देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस एकल नेतृत्वमा चलेको छ

देशान्तर

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टी अहिले पनि एकल नेतृत्वमा चलेका कारण लोकतान्त्रिक वाम गठबन्धन भत्किएर वाम गठबन्धन बनेको बताएका छन् । पार्टीको विधानमा सामूहिक नेतृत्वको कुरा गरिए पनि सभापति शेरबहादुर देउवाले सीमित व्यक्तिस“ग मात्र सरसल्लाह गरेर अघि बढ्दा अहिले नेपाली कांग्रेस संघ प्रदेश जताततैका नेतृत्वबाट विमुख भएको उल्लेख गरे । पछिल्लो सत्ता गठबन्धनको रस्साकस्सी चल्दा पार्टीमा छलफल नै नभएको र एकाएक गठबन्धन भत्किएपछि मात्रै आफूहरूले थाहा पाएको प्रष्ट पारे । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले सहमहामन्त्री बद्री पाण्डेस“ग गरेको कुराकानीको सम्पादित अंश ।

वर्तमान सरकारप्रति नेपाली कांग्रेसको धारणा के हो ?

यो एउटा कमजोर र अस्थिर धरातलमा निर्माण भएको सरकार छ । किनभने निर्वाचनका बेला माओवादी हाम्रो गठबन्धनमा थियो । हाम्रो गठबन्धनले एमालेलाई एउटा मुख्य प्रतिस्पर्धीको रूपमा विगतमा उसका क्रियाकलाप हेर्दा प्रतिगमनकारी बाटोमा गयो र यसले संघीयतालाई, लोकतन्त्रलाई र गणतन्त्रलाई कमजोर बनाउने भयो त्यसैले हामी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धन गरेर निर्वाचनमा आएका छौँ र हामी निर्वाचन जित्न चाहान्छौँ भन्ने हाम्रो साझा एजेन्डामा माओवादी समावेश थियो र त्यही माओवादी आज एमालेको समर्थनमा सत्तारूढ भएको छ । र अरु दलहरू जसको आ–आफ्नो चरित्र छ विचार छ , आ–आाफ्ना एजेन्डा र मान्यताहरू छन् । यसरी सरकार त बनेको छ राजनीतिक अस्थिरताको ग्राउन्डमा यो सरकार बनेको छ, त्यसैले यो सरकारलाई सय दिनसम्म सहयोग गर्नुपर्छ । रचनात्मक किसिमले यसलाई सहयोग पुर्‍याउन पर्छ । टेवा पुर्‍याउन पर्छ भन्ने मान्यता पनि छ । लोकतन्त्रमा त्यो दृष्टिले हामी सहयोग गर्छाै । सरकारलाई नेपाली कांग्रेसको चरित्र नै त्यही नै हो । तर सरकार आफैँ एउटा अस्थिर राजनीतिक ग्राउन्डमा उभिएको हुनाले यसबाट धेरै अपेक्षा छैन ।

अब तपाईंहरूसँग मिल्दा स्थिर हुने अनि एमालेसँग मिल्दा अस्थिर भन्न मिल्छ ?
त्यसो भएन । हामी निर्वाचनमा चुनावी मैदानमा मतदाताहरूले माओवादी निकट मतदाताहरूले हामीलाई मत हालेका छन् र हामी निकट मतदाताहरूने माओवादीलाई पनि मत हालेका छन् । एमालेलाई फरक शक्ति हो । फरक प्रवृत्ति छ । फरक एजेन्डा छ । यसको फरक उद्देश्य छ भन्ने ढंगले हामी मतदाताका बीचमा गयौँ यिनै मतदाताका प्रतिकूल जवाफदेहिता निर्वाचित जनप्रतिनिधिको रहने गर्छ । अब प्रचण्डले गोरखा २ मा जाँदा के भन्नुहुन्छ ? जहाँका मतदाताले उहाँलाई मत हालेका छन् जो रूख चिह्नमा मत हाल्नलाई प्रतिबद्ध मतदाताहरू थिए । उहाँहरूका प्रतिकूल उहाँको जवाफ के हुन्छ ? मैले हामीसँग मिल्दैमा ठीक र अर्काेतिर मिल्दैमा बेठीक भन्न खोजेको हैन कि निर्वाचन भयो मतदाताले मतदान गरे र त्यो मतदाताको प्रतिकूल जवाफदेहिताहरूलाई हामीले बेवास्ता गर्दै, अर्काे किसिमको गठबन्धन निर्माण गर्‍यौँ । हामीलाई त्यो अधिकारमा कुनै नैतिक दृष्टिकोणमा हेर्ने हो भने रूख चिह्नबाट भोट लिने अथवा हसियाँ हथौडाबाट हामीले भोट लिने अनि प्रतिनिधिसभामा आएर अर्कै ढंगको गठबन्धन गर्ने त्यो हामीसँग नैतिक अधिकार पनि थिएन । यदि राजनीतिमा नैतिकता भन्ने हुन्थ्यो रहन्थ्यो भने । त्यसकारणले मात्र मैले भनेको हामीसँग मिल्दा ठीक नमिल्दा बेठीक मैले भनेको हैन कि अहिले स्थिति नै यस्तो बन्यो कि ग्राउन्डमा कांग्रेस, माओवादी र समाजवादीलगायतका हामी मिलेका छौँ तर प्रतिनिधिसभाभित्र प्रवेश गरिसकेपछि कांग्रेसलाई समाजवादीलाई छोडेर माओवादी एमालेसँग मिल्न गएको छ ।

