देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज वीपी कोइराला स्वदेश फर्किएको दिन, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

देशान्तर

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला माथि विभिन्न मुद्वासहित मृत्युदण्डको मुद्दा चलाउदा समेत राष्ट्रिय एकताका लागि भन्दै स्वदेश फर्किएको सम्झनामा आज राष्ट्रिय मेलमिलाप दिवस मनाइँदैछ ।

कांग्रेस र कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिपी सङ्ग्रहालयले पनि एक कार्यक्रमको आयोजना गरेको छ । तर प्रत्येक वर्ष पुस १६ गते मनाइने मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेको छ । कांग्रेस र कांग्रेस शुभेच्छुकहरु वीपी कोइरालाको आर्दश तथा शिद्वान्त भन्दा बाहिर गएको भन्दै आलोचना समेत हुदै आएको छ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ, नीलाम्बर पन्थीलगायत नेता कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित भारत जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

भारत निर्वासनमा रहँदा कोइरालालगायतका नेताले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४६ वर्षअघि देशको सार्वभौमसत्ता संरक्षणका लागि आजकै दिन स्वदेश फर्किनु भएको थियो । विसं २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो । त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाकोे निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो ।

विसं २०२५ मा उपचारका लागि वीपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले भारतमै निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप सुरु गर्नु भएको थियो ।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । विसं २०३४ जेठ २७ गते उपचारपछि फिर्ता पुर्न कारागारमा फर्कने गरी वीपी कोइरालालाई रिहा गरिएको थियो । यसपछि एक पटक सुन्दरीजल बन्दीगृह फर्काई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बन्दी बनाइएको थियो । चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ ।

सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर–यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’शीर्षकमा प्रकाशित) पुस्तक लेख्नु भएको छ ।

बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उहाँको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रुपमा प्रख्याँत हुनुहुन्छ । विसं २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ ।