देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विदेशी चलखेल झनै बढ्ने भयो 

देशान्तर

नेपाली कांग्रेसका नेता तथा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले अहिलेको संसदीय नतिजाले राजनीतिक निकास नदिने बताएका छन् । गठबन्धन गरेर पनि बहुमत पुग्न नसक्नु दुःखद् कुरा रहेको बताउँदै जोडजाड पारेर सरकार गठन हुँदा दिगो नहुने सम्भावना पनि उत्तिकै रहेको बताए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँगको कुराकानीका क्रममा उपाध्यायले अहिलेको निर्वाचनबाट विदेशी चलखेल गर्ने शक्ति भने उत्साहित भएको बताए । अहिलेको नतिजाले राजनीतिक अस्थिरता निम्त्याउने भएकाले यस विषयमा राजनीतिक नेतृत्वले सजग भएर कदम चाल्नु पर्नेमा जोड दिए । 

समग्रमा आम निर्वाचनको नतिजालाई कसरी विश्लेषण गर्नु भएको छ ?

मलाई व्यक्तिगत रूपमा भन्नुहुन्छ भने अहिलेको यो सत्तारूढ गठबन्धनको पक्षमा थिएन, छैन र रहन्न । नेपाली कांग्रेसमात्रै होइन एमालेले पनि गठबन्धन गरेर गलत गरेको छ । लोकतन्त्रमा नागरिक सर्वोच्चता भन्ने, गोप्य मतदान भन्ने सबै कुरालाई पन्छाएर ‘म्याच फिक्सिङ’ जस्तो गरेर परिणामलाई नै आफ्नो पक्षमा पार्‍यौं, पार्‍यौं भनेर काम छैन । चुनाव अघि बहुमत आउँछ भनेर हल्ला गरेअनुसार काम भएन । यो सिद्धान्त र व्यवहारअनुसार गलत काम भएका छन् । कतै पनि नहुने काम यसपटक नेपालमा भयो, यसको परिणाम दलहरूले भोगे पनि । जनताले पुराना दलहरूलाई नरुचाउँदा अहिले नयाँनयाँ दलहरू जन्मिए । कांग्रेस र एमालेको भोट घट्यो । अझैं पनि नेताहरूमा यो परिणामले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको चलखेल बढ्यो भन्ने हेक्का आएको जस्तो देखिएन ।  भनेको यो चुनावले राजनीतिक सन्देश दिएन भन्ने हो ?

अहिलेको चुनावले कुनै पनि राजनीतिक समाधान दिँदैन ।  त्यो सम्भावना पनि देख्दिनँ म ।  संविधान निर्माण गर्दा जुन दिन हामीले समानुपातिक निर्वाचन प्रणालीलाई अंगीकार गर्‍यौं, त्यही दिनदेखि हामी अन्तर्राष्ट्रिय डिजाइनमा हामी फसिसक्यौं । नेपालमा स्थिरता कहिल्यै हुँदैन । शान्ति र समृद्धिका नाराहरू मात्रै लाग्छन् काम हुँदैन । ‘कोलिसन कल्चर’ बनाउन सकिन्थ्यो, लोकतन्त्रको सबैभन्दा प्राण भनेकै  ‘इथिक्स’ ‘इन्ट्रिगिटी’ ‘मोरल’ जुन हामी झर्रो राजनीति स्खलन हुँदाहुँदा ‘टर्च लाइट’ बालेर खोज्नुपर्ने बेला आइसक्यो । यस्तो अवस्थामा हामीले ‘डेलिभरी’ गर्न अप्ठेरो छ । कुशासन घट्नेभन्दा पनि बढ्ने कुरा मात्रै हुने भयो । हामीले बजेट खर्च गर्न सकेका छैनौं भने परनिर्भरता बढेको बढ्यै छ । अहिले फेरि ठूलो पार्टी भइयो भन्ने धङधङ्गी रहेको छ । अबको संसद्मा ८–१० जना सांसद जता गयो उतै सरकार बन्ने अवस्था आयो । यो स्थितिले त जनतालाई राम्रो सन्देश दिँदैन ।

हामी अहिले २०५१ सालको संसद्मा पुग्यौं, पुग्यौं भन्ने हो ?

