देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेविरुद्ध अर्को मोर्चा बनाउँदै प्रचण्ड

देशान्तर

काठमाडौं । एमालेसँग मिलेर मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्य कम्युनिस्ट पार्टीहरूसँग सके पार्टी एकता गर्ने र नभए पनि मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग एकताको लागि वार्ता समिति बनाएर माओवादीले एमालेविरुद्ध अन्य कम्युनिस्टसँग एकता वा कार्यगत सहकार्य गरेर मोर्चा कस्ने प्रयास गरेका छन् । त्यसले एमालेलाई साइज राख्न सकिने र नेपाली कांग्रेससँग पनि बार्गेनिङ पाबर बढाउन सकिने बुझाइमा तीनै दलका नेताहरू पुगेका छन् ।

पूर्वसहमतिअनुसार साढे दुई वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न पनि नपर्ने उनीहरूको आन्तरिक रणनीति रहेको निकटहरूको दाबी छ । कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठन हुने अवस्था नरहेको र तीन दलबीच एकता वा मोर्चाबन्दीपछि उनीहरूको सहभागिता बिना अर्को सरकार गठन सम्भव नहुने भएकाले आफूहरू निर्णायक शक्ति हुने निकटहरूको बुझाइ छ । सरकारको नेतृत्व दाहालले गर्ने र पार्टी एकता गर्ने अवस्थामा वा एमालेबाहेकका कम्युनिस्ट पार्टीलाई मिलाएर अघि बढ्दा बन्ने समाजवादी केन्द्रको संयोजक माधव नेपाललाई बनाएर संगठन विस्तार गर्न सकिने पनि निकटहरूको दाबी छ । त्यसले एमालेलाई कमजोर बनाउन सकिने र अर्को कम्युनिस्ट शक्तिका रूपमा आफूहरूलाई स्थापित गर्न सकिने निष्कर्षसहित तीन पार्टीले आआफ्नो प्रतिवेदन र दस्तावेजहरू साटासाट गरिसकेका छन् ।

उपेन्द्र यादव नेतृत्वको पार्टीलाई महाधिवेशन टार्नका लागि पनि एकता वा मोर्चाबन्दीको पक्षमा छन् । १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना नगरेका यादवले जबजब महाधिवेशनको कुरा उठ्छ पार्टी एकीकरण गर्छन् र नाम फेर्ने गरेको आरोप छ । तर, यादव निकट नेता भने महाधिवेशन धकेल्न नभई संसद्मा चौथो ठूलो दल बन्न नेकपा एससँग एकता गर्न खोजिएको बताउँछन् भने माओवादी केन्द्रसमेत मिल्दा तेस्रो शक्तिशाली दल बन्ने भएकाले एकताको विषय उठेको बताए । प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, जसपाका १२ र नेकपा एसका १० सांसद छन् । तीन दलबीच मोर्चा वा एकता हुँदा ५४ सांसद रहेको दल बन्नेछ । त्यसका लागि तीनै दलबाट गठन भएको वार्ता समितिले एकता र सहकार्यका लागि काम गरिरहेको निकटहरू बताउँछन् । ‘हामी एमालेबाहेकका कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको पक्षमा छौं,’ ती नेताले भने, ‘त्यसले कांग्रेससहितका दलहरूसँग पनि सत्ता साझेदारीको संवाद गर्न र जनता माझ पनि भरोसायोग्य पार्टी बनाउनेछ ।