काठमाडौं – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन् । नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् ।
नगरपालिकाले आव २०७८÷७९ मा नदीजन्य पदार्थबाट रोयल्टी सङ्कलनका लागि सुनबरा नदी, वनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्ट्रक्सन प्रालिसँग रु ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ ।
तटीय क्षेत्रका स्थानीयले नदी कटानी नियन्त्रण सुनिश्चितता नहुँदासम्म उत्खनन गर्न नदिन रुकुमसिंह ठगुन्नाको संयोकत्वमा सङ्घर्ष समिति गठन गरेका छन् ।
समितिले नदीजन्य पदार्थ उत्खनन हुने क्षेत्रमा तटबन्ध निर्माण, सडक निर्माण कार्य, सडकमा दैनिक पानी छर्कने व्यवस्था र रोयल्टीबापतको रकम प्रभावित क्षेत्रको विकास निर्माणमा खर्च गर्न माग अघि सारेका छन् ।
माग सम्बोधन नभएसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नदिने सङ्घर्ष समितिका संयोजक ठगुन्नाले बताए । रासस
प्रतिक्रिया