पुग्यौं पुग्यौं भन्ने होइन, हामी त २०५१ सालको अवस्थामा पुगिसक्यौं । अब जति पनि विकृति विसंगगिका पराकाष्टा हुनेवाला छ । समाजमा यसले बेचैनी ल्याउनेवाला छ । समयमै हामीले संविधान संशोधनसम्मको हेक्का राखेर अघि बढ्नु पर्ने थियो । दिवंगत भएर गएका नेताहरू त गइसके, अब बाँचेका नेताहरूले गल्ती भएका कुराहरू सुधार गर्नका लागि लागि पर्नुपर्छ । हाम्रा पुर्खाहरू अनपढ भए पनि, प्रविधि नभए पनि इतिहासमा पराधीन हुन दिएनन् । तर हामीले त अहिले देशलाई झन्झन् भड्खालोमा पार्दैछौं । युवाहरूलाई देशप्रति पटक्कै आकर्षण छैन । परनिर्भरता बढेको बढ्यै छ ।  त्यसैले यस्ता कुराहरूमा हामीले एकदमै ध्यान दिएर अघि बढ्ने बेला छ । यसमा हामीले ध्यान दिएनौं भने समयको द्वन्द्वमा पर्नेवाला छौं ।  करेक्सन गर्ने ठाउँ होला नि ?

करेक्सन गर्नका लागि त नेतृत्वसँग आँट साहस चाहियो । नेतृत्वसँग इमान्दारिता चाहिएको छ । त्यो साहस गर्न सक्नु पर्छ । अहिलेको नेतृत्वबाट आशा नगर्ने त ?

त्यो त अहिलेको नेतृत्वले खुबी देखाउन सक्नु पर्छ । संविधान संशोधनको  मार्गचित्र बनाएर त्यसमा जानु पर्‍यो । अहिले पाँच वटा दल असफल भए । चुनाव अघि यी दलले ठूलै कुरा गरेकै हुन् । अर्कोतर्फ केपी शर्मा ओली पनि असफल भएका छन् । अहिलेको अवस्थामा नेपालमा अस्थिरता चाहने शक्ति नै सफल भएको छ । त्यसैले यसबाट जोगाउनका लागि अहिलेको नेतृत्वमा रहने व्यक्तिहरूमा ठूलै आँट र साहस चाहिन्छ । त्यो भनेको संविधान संशोधनसम्मको मार्गचित्रमा इमान्दारिताका साथ जाने हो भने  देशलाई बचाउन र जोगाउन सकिएला होइन भने म त असजिलो अवस्था मात्रै देख्छु ।

संविधान संशोधन कहाँनेर कुन विषयमा गर्ने ?

अन्तर्राष्ट्रिय शक्तिहरूले चाहेको कुरा चाहिँ अझै पनि  कार्यकारी राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्री भएपछि सजिलो हुन्छ कि भन्ने छ । त्यसैगरी उनीहरू आफू अनुकूलको अधिनायकवाद ल्याउन सकिन्छ कि भन्ने उद्देश्य लिएर बसेका छन् । गठबन्धन पनि त्यसैको एउटा उपजको रूपमा लिन सकिन्छ । उनीहरूको उद्देश्य सबैलाई एक ठाउँमा राखेको जस्तो गर्ने कसैको पनि बहुमत पुग्न नदिने र अस्थिर सरकार बनाएर खेल्ने उद्देश्य रहेको प्रष्ट हुँदाहुँदै पनि हाम्रा नेतृत्वहरूले नबुझ्दा अहिलेको अवस्था आएको हो । अलगअलग दर्शन भएका दलहरू आफ्नोआफ्नो घोषणापत्र लिएर चुनावमा जाने अनि न्यूनतम साझा कार्यक्रम बनाएर पाँच वर्षसम्म देश चलाउँछौं भन्ने कुरा त एकादेशको कथा भइसक्यो । पाँच वटा दलले नसक्या ठाउँमा ७/८ वटा दल मिलेर बनाएको सरकार कति दिन चल्ने हो प्रश्न यहाँनेर छ ।

के त्यसो भए अबको नयाँ संसद् पाँच वर्ष चल्दैन ?

चले पनि यसले देशलाई दुर्गतिमै लैजाने हो । जनतामा नैराश्यता नै बढाउने हो । सुशासन दिन सक्दैन । राष्ट्रिय बजेटलाई खर्च गर्न नसक्ने अवस्था छ । यो वा त्यो पार्टी वा पात्रको कुरा होइन यहाँ जो भए पनि खर्च हुन सक्दैन । परनिर्भरता बढेको बढ्यै छ । ऋणभार बढेको बढ्यै छ । यसले गर्दा देश झन्झन् असजिलो अवस्थामा पर्ने बाहेक सजिलो अवस्थामा पर्ने देखिन्न ।  हामीसँगका देशहरू कहाँ पुगिसके हामी किन अहिले पनि यही छौं भन्ने कुराको विश्लेषण गर्नुपर्छ । अब सुधारौं भन्नेले पहिला आफू सुध्रिन जरुरी छ ।

अहिले सरकारको नेतृत्व गर्छु भनेर कांग्रेसभित्र चर्चा चलेका पात्र र अनुहारप्रति तपाईंको टिप्पणी ?

