देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा करेक्सन गर्न जरुरी छ

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद सञ्जय गौतमले अहिलेको अवस्थामा बलियो सरकार बन्ने सम्भावना कम रहेको बताएका छन् । अहिलेको जनादेश सबै मिलेर अघि बढ भन्ने रहेकाले त्यसैअनुसार सत्तारूढ गठबन्धनले गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसलाई पनि सुधार गर्नुपर्नेमा जोड दिएका गौतमले आफूहरूले पहिलो प्रयास संसदीय दलबाट आरम्भ गर्ने पनि बताए । गौतमसँग मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं तेस्रो पटक बर्दियाबाट निर्वाचित हुँदै गर्दा विगतमा के गर्नुभयो अब के गर्नुहुन्छ ?
विगतमा पनि राम्रै गर्ने प्रयास गरेको हो । राजनीतिमा वातावरणहरूमा विभिन्न उतारचढावहरू हुन्छन् । गत संसद्मा मेरो अनुकूलको वातावरण थिएन । नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकार थियो । हामीहरू प्रतिपक्षको रूपमा थियौं । संसद्मा त सकारात्मक उपस्थिति नै थियो तर विकासका कुराहरूलाई हेर्ने हो भने हामीलाई त्यस्तो अवसर थिएन मैले आफ्नो भूमिका निर्वाह गर्ने । अब आशा छ गठबन्धनको सरकार बन्छ । त्यसपछि धेरै कामहरू गर्नेछौं ।

तपाईंले विगतमा राम्रो काम गरेकाले अहिले राम्रो मत पाउनुभएको हो कि गठबन्धनका कारणले चुनाव जित्न भएको हो ?
मैले त राम्रो काम गरेकाले बर्दियाका जनताले मलाई माया गर्नु भएको हो । म आम जनताको मन र मुटुमा छु । सबै जनताले मलाई माया गर्नुहुन्छ । र उनीहरूले मलाई आदर पनि गर्नुहुन्छ । र अवसर पनि दिनुभएको छ । महान् छन् बर्दियाली जनता । म उहाँहरूप्रति धेरै नै आभारी छु । तर मैले पनि सोचेजस्तो र चाहेको जस्तो गर्न भने सकेको छैन । अब यो कालखण्डमा चैं मैले आफूलाई त्यही फोकस गर्ने सोचेको छु ।

के गर्नुहुन्छ बर्दियाका लागि अब तपाईंले ?
धेरै कुरा गर्न बाँकी छ बर्दियामा त केही पनि भएको छैन ।

छोटोमा बताइदिनुस् न त्यस विषयमा

केही पनि भएको थिएन बर्दियामा । जे भयो यो पाँच, सात वर्षको बीचमा भयो । अब यो कालखण्डमा चैं पक्का पनि केही हुन्छ । मेरो जिल्लामा सुकुम्बासीको समस्या छ । उनीहरूलाई लालपुर्जा दिनु पर्नेछ । गुलरियामा नाका खोल्नुपर्नेछ । मालसामान निकास गर्न पाइएको छैन । कर्णालीसम्म पुग्नु पर्नेछ । कर्णालीसम्म पुग्ने बाटो छैन । नदीका तटबन्धका कामहरू अलपत्र परेका छन् । राष्ट्रिय गौरवका योजनाहरू छन् तर तिनीहरूले पूर्णता पाएका छैनन् । बाटोघाटो र कनेक्टिभिटीमा एकदम पछाडि छौं हामी । धेरै कुराहरू गर्नुपर्नेछ बर्दियाको समृद्धिका लागि । हाम्रा युवाहरू सारा बेरोजगार छन् । हामीले अहिलेसम्म जिल्लाको विकासका लागि केही गर्न सकेका छैनौं । राजनीति पनि स्थिर हुन सकेको छैन ।