अब यो परिस्थिति चैँ कस्का कारण निर्माण भयो त बद्रीजी तपाईंहरू पनि त सत्तारूढ सरकारको नेतृत्व गरेको पार्टी कांग्रेस तपाईंहरूले नै म्यानेज गर्न पर्ने हैन र त्यो कुरा ?
पहिलो कुरा त अब हामीले यसमा दुविधा पाल्नै पर्दैन प्रचण्डका कारणले त्यस्तो भयो किनभने प्रचण्डले गठबन्धनभित्रै जुधेर लडेर संवाद गरेर छलफल गरेर त्यही प्रधानमन्त्री पद पनि उहाँ लिन खोज्नु पथ्र्यो त्यो उहाँको एउटा राजनीति नैतिकताभित्र पर्न पर्थ्याे ठीक छ उहाँको प्रधानमन्त्री पद खोज्ने कुरा पनि स्वाभाविक होला प्रधानमन्त्री पदमा दाबी गर्ने र लिएरै छोड्ने कुरा पनि स्वाभाविक नै होला तर पाइन भन्दैमा तोडेर जाने कुरा चैँ यो अनैतिक कुरा हो । मेरो विचारमा दोस्रो हाम्रो नेतृत्वको असफलता हो । हाम्रो नेतृत्वले त्यो गठबन्धनमा भएका अरू दलहरूलाई किनभने गठबन्धनको नेतृत्व हामी गर्दै थियौँ । हामीले गठबन्धनको नेतृत्व गरिरहेको अवस्थामा हाम्रो गठबन्धनबाट बाहिर जाँदै गरेको शक्तिलाई रोक्न सक्नु पर्थ्याे । हामीले उसको संवेदनशीलता के हो ? उसको सीमा के हो ? उसले केसम्म मान्छ, केसम्म मान्दैन भन्ने कुरा र उसको लवज, मनोविज्ञान, प्रवृत्ति बुझेर हामीले डिल गर्नुपर्थ्याे ? त्यो नसक्नु चैँ हाम्रो कमजोरी भयो । माओवादीको एक प्रकारको बेइमानी भयो । हाम्रो एक प्रकारले नालायकी जस्तो भयो । यो दुईवटा कारणले वास्तवमा गठबन्धन भत्किएर यो परिणाम निम्तिएको हो भन्ने लाग्छ मलाई ।

