगोलको क्षेत्रबाट पनि आउनुप¥यो, जहाँ पिछडिएको क्षेत्रबाट पनि महिलाको प्रतिनिधित्व हुुनुपर्‍यो। सीमान्तकृत वर्गबाट आएको देखिँदैन। त्यहाँबाट पनि आउनुपर्‍यो।’

बैठकमा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलालाई प्रत्यक्षतर्फ नै प्रतिनिधिसभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउन वातावरण बनाउनुपर्ने बताइन् । ५० प्रतिशतभन्दा बढी महिला रहेको मुलुकमा उनीहरूको प्रतिनिधित्व पनि सोहीअनुसार स्थानीय तहदेखि संघसम्म हुनुपर्ने उनको तर्क थियो । उपाध्यक्ष अर्यालले त्यसका लागि आफूले सक्दो पहल गर्ने पनि बताइन् ।

उपाध्यक्ष अर्यालले स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिको क्षमता विकासमा पनि विशेष जोड दिनुपर्ने अवस्था रहेको स्पष्ट पारिन् । उनले महिला जनप्रतिनिधिको काममा अवरोध नपुर्‍याउन पनि सचेत गराइन् ।