देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको सरकार जनताको म्यान्डेट 

देशान्तर

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जनताले नै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि म्यान्डेट दिएकाले त्यसैअनुसार सबै राजनीतिक दलहरू अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । मंसिर ४ गते सम्पन्न भएको चुनावमा नेपाली कांग्रेस पहिलो दल भएको र गठबन्धनको पनि नेतृत्वकर्ता भएकाले आलोपालो नै गर्ने भए पनि पहिलो प्रधानमन्त्री कांग्रेस सभापति तथा संसदीय दलको नेतासमेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँगको कुराकानीमा सहमहामन्त्री परियारले एमाले र माओवादीसहितको गठबन्धनमा अर्को सरकार बन्दा कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको प्रष्ट पारे । सहमहामन्त्री परियारसँग गरिएको कुराकानीको सम्पादित अंश ।

नयाँ सरकारको प्रक्रिया कसरी अगाडि बढेको छ ?
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन चुनावमार्फत गरिसकेको छ । चुनावबाट सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेतामा चयन हुनु भएको छ । कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संसद्को ठूलो दल भएको र अहिले सत्तारूढ गठबन्धनमा पनि रहेको दलका नेताले नयाँ सरकार गठनको पहल तीव्र पारेको छ । यसबीचमा छलफलहरू भइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार (आज) अपराह्न ५ बजेसम्मको समय दिनु भएको छ । समय सीमाभित्रै सरकार गठनका लागि तयारी तीव्र पारेका छौं । समयसीमा भित्रै हामीले सरकार गठन गर्ने गरी तयारीमै पनि रहेका छौं ।

अहिले सरकार गठनका लागि हस्ताक्षर पनि भइरहेको कुरा आएको छ, आफैं नेतृत्व गर्नका लागि हो ?
नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । ठूलो दल भएको नाताले पनि प्रधानमन्त्रीका लागि कांग्रेसको दाबी स्वाभाविक पनि छ । गठबन्धनमा रहेका दलहरूले पनि सरकारको नेतृत्वका लागि दाबी गर्नुभएको छ । यसबीचमा छलफलहरू पनि भइरहेका छन् । तपाईंसँग कुराकानी गर्दासम्म ठोस सहमति भइसकेको छैन । हामीले आइतबार निर्धारित समयभित्र नै दाबी प्रस्तुत गर्नका लागि नेपाली कांग्रेसका सांसदहरूको हस्ताक्षर संकलन गरेका छौं ।
मंसिर ४ गते भएको निर्वाचनबाट नेपाली कांग्रेसलाई पहिलो शक्ति बनाएकाले प्रधानमन्त्री वा कार्यकारी प्रमुख जे भन्नुस् यो त जनताले दिएको म्यान्डेट भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ।

गठबन्धन भएका कारणले अरूलाई नछोड्ने, भनेको माओवादी, एकीकृत समाजवादीलाई नेतृत्व नदिने ?
मैले भन्न खोजेको सरकारको नेतृत्व कांग्रेसबाहेक माओवादी र एकीकृत समाजवादीलाई दिनै हुन्न त होइन । तथापि पहिलो चरणमा कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार अगाडि बढ्दा प्राकृतिक न्यायको सिद्धान्तअनुसार हुन्छ भन्ने लाग्छ ।
२०७४ मा तपाईंहरू तेस्रो दल हुँदा पनि त सरकार बनाउनु भएको थियो नि ?

२०७४ सालमा सुरुमा नेकपाको सरकार बनेको हो । नेकपामा विभाजन आइसकेपछि कांग्रेस पार्टी पहिलो दलमै थियो । त्यसकारण कांग्रेस सभापतिसमेत रहनु भएका संसदीय दलका नेता शेरबहादुर देउवालाई अन्य दलहरूले प्रधानमन्त्री बन्नका लागि आग्रह गरेर नै देउवा प्रधानमन्त्री बन्नु भएको हो ।

देउवा नेतृत्वको विगतमा सरकार बनाउँदा गठबन्धनका बीचमा कुनै गोप्य सम्झौताहरू भएका थिए त ? 

