काठमाडौँ – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १०७ जना चालकहरू कारबाहीमा परेका छन् । बुधवार बिहानै गरिएको विशेष चेकिङको क्रममा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठीक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन् ।
त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ८ वटा स्कुल बसका चालकलाई पनि कारबाही गरिएको छ ।
सवारीको अवस्था ठीक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३ जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरू रहेका छन् ।
यो सँगै कागजपत्र साथमा नबोकेका १ जना एम्बुलेन्स चालक र ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारबाही गरिएको छ ।
सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवंम प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
प्रतिक्रिया