अब तपाईंहरूले चैं राष्ट्रपति पनि तपाईंहरूलाई, प्रधानमन्त्री पनि तपाईंहरूलाई र प्रदेशमा पनि धेरै तपाईहरूलाई सबै आफैँभन्दा यो अवस्था आएको हो नि ?
यो कुरा चैँ सार्वजानिक रूपमा तपाईंले मलाई सोध्ने कुरा हैन । यो प्रश्न चाहिँ त्यही गठबन्धनको बैठकभित्र प्रचण्डले सोध्नु पर्थ्याे । माधव नेपालले सोध्नु पथ्र्यो र हाम्रो नेताहरूलाई भन्नु पथ्र्याे कि सबै कुरा तपाईंहरूलाई अनि कसरी गठबन्धन हुन्छ त ? शक्ति बाँडफाँट भनेको यही हो त ? तपाईं राष्ट्रपति लिने हो भने हामी प्रधानमन्त्री लिन्छौँ, तपाईं प्रधानमन्त्री लिने हो भने हामी सभामुख लिन्छौँ । हामी मन्त्रालयहरू यसरी बाँडफाँड गर्छांै भन्नुपथ्र्यो ।
प्रदेशका सरकारहरू यसरी बाँडफाँट गर्छाैं भन्ने कुरा अहिले आएर तपाईंले र मैले छलफल हैन कि वार्तामा जानेहरूको त्यो कला र जिम्मेवारी हुनुपर्छ । जो संवादमा हुनुपर्थ्याे । संवादमा जानेहरूले लेनदेन गर्न सक्ने विन–विनको सिच्वेसन बनाउन सक्ने शक्ति बाँडफाँटलाई पनि एउटा कलात्मक ढंगले व्यवस्थित गर्न सक्ने त्यो क्षमता प्रदर्शन गनु पर्थ्याे ।

तपाईं नेपाली कांग्रेसको सहमहामन्त्री भएको नाताले तपाईंको पनि केही जिम्मेवारी त होला नि तपाईं पनि पदाधिकारी त हो नि ?
कार्यसम्पादन समितिको बैठक २४ गते बस्यौँ । त्यसमा जम्माजम्मी हाम्रो समानुपातिकको बन्द सूचीमा भएका मान्छेहरूमा पुरुषको संख्या एकदमै कम मात्र हामीले बनाउन पाउने अवस्था भएकाले कुन कलस्टरका पुरुषलाई हामीले निर्णय गर्ने भन्ने सन्दर्भमा बढी केन्द्रित भयौँ । त्यो दिन रातभरि हामी बस्यौँ र त्यही केन्द्रित भएपछि त्यो बैठक सकियो । त्यो बैठकपछि न हामीलाई कुनै पदाधिकारीको हिसाबले छलफल गरियो न कार्य सम्पादन समितिको बैठक नै बोलाइयो । केन्द्रीय समितिको बैठक बोलाउने कुरा त निकै परको कुरा भयो । न त अनौपचारिक छलफलमा समावेश गरियोे न सुझाव लिइयो । त्यसो भएपछि म पदमा छु भन्दैमा मैले के गर्ने मेरो पदले के गर्छ ? मेरो पदले दिने सुझाव मेरा आइडियाहरू त सभापतिमार्फत मैले दिन पाउन पर्छ । सभापतिले सोधेको हुनुपर्छ । अथवा बैठकमा सभापतिले महामन्त्रीलगायतका हामीभन्दा माथिल्ला तहका पदाधिकारीलाई बोलाएको हुनुपर्छ त्यो केही पनि नभएपछि अनि कहाँनिर दिने त्यो सुझाव ?

नेपाली कांग्रेस भन्या त सामूहिक नेतृत्वमा चल्ने पार्टी हो । तपाईंहरू महाधिवेशनबाट छानिएका पदाधिकारी हुनुहुन्छ । तपाईंहरूकै हैसियत यो हो भने त कसरी पार्टी अगाडि चल्छ ?
विधान हामीले सामूहिक नेतृत्व प्रणालीको बनायौँ, मनोविज्ञान र प्रवृत्ति चाहिँ एकल नेतृत्वमै आधारित छ अहिलेसम्म पनि । यो यहाँको वास्तविकता हो । यो यहाँको तीतो यथार्थता पनि हो । त्यो तीतो यथार्थताबाट हामी अहिले पनि आक्रान्त छांै र यो पछिल्लो परिघटनाको मुख्य कारण पनि वास्तवमै सामूहिक नेतृत्व प्रणालीलाई हामीले व्यवहारमा उतार्न नसकेको, अभ्यासमा ल्याउन नसकेको हो । फेरि पनि एकल नेतृत्वमै पार्टीको काम, निर्णयहरू हुने प्रवृत्ति दोहोरिएको कारणले यो दुष्प्रणाम हामीले भोग्नु परेको हो भन्ने लाग्छ ।

अब तपाईंहरूले अहिले अलिकति नेतृत्व परिवर्तन गर्नुपर्छ, पुस्तान्तरण गर्नुपर्छ भनेर संसदीय दलको चुनावमा गगन थापा (महामन्त्री)लाई उठाउनुभयो तर आफ्नै मत चाहिँ जोगाउनु सक्नु भएन त्यहाँनिर तपाईंहरूमा पनि अलिअलि समस्या छ ?
समस्या छैन, मैले भनेको छैन तर समस्या नै समस्याको पहाड खडा गरेर हामी आफैं आतंकित, निराश हुने हामी आफैं शिथिल बन्ने यो हाम्रो कर्तव्य होइन समस्याहरू छन् । समस्यालाई चिर्दै जानुपर्छ, समस्याको समाधान खोज्दै जानुपर्छ । समस्यासँग जुध्दैँ जानुपर्छ, यो हाम्रो कर्तव्य पनि हो । त्यसैले के चाहिरहेका छौँ भने ठीक छ हामी संसदीय दलमा भने जति भोट ल्याउन सकेनौँ । अपेक्षा गरे जति भोट ल्याउन सकेनौँ तर पनि हामीले नयाँ तरङ्ग सिर्जना गरेका छौँ । अब हाम्रो पुस्ता पनि पार्टीको प्रमुख पद सभापति पनि चलाउन सक्छ । सरकारको प्रमुख पद प्रधानमन्त्री पद पनि चलाउन सक्छ भन्दा हामी अग्रसर भएका छौँ । हाम्रो यो अग्रसरताले परिणाम दिन्छ आज दिएन भोलि दिन्छ । सकारात्मक परिणाम दिने एउटा बाटो खुलेको छ । म अंकमा होइन, गणितमा होइन मतमा होइन कि यसले एउटा माहोल खडा गरेको छ, एउटा उत्साह र आशा सञ्चार गरेको छ हाम्रो उम्मेदवारीले हाम्रो प्रतिस्पर्धाले त्यस्ले हामीलाई अन्ततः सकारात्मक बाटोतिर डोर्‍याउँछ भन्ने हामीलाई लागेको छ ।

अहिले तपाईंहरूको जुन समूह छ त्यसले दबाब दिएर सभापतिको राजीनामा र विशेष महाधिवेशन लगायतका कुराहरू गर्नु भएको छ के पार्टी त्यतातर्फ उन्मुख हुन लागेको हो ?
केन्द्रीय कार्यसमितिको बैठक जो बोलाइएको छ । त्यो बैठकहरू पनि आकस्मिक र यथाशीघ्र बोलाइनु पथ्र्याे । जुन केही ढिलो बोलाइएको छ । त्यहाँ सबै विषयहरू प्रस्तुत हुन्छन्, प्रकट हुन्छन् । त्यहाँ सभापतिले कसरी ब्रिफिङ गर्नुहुन्छ । सभापतिसँग वार्तामा जानेहरूले कसरी ब्रिफिङ गर्नुहुन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलहरूको के भनाइ आउँछ । अरू केन्द्रीय कार्यसमितिहरूको के भनाई आउँछ । हामीले आफ्ना धारणाहरू कसरी प्रस्तुत गर्छौं । त्यसलाई एउटा संश्लेषण गरेर केन्द्रीय कार्यसमितिले एउटा निष्कर्षमा पुग्नु पथ्र्यो । हामीले अहिले भएका घटनालाई केही पनि होइन भनेर ढाकछोप, अस्वीकार वा बेवास्ता गर्न थाल्यौँ भने आगामी दिनमा यस्ता घटना, प्रवृत्ति र दुर्घटनाहरू फेरि व्येहोर्ने नीतिको सिकार हुन्छौँ ।

अब तपाईंहरू २२ गतेको केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुनुहुन्छ ?

