देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल्पामा बिहे भोज खाएका ८० जनाभन्दा धेरै बिरामी

देशान्तर

काठमाडौँ – पाल्पामा बिहे भोज खाएका माइतीपक्ष र जन्ती आएकाहरु बिरामी परेका छन् ।

बगनासकाली गाउँपालिका-१ चिर्तुङधारामा बिहे भोज खाएका प्रायस् सबै बिरामी भएका वडाअध्यक्ष शेरबहादुर रानाले जानकारी दिएका छन् ।

भोज खाएका स्थानीय बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा धेरै बिरामी परेका वडाअध्यक्ष रानाको भनाइ छ । गएको १७ गते शनिवार बगनासकाली गाउँपालिका(१, चिर्तुङधारामा रहेको दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेका हुन् ।

जन्ती आएका प्युठानका एकै गाउँका ४५ जनाभन्दा बढी बिरामी परेका जनाइएको छ । भोजमा मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलुमुलाको अचार रहेको थियो । बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिनियर अहेब नोदप्रसाद बस्यालले जानकारी दिए ।

बिरामीहरुलाई औषधि वितरण गरिएको र औषधिले काम नगरेपछि उनीहरु तानसेनका निजी स्वास्थ्य संस्था र मिसन अस्पतालमा पुगेका छन् । मिसन अस्पतालका अनुसार सोमवार हिजो २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना गरेर उपचार गरिएको थियो । उनीहरु खतरामुक्त भएपछि घर फर्किएका छन् ।

७० जनाभन्दा बढी बिरामी स्वास्थ्य चौकी आएका जानकारी दिँदै चिर्तुङधारा स्वास्थ्य चौकीले बिहानैदेखि थप बिरामीको परीक्षण भइरहेको जनाएको छ ।