अबको संसद्ले साँच्चिकै राजनीतिलाई स्थिर बनाउँछ ? अबको संसद्बाट त्यो आशा गर्न सकिन्छ ?
हामीले त्यो कुरा त संविधानमै व्यवस्था गरेका छौं । दुई वर्षको एउटा सरकार बनेपछि त्यसलाई चलाउन पाइँदैन भनेर । अलिकति स्थिर र संवैधानिक प्रावधानले पनि ती कुराहरू राखेको छ । अब सोचेको जस्तो बलियो सरकार त नबन्ने भयो । संसद् त अब अलिकति कमजोर प्रकृतिकै बन्ने भयो । तर पनि जनताको जनादेश हो । जनताले सबै मिलेर जाउँ भनेर सन्देश दिएका छन् । सबै मिलेर अगाडि जानुपर्छ ।

तपाईं गरेको गठबन्धन सफल कि असफल ?

गठबन्धनले जति दिनुपर्ने थियो त्यति चैं दिन सकेन ।

किन, कहाँ रहेछ कमजोरी ?
अहिले अलि बेला भइसकेको छैन म काठमाडौं जान्छु अनि यसमा मूल्यांकन हुन्छ अहिले जिल्लामै छु । मेरा पनि अनुभूतिहरू छन्, मेरा पनि अनुभवहरू छन् । मैले यसलाई भित्रदेखि नै नियालेको छु । म काठमाडौं गएपछि मात्र मैले यो कुरा भन्न सक्छु यहाँ बसेर अहिले नै यस विषयमा केही बोल्न सक्दिनँ ।

अब जिल्लामै बसेर पनि राष्ट्रिय राजनीतिको विषयमा कुराकानी त हुन्छन्, कसको सरकार बन्ने कस्तो सरकार बन्ने भन्ने विषयमा त तपाईंको प्रतिक्रिया होला नि ?
छ किन नहुनु । अब यस्तो छ सरकार बनाउनका लागि हामी पार्टीभित्रै पनि नयाँ सम्भावनाको खोजीमा छौं ।

नयाँ सम्भावना भनेको के हो ? अलि प्रष्ट बनाइदिनुस् न ।
अब नयाँ भन्दैमा कुनै व्यक्ति विशेषको कुरा गर्न मैले चाहिनँ । तर मैले अब यथास्थितिमा मुलुकलाई अगाडि लैजान खोज्यो भने यो मुलुकले थेक्दैन । यो सिस्टमले नै थेक्दैन, डिज्यास्टरमा जान्छ । त्यसैले शासन सत्ता भनेको जनताले महसुस गर्ने खालको हुनुपर्‍यो । केपी ओलीको शासनसत्ता र हाम्रोमा के फरक भयो त भनेर जनताले महसुस गर्नुपर्‍यो ।

पहिले साढे तीन वर्ष कम्युनिस्टको सरकार हुँदा तपाईंहरू प्रतिपक्षमा हुनुभयो पछि कम्युनिस्टहरूको आपसी झगडाका कारण सत्तामा पुग्नुभयो । त्यो साढे तीन वर्ष र तपाईंको सरकारको डेढ वर्ष यसलाई कसरी तुलना गर्ने ?

त्यो साढे तीन वर्ष र यो साढे दुई वर्षमा तात्विक भिन्नता छैन । हामीले खाली संविधानलाई जीवन्तता दिन मात्र सरकार बनाएका थियौं । एउटाले संविधान सिध्याउन खोजेको थियो हामीले त्यसलाई बचायौं भन्ने हो । तर शासन सत्ता सञ्चालन गर्ने क्रममा जनताले कुनै नवीनतम अनुभूति गर्न भने पाएका छैनन् । जनताले नयाँपनको कुनै पनि अनुभव गर्न पाएनन् । जे जे कुरामा हामीले केपी ओलीको विरोध गरेका थियौं त्यसमा सुधार गर्न सकेनौं । हामीले संविधानलाई जोगाउने मात्र काम गर्‍यौं ।