हामीले यसलाई ढाकछोप गर्ने गरी अगाडि बढ्ने होइन कि, हामीले बाहिर सार्वजनिक रूपमा कोलाहल गर्न जरुरी छैन । आरोप प्रत्यारोप गर्न पनि जरुरी छैन म यो पनि भनिराछु । केन्द्रीय कार्यसमितिभित्र खुल्ला तरिकाले बहस गर्नुपर्ने हुन्छ । यसको समस्या, राजनीतिक दुर्घटना भन्छु । म यस्को कारण र कारक पत्ता लगाउनु पर्छ । हाम्रो कार्यशैली त्यसको कारण हो कि ? हाम्रा व्यक्तिगत प्रवृत्तिहरू त्यस्का कारण हुन् कि ? हाम्रा मनोगत चाहनाहरू त्यस्का कारण हुन् कि ? त्यस्को पहिचान गरेर अब अगाडि बढ्ने कुरामा हामी तयार हुनुपर्छ । कसरी पारदर्शी निर्णय प्रणाली पार्टीभित्र स्थापित गर्ने, कसरी सामूहिक नेतृत्व प्रणालीलाई हामीले व्यवहारमा उतारी आगामि दिनमा फेरि यस्तो गल्ती नदोहोरिने गरी पार्टीलाई कसरी चलायमान बनाउने भन्ने सन्दर्भमा केन्द्रीय कार्य समितिभित्र खुल्ला छलफल र बहस हुनुपर्छ भन्ने मलाई लाग्छ । अब तपाईंले भनेको विशेष महाधिवेशनमा सभापतिको राजीनामाको कुरा मैले भनिरहेको छैन । केन्द्रीय कार्यसमितिभित्रको उहाँको ब्रिफिङ सुनौँ उहाँहरूले के भन्नुहुन्छ ?

तपाईंहरूको समूहको निष्कर्ष भनेर आजका सञ्चारमाध्यमहरू पत्रपत्रिकाहरूमा त त्यही कुरा प्रकाशित छ, । सञ्चार माध्यमहरूमा सभापतिको राजीनामा र विशेष महाधिवेशनका लागि दबाब बढाउने कांग्रेसमा शेखर, गगन समूहको रणनीति भन्या छ । त्यो समूहमा त हिजो तपाईं पनि बसेर छलफल गर्नु भएको हो नि ?

मैले केन्द्रीय कार्यसमितिभित्र प्रवेश गरौँ । उहाँहरूको ब्रिफिङ सुनौँ । उहाँहरूले के बताउनुहुन्छ त्यसको कारण पत्ता लगाऔं । त्यसपछि एउटा निर्णयमा पुगौँ । महासमितिको बैठक बोलाउनुपर्छ भन्ने कुरा पनि उठ्ला तर निर्णय गर्ने कार्यसमितिले हो । म के चाहान्छु भने एउटा सरकार गठन गर्ने कुराबाट हामी चुकेर पार्टीभित्र एउटा तल्लो तहसम्म निराशा चाँहि छाएको छ । अर्काे पार्टीभित्र यही नाममा हामीले द्वन्द्व बढाएर हाम्रा पार्टीका सामान्य सदस्यहरू जस्ले ठूलो योगदान गर्नु भएको छ । उहाँहरूमा जुन निराशा छाएको छ त्यो निराशालाई बढाउने काम हामीले गर्नु भएन । निराशालाई घटाई पार्टीलाई आन्तरिक रूपमा सुदृढ गर्दै राष्ट्रिय राजनीतिमा प्रतिपक्ष भूमिका नभए पनि प्रभावकारी भूमिका निर्वाह गर्छाैं भन्ने सञ्चार गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठकमा हामी प्रस्तुत हुन्छौँ र निर्णयमा पुग्छौँ । यो नै अहिले कर्तव्य हो भन्ने ठान्छु ।

अब त्योभन्दा अगाडि तपाईंहरूको फेरि समूहको बैठक बसेर थप एजेन्डा पनि तय गर्ने हो ?
हिजोको बैठकमा हामीले खासै छलफल गर्न पाएनौँ । हामी हिजो विभिन्न प्रदेशका संसदीय दलका निर्वाचनहरू हुँदै थिए । त्यसमा आधारित केही छलफल गर्‍यौँ हामीले र डा. शेखर कोइराला, पदाधिकारीहरू र केही शीर्ष तहका नेताहरू मात्र हुनुहुन्थ्यो अब हामीले केन्द्रीय कार्यसमितिभित्र भएका सबै साथीहरूलनई बोलाउँछौँ । सांसद साथीहरू साथै सबैलाई बोलाउँछौ र बृहत् छलफल गर्छौं र केन्द्रीय कार्यसमितिमा हामी कसरी प्रस्तुत हुने भन्ने सामूहिक धारणा राख्छौँ र त्यही आधारमा केन्द्रीय कार्यसमितिलाई हामी बढी रचनात्मक र परिणाममुखी बनाउने केन्द्रीय कार्यसमितिको बैठक सकिँदै गर्दा कांग्रेसले एउटा अगाडि बढ्ने, सकारात्मक आशा सञ्चार गर्ने पोजिसन लिने गरी केन्द्रीय कार्यसमितिलाई हामी उपयोग गर्छांै ।

