देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उडान सुरक्षित बनाऊ 


नेपालमा बर्सेनि हवाई दुर्घटना नियति जस्तै बनेको छ । त्यसैले युरोपियन हवाई नियामक संस्थाले नेपालको हवाई सेवालाई प्रतिबन्ध लगाएको छ । नेपालको हवाई इतिहासमा धेरै दुर्घटना भएका छन् । हुन त यसलाई नेपालको हवाई उडान नियामक संस्था नागरिक उड्डयन प्राधिकरणले भौगोलिक जटिलता र छिटोछिटो बदलिने मौसमी प्रतिकूलतालाई कारण बनाए पनि नेपालको भन्दा सयौं गुणा बढी मौसमी प्रतिकूलता हुने मुलुकहरू अमेरिका, अस्ट्रेलियालगायतका मुलुकको हवाई सुरक्षालाई दृष्टिगत गर्ने हो भने यहाँको दुर्घटनाको कारण पुराना जहाज, नियमित प्राविधिक परीक्षण र मानवीय हेलचेक्र्याइँ नै अहिलेसम्मका दुर्घटनाका कारकको रूपमा लिइएको छ । त्यसैले मानवीय सुरक्षा र अन्तर्राष्ट्रिय प्रतिष्ठा अनुकूल बनाउने हो भने यी तीन विषयलाई गम्भीर रूपमा लिई नेपालको आकाशलाई सुरक्षित बनाउनु नै पर्नेछ ।

गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भयो । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभन्दा केही सेकेन्डमात्रै अघि भएको अप्रत्याशित दुर्घटनाले चालक दलका सदस्यसहित विमानमा रहेका सबै यात्रुको निधनमात्रै भएन, विमानस्थलबारे नै अहिले प्रश्न उठेको छ । नयाँ विमानस्थल उद्घाटन भएपछि पुरानो विमानस्थल चलनचल्तीमा छैन । नयाँ विमानस्थल क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल हो । चीन सरकारको ऋण सहयोगमा चिनियाँ प्राविधिकहरू सम्मिलित टोलीले निर्माण गरेको आधुनिक र सुन्दर विमानस्थलका बारेमा एक महिनामै प्रश्न उठेको छ, जुन नेपाल र नेपालको हवाई उड्डयनकै क्षेत्रका लागि राम्रो होइन ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान केही सेकेन्डभित्रै अवतरण हुनुपर्ने थियो ।

विमानले अवतरणका लागि विमानस्थलबाट अनुमति पनि लिइसकेको थियो । रुट ३० बाट अवतरणका लागि अनुमति लिएको विमानले केही समयमै रुट १२ माग्यो । मागेको रुटमा पुग्न नपाउँदै विमान दुर्घटनामा प¥यो । पोखराका लागि अनुभवी पाइलट कमल केसीको उडानमा रहेको विमानमा को पाइलट अञ्जु खतिवडा थिइन् । सोही अवतरणपछि उनको अन्तिम परीक्षण उडान सकिँदै थियो । त्यसैका लागि पनि कमल केसीले अवतरणका लागि अर्को रुट मागेको बताइएको छ । एउटा रुट लिइसकेपछि अर्को रुटका लागि तयार हुँदै गर्दा विमान सेती नदीको खोंचमा खस्यो ।
नेपालमा भएको हवाई दुर्घटना यो पहिलो भने होइन । नेपालमा हवाई उडान सेवा सुरु भएको साढे ६ दशक लामो अवधिमा आन्तरिक उडानतर्फ भएको यो ५८औं दुर्घटना हो । आन्तरिक उडानतर्फका विमान दुर्घटनामा मात्रै यसबीचमा चार सयभन्दा बढी यात्रुको मृत्यु भइसकेको छ । नेपालमै भएका अन्तर्राष्ट्रिय विमान दुर्घटना र हेलिकोप्टर दुर्घटनाको फेहरिस्त त बेग्लै छ ।

सडक यात्राको तुलनामा हवाई यात्रा संसारमै सबैभन्दा बढी सुरक्षित मानिन्छ । तर, नेपालमा भने बर्सेनि जस्तो दुर्घटना भइरहेका छन् । कुनै वर्षमा त दुई तीनवटासम्म दुर्घटना भएका छन् । नेपालमा हवाई उडानको सुरक्षा मापदण्ड नअपनाएको वा त्यसका लागि आवश्यक व्यवस्था नगरिएको यी दुर्घटनाले देखाउँछन् । हरेक दुर्घटनापछि छानबिनका लागि जाँचबुझ आयोग गठन हुन्छन् । ती आयोगले प्रतिवेदनपछि बुझाउँछन् । अधिकांश आयोगको प्रतिवेदन नै सार्वजनिक नै गरिँदैन । गरिए पनि मानवीय त्रुटि देखाइन्छ । तर, वास्तविकता के हो भन्ने विषयमा सार्वजनिक रूपमा बताइँदैन ।

पोखरामा भएको यतीको विमान दुर्घटनाको छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन नभएको छ । यो आयोगलाई सत्यतथ्य पत्ता लगाउन ४५ दिनको समय दिइएको छ । घिमिरे नेतृत्वको आयोगले काम थालिसकेको छ । यो आयोगले समयमै काम सक्ला । तर, गत जेठमा भएको तारा एयरको विमान दुर्घटनाको छानबिनका लागि गठन भएको आयोगले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा गठन गरिएको आयोगले आठ महिना बितिसक्दा पनि प्रतिवेदन बुझाउन सकेको छैन ।

दुर्घटनाको छानबिनका लागि गठन भएका आयोगका काम र ती आयोगले दिने प्रतिवेदनमाथि नै आम जनमानसमा आशंका छ । त्यसमाथि पनि आयोगहरूले छानबिन पूरा गरेर तोकिएको समयमा प्रतिवेदन नबुझाउनु हदैसम्मको लापरबाही मानिन्छ । दुर्घटनाको छानबिनका लागि आयोग गठन गर्नुको उद्देश्य दुर्घटनाको कारण पत्ता लगाउनु र भविष्यमा फेरि त्यस्ता दुर्घटना हुन नदिने भन्ने नै हो । तर, आयोगहरूले नै काम पूरा नगर्ने र दिइएका सुझावसमेत कार्यान्वयन नहुने अवस्थाले नेपालको हवाई सुरक्षामाथि नै प्रश्न उठेको छ ।

नेपालको हवाई सुरक्षाका बारेमा अन्तर्राष्ट्रिय समुदायले पटकपटक प्रश्न उठाइरहेका छन् । युरोपेली युनियनले त नेपाली वायु सेवा प्रदायकलाई कालोसूचीमा नै राखेको छ । आईकाओले नेपालमा वायु सेवा सुरक्षाको अवस्थामा सुधार आएको बताए पनि युरोपेली आकाशमा नेपाली ध्वजावाहकलाई प्रवेश निषेध गरिएको छ । नेपालको हवाई सुरक्षाका बारेमा अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाएकै छन् । ती प्रश्नलाई बिर्सने हो भने पनि नेपालमा हवाई यातायात कति सुरक्षित छन् त ? भनेर हामीले पनि प्रश्न गर्ने बेला भएको छ । तसर्थ, नेपालले यथाशक्य हवाई सुरक्षाका बारेमा ध्यान दिन जरुरी छ ।