यो विषयमा मलाई कुनै जानकारी छैन ।  यस विषयमा विस्तृत जानकारी हाम्रो पार्टी सभापतिलाई नै जानकारी होला ।

अहिले त प्रधानमन्त्रीभन्दा पनि राष्ट्रपतिको पद अलि बढी चासोको विषय किन बन्यो ?
हामीले एउटा कुरा के ध्यान दिनुपर्छ भने, राष्ट्रपति सभामुख भन्ने पद चाहिँ  लगभग एक कार्यकालका लागि  अझ भनौं निर्वाचित भइसकेपछि एक कार्यकालका लागि रहने हाम्रो प्रचलन नै भइसकेको छ । त्यसकारण यी स्थायी पदहरूमा दलीय भागबन्डा गर्दा ठीक होला र । प्रधानमन्त्री पद पनि आलोपालो हो भने, यो पद एक किसिमले अस्थायी पद जस्तो देखिन थाल्यो । त्यसकारण राष्ट्रपति पदमा नेपाली कांग्रेस पहिलो दल भएको नाताले पनि हामीहरूले नै दाबी गर्नुपर्छ भन्ने हो ।

भन्न खोज्या, नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री अरूमा चासो छैन ?
चासो छैन भन्ने खोजेको होइन । गठबन्धनमा भइसकेपछि अन्य दलहरूले पनि त पदमा दाबी गर्न सक्नुहुन्छ । त्यसलाई व्यवस्थापन गरेर लैजानु पर्छ । भनेको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश मुख्यमन्त्रीलगायत हरेक पदहरूका विषयमा सहमति गरेर अघि बढ्नु पर्छ ।

पदमा कुरा नमिल्दा पनि गठबन्धन अगाडि बढ्छ त ?
गठबन्धनको सरकार हामीले बनाएको झन्डै डेढ बर्ष भइसक्यो । निर्वाचन पनि सँगै लड्ने, सरकार पनि सँगै चलाउने भनेर हामी अघि बढेका हौं । हामीले सफलतापूर्व स्थानीय तह, संघीय संसद् तथा प्रदेशसभाको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गरेका छौं । नतिजाबाट पनि सन्तुष्ट हुने नै ठाउँ छ । यही सफलताका कारण पनि गठबन्धनका दलहरूमा विश्वासिलो वातावरण पनि बनेकाले गठबन्धनकै दलहरूको बीचमा नै नेतृत्वको भागबन्डादेखि लिएर नयाँ सरकार गठन गर्ने कुरामा एक ढिक्का भएर अगाडि बढ्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।

सँगसँगै नेकपा एमालेले वैकल्पिक गठबन्धनको कुरा पनि त गरिरहेको छ नि ?
स्वाभाविकरूपमा संसद्मा रहेका राजनीतिक दलहरूले आआफ्नो तरिकाबाट सरकार बनाउन सकिने सम्भावनाहरूका लागि पहल गर्नुलाई अस्वाभाविकरूपमा लिनु हुँदैन । त्यसलाई हामीले स्वाभाविकरूपमा नै लिएका छौं । अहिलेको अवस्थामा एमाले र कांग्रेस मिलेर सरकार बनाउने सम्भावना त म एकदमै कम देख्छु । तर, एमालेले अरू दलहरूसँग मिलेर आफ्नै सरकार बनाउन खोजी रहेको छ भने, त्यो त उसको अधिकारको कुरा पनि हो ।

एमाले र माओवादीसहितको अर्को गठबन्धनको सम्भावना छ त ?
एमालेले अन्य दलहरूलाई मिलाएर सरकार बनायो भने हामी स्वाभाविक रूपमा प्रतिपक्षमा बस्न तयार छौं । यदि हामीले संसद्मा बहुमत पुर्‍याउन सकेनौं भने हामीले कुनै पद पाउँदैनौं यसमा हामी क्लियर पनि छौं । यस्तो भएको खण्डमा नेपाली कांग्रेस प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी पूरा गर्छ । तर अहिले नै एमाले माओवादीसहितको गठबन्धन बहुमत पु¥याएर सरकार बनाउँछ भन्ने कुरामा मलाई विश्वास छैन ।
तपाईंहरूको नेतृत्वको सरकार बनेको पनि डेढ वर्ष भयो, विगतको ओली नेतृत्वको सरकार र तपाईंहरूको सरकारको बीचमा के फरक पाउनुभयो ?

डेढ वर्ष अगाडि विशेष परिस्थितिमा सरकार निर्माण भयो । सरकारले रचनात्मक काम गर्न सक्यो या सकेन त्यो समीक्षाको पाटो होला । हामीले यो बीचमा केही काम पनि गरेका छौं । यसको मतलव सरकारले केही पनि गर्न सकेन भन्ने पनि होइन । दोस्रो कुरा स्थायित्व दिने गरी  जनताका बीचमा हामीले एजेन्डाहरू लग्यौं । हामीले जनतामा जाँदा राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका लागि हामीलाई मत दिनुस् भनेर हामीले जनतासँग मत मागेका छौं । त्यसैले गर्दा विगतकै सरकारको निरन्तरताको लागि भन्न खोज्या के हो भने, विगतकै जस्तो चुपचाप बस्छौं भनेर पनि होइन, घोषणापत्रका साथ हामीले हाम्रा योजनाहरू सार्वजनिक गरेका छौं । त्यसकारण त्यो एजेन्डालाई लिएर हामी सरकारमा जाने हो ।
घोषणापत्र त सबै राजनीतिक दलका छन्, सबैले आआफ्नै तरिकाले काम गर्न खोजे खिचडी बन्दैन र ?