कतिपय मान्छेहरूले के भनिराखेका छन् भने यतिबेला अलि बढी नै अत्याचार जस्तो भएको थियो । के अब पनि यस्तै अवस्था रहिरहँला जस्तो तपाईंलाई लाग्छ ?
मलाई त्यस्तो लाग्दैन । किनभने देशभरि यसपटक हाम्रा साथीहरूले बढो मेहनत गर्नु भएको छ । मुटुमाथि ढुङ्गा राखी माओवादीलाई भोट हाल्नु भएको छ । कलम अनि अरू चिह्नमा पनि भोट हाल्नु भएको छ । र आफ्ना उम्मेदवारलाई जिताउन पनि भगीरथ मेहनत गर्नुभएको छ । त्यो केका लागि भने संघीय लोकतान्त्रिक गणतन्त्र पहिलो पटकको निर्वाचनबाट पहिलो पटकको सत्पात्रको हातमा गएन । केपी ओलीको हातमा गयो जसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर भयो । अब हाम्रो हातमा संघीय लोकतन्त्रको बागडोर हामीले लिनुपर्छ र त्यसका आधारमा संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन पद्धति तीनै तहको सरकार चलाउनुपर्छ र देशलाई एउटा विकासको समृद्धिको बाटोमा लिएर जानुपर्छ भन्ने ठूलो सपना पालेर साथीहरूले निर्वाचन जित्ने र जिताउने कुरामा ठूलो योगदान गर्नुभएको छ । त्यो योगदान गरेका साथीहरूको भावना माथि एक प्रकारको प्रहार भएको छ । जसरी हामीले सत्ताच्युत हुनुपर्‍यो सत्ताबाट अनायसै बाहिरिनु पर्‍यो त्यसबाट ठूलो निराशापन आएको छ । जुन आशा र उत्साहका साथ निर्वाचन भ्एको थियो । हामी पहिलो पार्टीका रूपमा केन्द्रमा र प्रदेशमा स्थापित भएका थियौँ त्यसमा धेरै ठूलो तुषारापात भएको छ । त्यसैले म मान्दिनँ पार्टीभित्र कुन खालको थिचोमिचो थियो र कुन खालको अत्याचार थियो त्यो अत्याचारलाई ठीकै भएको छ भन्ने कुरा म चाहिँ मान्दिनँ । किनकि म मतदाताको बीचबाट आएको छु म चुनावको मैदानबाट आएको छु । मतदाताको भावना र चुनावको मैदानतर्फ फर्केर हेर्दा म जवाफदेही हँुदा कांग्रेसको सरकार बन्छ, बन्नुपर्छ र राम्रो गर्नुपर्छ भन्ने साथीहरूको उत्साहमाथि चिसो पानी खन्याएको जस्तो भएको छ र हामीले यसलाई बढो गम्भीरताका साथ समीक्षा गर्नुपर्छ र आगामी दिनमा फेरि नेपाली कांग्रेसले सत्तामा कसरी पुग्ने भन्ने कुरा सोच्नुपर्छ । सत्तामा पुगेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हाम्रो जुन व्यवस्था छ यसलाई कसरि स्थापित गर्ने र तीनै तहका सरकारहरूलाई परिपक्व ढंगले कसरी चलायमान गर्ने भन्ने बाटोमा जानु नेपाली कांग्रेसको परम कर्तव्य हो भन्ने लाग्छ मलाई ।