पाँच वर्ष संसद्लाई टिकायौं, पहिलो पटक संसद्ले कार्यकाल पूरा गर्‍यो भन्नेबाहेक बन्न लायक केही काम भएको छ र ?
मैले देखेको त केही भएको छैन । अहिलेको गठबन्धनको काम पनि केभन्दा खेरी आम जनतामा आशाको सञ्चार गराउनु हो । हामीले उनीहरूलाई आशा जगाउन सक्यौं । यो सिस्टमप्रति उनीहरूको माया कायम गर्न सक्यौं । हामीले केही नयाँ कुरा दिन सक्यौं । नयाँ सोचले अगाडि बढ्यौं भने यो सिस्टमप्रति पनि मोह हुन्छ । हामीले बनाएको संविधानप्रति पनि मोह हुन्छ । त्यसको अपनत्व जनताले लिन्छन् । र देश अगाडि जान्छ । होइन हिजो पञ्चायतमा जस्तो चलाइएको थियो, बहुदलमा जस्तो चलाइयो । केपी ओलीले जस्तो चलाएको थियो अब हाम्रो पालामा पनि त्यसरी नै चलाउने हो भने जनतामा घोर निराशा आउँछ ।

अहिले तपाईंकै पार्टीमा मात्र छ–सात जना प्रधानमन्त्रीको दाबेदार छन् । उनीहरू संसदीय दलको नेतामा हामी प्रतिस्पर्धा गर्छौं भनेर हिँड्दै छन् । नेपाली कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्रीको दाबेदार रहन्छ संसदमा, यस्तो अवस्थामा तपाईंहरूबाट जनताले के अपेक्षा गर्ने ?

हामी यथास्थितिबाट अगाडि बढ्न सक्छौं जस्तो मलाई लाग्दैन । तपाईंले जस्तो रूपमा व्याख्या गरे पनि भयो । नयाँ सम्भावनाको खोजीमा हामी हुन्छौं । हामी छौं । हाम्रो प्रयास रहन्छ ।

नयाँ सम्भावना भनेको व्यक्ति हो या प्रवृत्ति ?

यो प्रवृब्किो विरुद्धमा आखिर नेतृत्व त कुनै व्यक्तिले नै गर्छ नि । व्यक्ति विशेषमा टिप्पणी चैं अहिले नगरौं धेरै जना साथीहरू देखिनु भएको छ । म पनि अहिले जिल्लामै छु काठमाडौं पुगेको छैन । मेरै मतदाताको बीचमा छु । खाली अपडेट चैं हामी नयाँ सम्भावनाको खोजीमा छौं भन्नेमा छु ।

अब तपाईंहरूले नयँँ सम्भावनाको खोजी गर्न सक्नु भएन र पुरानै नेतृत्वमै जानुपर्ने भयो भने कांग्रेसको अवस्था के रहन्छ ? अर्को पटकको चुनावमा कस्तो होला ?

हामी त्यता पनि चिन्तित छौं । अब म त ज्योतिषी त होइन तर नयाँ सम्भावनाको खोजी त गर्नुपर्छ । होइन भने हाम्रो पनि भविष्य, मुलुकको भविष्य धरापमा पर्छ । त्यही भएर पुरानोलाई छोडेर नयाँ सम्भावनाको खोजी गर्नुपर्छ ।

अहिलेको संसद्मा जुन किसिमले शक्तिको उदय भएको छ नि यसले के संकेत गर्छ ? तपाईंहरूसँग निराश भएर हो अथवा उहाँहरूले नेतृत्व गर्नुहुन्छ अब नयाँ शक्ति आउँदैछन् भनेर बुझ्ने ?
त्यो चैं हामीहरूप्रतिको निराशा नै हो । हामी जति पनि स्थापित राजनीतिक शक्तिहरू छौं, शान्ति र परिवर्तनको नेतृत्व ग¥यौं, संविधान ल्यायौं । राणासँग लड्यौं, पञ्चायतसँग लड्यौं, राजा फ्याल्यौं, गणतन्त्र ल्यायौं, जनयुद्ध ग¥यौं, सबै खालका शक्तिहरू त छौ नि त । मुलुकमा नेपाली कांग्रेस, नेकपा माओवादी, एमालेलगायतका सम्पूर्ण शत्तिहरूप्रतिको घोर वितृष्णा हो । यो सिस्टमप्रति नै उनीहरूमा वितृष्णा पैदा हुन थालेको छ । यदि हामीले राम्रो सुशासन दिन सकेनौं भने । यो वितृष्णाको रिफ्ल्याक्सन हुन्छ ।

तपाईंकै क्षेत्रमा पनि भर्खरै आएको नागरिक उन्मुक्ति पार्टीले २३ हजार ९ सय ९३ मत पायो । एमालेका लक्ष्मणराज ज्ञवालीलाई २६ हजार १ सय ५५ मत ल्याउनु भयो र तपाईंले ३० हजार ६ सय ११ मत ल्याउनु भयो । यसमा जसरी त्यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको उदय भयो नि त्यसले के संकेत गर्छ ?

