देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम सरकार पाँच वर्ष सम्मै चल्छ: मुख्यमन्त्री

'हामीले विश्वासको मत पाउँछौँ, मध्यावधि निर्वाचन हुँदैन'

देशान्तर

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने बताए ।

‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’, उनले भने, सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन  ।’

यस्तै उनले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गरे । ‘निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन् । फेरि चुनावमा गए जनताले लखेट्छन्’, उनले भने ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए ।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको  मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् । उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ। त्यसैका लागि मुख्यमन्त्री शाहले दौडधुप बढाएका छन् ।