सत्तामा पुग्नका लागि यही संसद्मा हो कि अथवा २०८४ पछाडिको तयारी हो ? कि विगतको जस्तो सरकार गिराउने बनाउने खेलमा लाग्ने हो नेपाली कांग्रेस ?
२०८४ पछि आफ्नै बुतामा बहुमत कसरी प्राप्त गर्ने, भन्नेमा आधारित रहेर संगठन निर्माण सुरु गर्नु पर्नेछ । संगठनको सुदृढीकरण सुरु गर्नुपर्छ र संगठनमा शुद्धीकरण सुरु गर्नुपर्छ । हामी अहिलेदेखि नै २०८४ को तयारीका लागि मुभ हुनुपर्छ । र हामी हाम्रो १५औं महाधिवेशन ढिलो नगरी विगतको जस्तो साढे ४ वर्ष साढे ५ वर्षमा होइन कि, अब हाम्रो विधानमा रहेको ४ वर्षभन्दा एक दिन पनि ढिला नगरी १५औं महाधिवेशन गर्नुपर्छ । त्यति भएपछि पार्टी चलायमान हुन्छ । पार्टीका भ्रातृ संस्थाहरू हामीले क्रियाशील गराउनुपर्छ । कामका लागि शुभेच्छुक संस्थाहरूलाई कामका लागि उत्प्रेरित गर्नुपर्छ । हाम्रा पार्टीका साथीहरूलाई विभागलगायत विभिन्न, संरचनामा समाहित गरेर सवै साथीहरूलाई काम दिने, जिम्मा दिने सक्रिय बनाउने र उहाँहरूको भूमिका र योगदानलाई पार्टी निर्माणमा योगदान गर्ने कामलाई हामीले २०८४ को तयारी गर्दा यो कुराहरू गर्नुपर्छ । यो बीचमा हामीलाई थाहा छ, उहाँहरूको चिन्तन, चरित्र र ग्राउन्ड । त्यस्तो अवस्थामा आवश्यक परेमा हामी प्रमुख प्रतिपक्ष भनेको एउटा प्रतीक्षामा रहेको सरकार पनि हो । यो भनेको बैकल्पिक र छायाँ सरकार पनि हो । त्यो अवस्थामा हामी प्रतिनिधि र प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा छौं भने जुनसुकै बेला सत्ता आओस् त्यो सत्ता लिने र त्यो सत्तामा पुगेर ठीक ढंगले सञ्चालन गर्ने, त्यो पूर्वतयारी र मनोविज्ञानका साथ पनि हामीले काम गर्नेछौं ।

त्यो भनेको आवश्यकता पर्‍यो भने, माओवादी एमालेसँग पनि फेरि सहकार्य गर्छ होइन त ?
हामी एक्लैको बहुमत पुग्दैन । त्यो सबैलाई थाहा छ । तर सबैभन्दा ठूलो दल हामी नै छौं । त्यसो हुँदा हामीले साथमा लिने सन्दर्भमा समीक्षा गर्नैपर्छ । कसले आधाबाटोमै धोका दिन्छ, कसले अलि लामो समय सहकार्यमा इमान्दारिता देखाउँछ त्यो सोच्नै पर्छ । सोच्दासोच्दै पनि अरू दलहरूको समर्थन थपिएको अवस्थामा फेरि सरकारमा पुग्ने र सरकार राम्रोगरी चलाउने दिशामा हाम तम्तयारी र मनोवैज्ञानिक हिसाबले पनि तयार रहनु पर्छ भन्ने लाग्छ ।

चुनावका बेला बागी विद्रोही उठेकालाई अब कारबाही के गर्ने ढिसमिस भयो ?
कारबाहीका सन्दर्भमा अनुशासन समिति गठन हुन्छ । अनुशासन समिति काम, कारबाही गर्ने विषयमा स्वतन्त्र पनि छ । त्यो समितिले केन्द्रीय कार्यसमितिमा प्रतिवेदन पेस गर्छ । त्यो केन्द्रीय अनुशासन समितिको विषय हो । त्यो अनुशासन समितिमार्फत नै हल गर्छौं । यो कुरा अहिले व्यक्तिगत रूपमा भन्नुभन्दा पनि अनुशासन समिति गठन भएपछि अनुशासन समितिले संस्थागत रूपमा निर्णय गरेर अघि बढ्छ । त्यसैलाई हामीले मान्यता दिन्छौं । उसैले गरेको कामलाई नै हामीले सहयोग समर्थन गर्नुपर्छ त्यो नै हाम्रो कर्तव्य पनि हो ।