घोषणापत्रमा लेखिएका राम्रा विषयहरू जुनसुकै दलका भए पनि रचनात्मक कुराहरू भए कार्यान्वयन गर्नका लागि कुनै पनि अप्ठेरो पर्दैन ।  कसैको शिक्षासम्बन्धी राम्रा योजना होलान्, कसैका स्वास्थ्यसम्बन्धी योजनाहरू होलान्, कसैका पूर्वाधारसम्बन्धी होलान्, विविधखालका रचनात्मक कुुराहरू त सरकारमा सँगै बसेपछि त कार्यान्वयन गर्न त अप्ठेरो पर्ने भएन नि ।

तपाईंहरू अहिले आलोपालोको कुरा गर्न थाल्नु भएको छ, मत माग्दा त स्थिर सरकार भन्या होइन र ?
यहाँहरूले जति पनि कुराहरू बाहिर बजारमा आशंका व्यक्त भएका छन्, ती कुराहरू धेरै लामो समयसम्म रहँदैन । केही समयभित्रै प्रधानमन्त्री को बन्ने, राष्ट्रपति कुन दलबाट बन्ने, सभामुखलगायतका सबै कुराहरू प्रष्ट थाहा पाइहाल्नुहुन्छ ।

अहिले किन राष्ट्रपति पदमा त्यति धेरै आकर्षण बढ्यो ?

विगतमा राष्ट्रपतिले जुन खालको भूमिका देखाउनु भयो, त्यही भूमिकालाई लिएर राष्ट्रपति एउटा सक्षम र राष्ट्रपति देश र जनताको पक्षमा बोल्न सक्ने, काम गर्न सक्ने, निष्पक्ष र तथष्ट व्यक्ति चाहिने रहेछ भन्ने फिल भएका कारणले गर्दा राष्ट्रपतिमा आकर्षण बढेको हो भन्ने मलाई लाग्छ ।

निष्पक्ष र तटस्थ भन्या राजनीतिक दलहरूभन्दा बाहिरको भन्न खोज्या ?
निष्पक्ष र तटस्थ भनेको देशको संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने व्यक्ति नै राष्ट्रपति चाहिन्छ भन्ने हाम्रो मान्यता हो ।

त्यो भनेको नेपाली कांग्रेसबाट को हो त ?
नेपाली कांग्रेसमा व्यक्तिका विषयमा छलफल भएको छैन । पहिला हामी राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आइतबारको समय सीमामा नयाँ सरकार बनाउने विषयमा केन्द्रित छौं । त्यसपछि राष्ट्रपतिको कुरा अघि बढ्छ । कांग्रेसले राष्ट्रपति पद पाउँदा उपयुक्त व्यक्ति चयन गरेर पठाउने छौं ।

अब संसदीय दलको निर्वाचनको प्रसंग

तपाईंहरू समूह बनाएर चुनावमा जाँदा पनि आफ्नै मत जोगाउन सक्नु भएन है ?
संसदीय दलको नेता चयन गर्ने सवालमा जुन मत महामन्त्री गगनकुमार थापाले पाउनुभयो, त्यो मत हेर्दा हामीले आंकलन गरेको मतभन्दा कम आएको छ । त्यसकारणले गर्दा हामीले आफ्नो मत जोगाउन नसकेको जस्तो देखिएको छ ।  एउटा कुरा के हो भने यो गोप्य मतदान भएको हुनाले कतिपय साथीहरूले हामीलाई मत दिन्छु भनेर पनि नदिएको पनि हुन सक्छ । र सभापतिलाई मत दिन्छु भनेर पनि उहाँलाई नदिएर हामीलाई दिएको पनि हुन सक्छ । त्यसकारण गोप्य मतदान भए पनि हामीले सोचेको जस्तो मत पाउन नसकेको सत्य कुरा हो ।

मत हराउनु भन्या त तपाईंहरूमै पुस्तान्तरण रूपान्तरणलाई नरुचाउनेहरू पनि त रहेछन् ?
हामीसँग पहिला ३० मत थियो । विश्वप्रकाश शर्मा र प्रदीप पौडेल आइसकेपछि ३२ मत भएका हो । चुनावमा २५ मत आयो । अहिले ७ मत हराएको छ । तर यसलाई ठूलो रूपमा हामीले लिएका छैनौं । पहिलो कुरा चाहे ३२, २४, ४० जति मत ल्याए पनि संसदीय दलको नेतामा गगन थापालाई विजयी गराउन सकिन्छ भन्ने कुरा लागेकै थिएन । तर पनि प्रतिस्पर्धामा जानुपर्छ, विगतदेखिकै हाम्रो एउटा अभ्यास पनि हो भनेर हामीले उम्मेदवारी तय गरेका हौं । कुरा त अब सर्वसम्मत गरेर जाने कि भन्ने पनि चलेको थियो । तथापि हामीले उम्मेदवार बनायौं ।