संसदीय राजनीतिको नाङ्गो सत्य के हो भने टाउको गन्ने नै हो । संख्याको कुरा हुन्छ । मूल्यमान्यता, आदर्शको कुरा पनि हुन्छ । राष्ट्रलाई, पार्टीलाई समाजलाई सम्झेर निर्णय गर्ने हो भने केही व्यक्तिहरूले छोड्दा राम्रो नै हुन्छ । त्यो अवस्था मैले देखेको छैन । जसले चुनावमा टिकट बाँड्यो, जसको पार्टी र संगठनमा प्रभाव छ, भोलि गएर उसैको वर्चस्व नै हुने भयो । सबैले दावा गर्न त पाइन्छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पनि सभापति पदमा धेरै उम्मेदवार बनेकै हुन् । धेरै उम्मेदवार हुँदा त्यसको लाभ वर्तमान सभापतिजीलाई भयो । अहिले पनि नतिजा त्यस्तै हो । अहिले जति जना जो संसदीय दलको उम्मेदवार भए पनि  देशमा सुशासन हुनुपर्‍यो, नैतिकता हुनुपर्‍यो,  इमान, नैतिकताको स्खलन होइन, हामीले विश्वासको वातावरण जगाउँछौं भन्ने जनता र युवाहरूले पत्याउने वातावरण बनाउन जरुरी छ ।

अब बन्ने सरकार कांग्रेस, माओवादी वा एकीकृत समाजवादी कस्को नेतृत्वमा होला ?

मूल्यमान्यता आदर्शबिनाको राजनीतिक स्खलनको पराकाष्टा भनेको अहिलको अवस्था हो । सरकार बनाउने हैसियत नै नभएको माओवादी र एकीकृत समाजवादीले माग्ने भन्ने कुरा हुँदैन । फेरि बाध्य भएर उनीहरूलाई सरकार बनाउन दिनुपर्ने यस्तो राजनीति राजनीति नै होइन । यहाँ त माग्नेलाई पनि लाज हुनुपर्ने, दिनुपर्छ भन्नेलाई पनि लाज हुनुपर्ने, तर यहाँ लाजको नाम देख्ने र सुन्ने कुरा त निकै पर भइसक्यो ।

कांग्रेसमा फलानो व्यक्ति बन्नुभन्दा अर्को पार्टीको नेतृत्वमा सरकार बनोस् भन्ने मानसिकता हावी भएको हो ?

त्यस्तो पनि नभन्नुस् । ‘डेमोक्रेसी’ भनेको त ‘रुल अफ ल’ पारदर्शिता, नैतिकता सवै कुरा हो नी । लोकतन्त्रमा आदर्श, मूल्यमान्यता र निष्ठा भएन भने त्यो निष्प्राण हुन्छ । यस्तो अवस्थामा आशा गर्ने ठाउँ हुँदैन । अहिलेको अवस्थामा पहिलो पार्टीले सरकार बनाओस् । उसैले सबैलाई मिलाओस् । यहाँ त पहिला नै अनावश्यक धम्की आउँछ । यसो भएन भने त्यसो हुन्छ भनेर धम्की दिने शक्तिहरूसँग गठजोड गरेपछि जसले सरकारको नेतृत्व गरे पनि समाज उभो लाग्दैन ।  फेरि ७/८ वटा पार्टी मिलेर सरकार बनेपछि कसको कन्ट्रोलमा को रहने भन्ने कुरा हुन्छ । सबै पार्टीबाट सरकारमा नेतृत्व गरेकाहरू आफू आफू नै प्रधानमन्त्री ठान्ने चलन त हामीले यसअघि पनि देखिसकेका छौं ।  त्यसैले अहिलेको अवस्था भनेको कु्शासनको पराकाष्टा हुने देखिन्छ । यो विषयमा समयमै सोचेर जिम्मेवार व्यक्तिहरूले जिम्मेवार तरिकाबाट सोचेर सुधार नगर्ने, आँट साहस नगर्ने हो भने अवस्था असजिलो छ ।

यो निर्वाचनलाई अन्तर्राष्ट्रिय क्षेत्रले कसरी हेरेको छ ?