नागरिक उन्मुक्तिको त उदयभन्दा पनि पोर्टल हो । यो जातीय विभेदमा गएको छ । यो सेन्टिमेन्टल पोर्टल हो । यसले स्थिरता लिइरहन्छ जस्तो चैं मलाई लाग्दैन । तर के भने जुन किसिमले जबरजस्त तरिकाले पार्टी अगाडि आएका छन् । जबरजस्त तरिकाले दस्तखत दिएका छन् । त्यसबाट राजनीतिक दलहरूले के बुझ्नुपर्छ भने जनताले रियाक्ट गरिरहेका छन् भन्ने बुझ्नुपर्छ । त्यसलाई हामीले नकारात्मक तरिकाले लिनु हुँदैन । मैले त यसलाई एकदमै सकारात्मक रूपमा लिएको छु । र मलाई के लागेको छ भने । अब हामी सत्तामा भएका राष्ट्रिय दलहरूले यो बुझ्नुपर्छ कि जनता अब हामीसँग छैन है । हामीसँग निराश छन् है, यो हामीलाई आखिरी चेतावनी दिएको हो । तिमीहरू सुध्र, यो परम्परागत तवरले चलाएर हुँदैन । तिमीहरूले हाम्रो भावना बुझेनौं भने अगाडि बढ्न कठिनाइ हुन्छ भनेर सावधान गराएका हुन् । उनीहरूलाई धन्यवाद छ । उनीहरूले यति सावधानी गर्दा पनि हाम्रा नेताहरूले र हामीले बुझनौं भने मुलुकका लागि त्यो दुर्भाग्यपूर्ण हुन्छ ।

त्यसो भए अब तपाईंहरूले के गर्ने त ? अब हामी ५०–५१ सालतिरको संसद्मा प्रवेश गर्दैैछौं भन्ने एक खालको टिप्पणी हुन थालेको छ नि ?
होइन, एकदम होइन । उनीहरूले जुन कुराका लागि यी नयाँ राजनीतिक दलहरू अस्तित्वमा आए उनीहरू केही नयाँ कुराका लागि आए नि उनीहरू पनि अब केही अन्डस्ट्यान्डिङमा आउनुपर्छ । र हामीले पनि आफूलाई संशोधन गर्नुपर्छ । हामी सबै मिलेर गर्ने हो । हामी सबै मिलेर एउटा नयाँ सम्भावनाको खोजी गर्ने हो । र मुलुकलाई अगाडि बढाउने हो ।

होइन भने उनीहरू पनि यही ढर्रामा गए भने त उनीहरूको पनि भोलिको हालत यस्तै हो । उनीहरू पनि आफ्नो अस्तित्व र भविष्यका लागि सकारात्मक हुनुपर्छ । र हामीले पनि यो अवस्थालाई मनिटर गर्नुपर्छ । र सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।

यो गठबन्धनबाट सरकार बन्दा कांग्रेसकै हो कि माओवादीको हो ? अनि चुनाव अघि यो गठबन्धन लामो समयसम्म जान्छ भन्नेहरूमध्ये केही अहिले वाम गठबन्धन गर्ने हो कि भन्नेतिर नि लागेका छन् नि ?