कांग्रेसको सरकार बन्दै गर्दा तपाईंहरूको समूहबाट मन्त्री बन्ने कि नबन्ने ?
संसदीय दलको नेता देशको प्रधानमन्त्री बन्ने अवस्था रहेमा नेपाली कांग्रेसबाट को को व्यक्तिलाई मन्त्रिपरिषद्मा पठाउने भन्ने कुरा उहाँले कार्यसमितिमा छलफल गर्नुहोला । त्यसपछि नै तय हुने कुरा हो । महामान्त्रीद्वयले सरकारमा सहभागी हुँदैन भन्नु भएको छ, त्यो उहाँहरूको व्यक्तिगत कुरा हो । सरकारमा मन्त्री बनेर जाने या नजाने भन्ने विषयमा छलफल हुन बाँकी नै छ । पहिला त सरकार बनाउन प¥यो । गुटकै आधारमा अन्य व्यक्तिहरू पनि सरकारमा नजाने भन्ने होइन ।

गगन थापालाई उम्मेदवार बनाउँदा १५औं महाधिवेशनसम्मको रोडम्याप तपाईंहरूले तयार पार्नु भएको हो ?
१५औं महाधिवेशनसम्मको कुराहरूमा छलफल नभएको होइन, छलफल भएकै हो । कतिपय विषयहरू सार्वजनिक पनि भएका छन् । १४औं महाधिवेशनमा जसरी एउटा समूह निर्माण गरेर चुनावी प्रतिस्पर्धामा गइयो, स्वाभाविकरूपमा १४औंदेखि १५औंसम्मको नेतृत्व गर्ने कुरामा डा. शेखर कोइरालाले गर्ने कुरामा कुनै दुई मत नै छैन ।

डा. शेखरले १४औंमा यसैपटक एकैपटक भन्नुभएको थियो नि ?
हो । उहाँले भन्नु भएकै हो । तर कसरी अघि बढ्ने भन्ने कुरा १५औं महाधिवेशन आएपछि मात्रै तय हुने छ ।  भोेलिका दिनमा कसरी अगाडि बढ्नु हुन्छ त्यो बाँकी छ । अहिले पनि त शेखर कोइराला संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने कुरा थियो,  किन उहाँले महामन्त्री थापालाई अघि सार्नुभयो यी सबै कुराहरू पछि  छलफल हुँदै जाने कुरा निर्णयमा पुग्ने कुरा हो । हामीसँग १५औं महाधिवेशनको कुरा गर्ने धेरै समय छ ।

नेपाली कांग्रेस कहिले हुन्छ रूपान्तरण ?
यो त समयले बताउँदै जाने कुरा पनि हो । १४औं महाधिवेशनमा हाम्रो समूह पराजित भइसकेपछि संसदीय दलको चुनावमा हामीले खोजेको जस्तो नतिजा आउँछ भन्ने नै होइन । हरेक व्यक्तिको आआफ्नो सोच्न सक्ने क्षमता काम गर्ने शैली र इमान्दारिता हुन्छ । त्यसकारण हस्तक्षेप गर्न सक्नेगरी कतिपय नतिजा नआएको होला । तर आगामी दिनमा पनि यस्तै रहिरहन्छ भन्ने होइन । आगामी दिनमा हामीले अन्य साथीहरूसँग पनि बस्ने छलफल गर्ने र मन जितेर अगाडि बढ्ने कुरामा हामी निरन्तर लाग्छौं । त्यसपछि नेतृत्व लिन हामीलाई धेरै लाग्दै भन्ने लाग्छ मलाई ।

गगन थापाले संसदीय दलको नेता बन्न प्रयास गरिरहन्छु भन्नु भएको छ, पाँच वर्षमा कतिपटक हुन्छ कांग्रेसमा संसदीय दलको नेता छान्ने चुनाव ?
यस्तो होइन । आगामी दिनमा पनि यस्तै भइरहन्छ भन्ने होइन होला नि । अहिले भएको चुनावमा पार्टी सभापति विजयी हुनुभयो, सधैंभरि उहाँ नै रहिरहने त होइन होला नि । त्यो दृष्टिकोणबाट गगन थापाले भनेको जस्तो लाग्छ मलाई ।