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको विषयमा अन्तर्राष्ट्रिय क्षेत्र त पूरै दंग छ । नेपालमा अस्थिरता चाहने, नेपाललाई द्वन्द्वको चपेटामा पार्न चाहने र आफ्नो दह्रो उपस्थिति जनाउनको लागि अहिलेको जत्तिको सहज वातावरण कहिल्यै भएको थिएन । त्यसले गर्दा उनीहरू पूरै खुसी छन् ।  संविधान बनाउँदाखेरिदेखिको प्रयत्न थियो त्यो अहिले आएर पूरा भएको छ ।

भारतको चासो ?

अरूलाई दोष दिनुभन्दा पनि  कारक त हामी नै हौ नि । उत्तर दक्षिण पश्चिम जो भए पनि हामीले वातावरण बनाइदिएपछि  कुनै विदेशी आउन पाउँदैन । नभनिकन कसैले भेट्दैन । तर हामी निर्लज्जताका साथमा हामीले  विदेशी चलखेल बढ्यो भन्छौं । बढाउने आफू, निम्त्याउने आफू, अनि अरूलाई दोष दिने । उनीहरूको त काम नै त्यही हो । जस्तो विश्वमा युद्ध भयो भने हतियार निर्माण गर्नेहरूकै फाइदा हुने हो ।

भारतसँगको सम्बन्धका विषयमा कसरी अगाडि बढ्ने ?

भारतसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्नका लागि अहिलेको नेतृत्वमा आँट र साहस चाहिन्छ । विगतमा हामी कहाँकहाँ चुक्यो, अब ती ठाउँमा नचुकौं भन्ने पोजेटिभ भाव आउनु पर्‍यो । यो त आएकै देख्दैन ।

अहिलेको अवस्थामा दार्चुलामा भारतले महाकाली नदी अतिक्रमण गरेर संरचना बनाइरहेको छ । नेपालले भर्खरै मात्र कूटनीतिक नोट पठाएको छ । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

हाम्रो परराष्ट्र मन्त्रालय, परराष्ट्र नीति, सुरक्षा नीतिलाई सुपरिभाषित गरेर राष्ट्रिय सहमतिको एजेन्डा बनाउने, जुन पार्टीको सरकार बने पनि, जो व्यक्ति मन्त्री, प्रधानमन्त्री बने पनि त्यहीअनुसार चल्ने हो भने बल्ल यसको वजन हुने हो । त्यस्तो नेपालमा छैन । विदेशमा त्यस्तो हुँदैन । उनीहरूको नीति भनेको त ५०औं वर्षसम्म चल्ने गरी बनाइएको हुन्छ । अनि उनीहरूसँग हामी प्रतिस्पर्धा गर्नै सक्दैनौं । हामी कुनै घटना भयो भने मात्र एउटा कूटनीतिक नोट फ्यालेको जस्तो गर्छौं । यस्सो जागेको जस्तो गर्छौं । एउटा कूटनीतिक नोट फ्यालेर केही हुनेवाला छैन । यो तत्काल दूतावासका राजदूतलाई बोलाउने प्रष्टीकरण लिने, के भएको हो भन्ने, त्यो एजेन्डालाई प्राथमिकतामा राखेर घचघचाइरहने हो भने बल्ल सीमा विवादका कुरा र अन्य कुराले ठाउँ पाउँछ । नत्र भने त सधैं यस्तै भइरहन्छ ।

त्यसो भए कूटनीतिक नोट भनेको नेपालमा भइरहेका विभिन्न टीकाटिप्पणीलाई आश्वस्त पार्न गरिएको क्षणिक काम हो होइन त ?

गर्ने त त्यही त तर हामी त्यसलाई प्राथमिकतामा ती कुरालाई राख्दैनौं, निरन्तरता दिँदैनौं, त्यसलाई घचघच्याउने काम गर्दैनौं । एक त प्राथमिकतामा नै पर्दैन परिहाले पनि भोलि गएर ती कुरा बिर्सिन्छौं । अनि उसलाई त के मतलव उसलाई त हाइसञ्चो भइहाल्यो नेपालले ती कुरा उठाउने छोड्यो भन्ने हुन्छ चुप लागेर बस्छ ।

अब के हुन्छ ? अबको राजनीतिक कोर्सले ती तमाम समस्याहरू समाधान गर्छ ? 

समग्रमा हामी झन्झन् जटिल अवस्थामा जाँदै छौं । अब मानिस यस्तो प्राणी हो जसले गल्ती भयो भनेर समय मै सचेत भएर सच्चिन सक्छ । सच्चिएन भने समयको दण्डमा पर्नुपर्छ । त्यसमा व्यक्तिपर्छ, राजनीति पर्छ, देश पनि पर्छ ।