देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीवन यत्तिकै सकिँदैन (फोटोफिचर)

देशान्तर

काठमाडौं – खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण गर्‍यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ ।

आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौ । शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उनीहरूको संवेदनामा नै सिमित छौँ। तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन् । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन् ।

कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए। तर, शारीरिक अशक्तताले उनीहरूको सपनामा अङ्कुश लगाउन सकेन । न, उनीहरूले आफ्नो कमजोरीलाई जीवनमा हावी हुन दिएर बिलौनामा समय व्यतित गरे। बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे र, सबैका निमित्त उदाहरण बने ।

विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र ब्रह्माण्ड विज्ञान सम्बन्धी विभिन्न सिद्धान्तहरू प्रतिपादन गरे । त्यस्तै, हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औं अमेरिकी राष्ट्रपति हुन्। उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन् ।

त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्य डान्सर बन्न सफल भइन् । त्यसो त नेपलमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ । यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश÷विदेशमा बलियो रुपमा आफूलाई उभ्याएका छन् ।

नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरू धेरै छन् । जोरपाटीस्थित बिआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपांगता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपांग संघ परिसरमा दृष्टिविहीन र अपांगता भएका पुरुष ।

गौशालामा व्यापार गर्दै आएकी अपांगता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ । उनीहरू आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् ।

थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिबिहीन परमेश्वरीदेवी मुखियाको घरमा  काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिविहीन नै छन् । आवाजको सहारामा मोबाइल चलाउने, अपांगता भएकाहरू, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरू, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरू, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरू, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरू व्यस्त छन् ।

न्युज एजेन्सी नेपालले शारीरिक अशक्तता भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरूको कथालाई आजको फोटो फिचरमा समेटेको छ।