यो गठबन्धनको स्प्रिडलाई त हामीले ख्याल गर्नुपर्छ । राजनीतिक दलको आन्तरिक जीवनमा यत्रो ठूलो विद्रोहहरू आउँछ, पार्टी फुट्छ, बिग्रन्छ भने पार्टीहरूले बनाएको गठबन्धनले लामो यात्रा तय गरोस् भन्ने चाहना हो । धेरै आरोह अवरोहहरू हुन्छन् । हामीले हाम्रो घर नै सपार्न सकेका छैनौं । मलाई नै हेर्नुस् न रुख चिह्नबाट चुनाव लडिरहेको थिए तर कांग्रेससँगै प्रतिस्पर्धा गर्नुपर्‍यो । यस्तो छ पार्टीभित्रको हालत । यो परिवेशमा गठबन्धनले त्यति निरन्तरता पाउँछ भन्ने कुरामा त म त्यति विश्वस्त छैन । तर के भने हामी जसले गठबन्धनबाट चुनाव लड्यौं, त्यो गठबन्धनको स्प्रिड र भावनालाई चैं बुझ्नुपर्छ । मतलाई कदर गर्न सक्नुपर्छ । मेरो क्षेत्रमा मैले जित्दै गर्दा समाजवादीका साथीहरूको प्रचुर सहयोग मिल्यो मैले त्यसलाई म्यानेज गर्न पनि सकें ।

तर बर्दियामा के भयो भने कांग्रेसका उम्मेदवारले जित्दा माओवादीले किन हार्ने भन्ने कुरा नि आयो नि ?

त्यो त राजनीतिमा हरेक खालका कुराहरू हुन्छन् । टीकाटिप्पणी हुन्छ । सबैभन्दा ठूलो कुरा भनेको कांग्रेसको संगठनभित्र पनि धेरै ठूलो मतभेदहरू देखियो । हाम्रो पार्टीको नि इम्प्याक्ट देखिएन । माओवादीको संगठनभित्र पनि धेरै ठूलो मतभेद देखियो । काठमाडौंमा बस्ने नेताहरूलाई के लाग्यो भने मैले बोलेपछि सबै कुरा हुन्छ जस्तो लाग्यो तर जिल्लामा टोटल त्यसको प्रतिकूल भयो । अनि हार्ने र जित्ने भन्ने कुरामा म जनतासँग प्रत्यक्ष जोडिएको भएर र अन्तर सम्बन्धका कारणले गर्दा म बाँचे । होइन भने पार्टी संगठनकै भरमा उठेको हुन्थे भने मलाई पनि गाह्रो थियो ।

त्यसो भए अब पार्टी कसरी सुधार्ने ?
यसको करेक्सन गर्ने कुरा चैं संसदीय दलमा गर्छौं सबैभन्दा पहिला । त्यसपछि हामी १५ औं अधिवेशनमा गर्ने हो । हाम्रो कोसिस रहन्छ । हामीले हिजो पनि कोसिस गरेका हौं । तपाईं के बुझ्नुस् भने नेपाली कांग्रेसभित्र पनि एउटा यस्तो एउटा विचार समूह छ जसले अहिलेको यो ट्रेन्डलाई बुझेको छ । र नयाँ सम्भावनाबाट मुलुकलाई अगाडि बढाउनुपर्छ भन्ने चाहन्छ ।

तर अहिले बजारमा के पनि भनिन्छ भने अहिलेको जुन खालको ढर्रा छ त्यही खालको कुरामा कांग्रेस अगाडि बढ्ने हो परिवर्तन नहुने हो भने सिंगो पार्टी नै नरहन सक्छन, त्यस्तो सम्भावना हो ?
अहिले त्यो स्थितिमा पुगेको छ भनेर त नभनौं । म एक, डेढ महिनादेखि चुनावमा नै व्यस्त थिएँ । म राष्ट्रिय राजनीतिमा त्यति साह्रो अपडेट हुन पाएको छैन । त्यसैले बजारमा के भइरहेको छ थाहा पाउन सकेको छैन । तर देशभर कतिपय ठाउँमा रियाक्सनहरू भने आइरहेका छन् । साथीहरू सन्तुष्ट त देखिनुहुन्न । अहिले त्यो ढंगले त हामीले सोचेका छैनौं । हामीले १५ औं अधिवेशनलाई नै टार्गेट गरेका छौं । राजनीति हो सम्भावनाको खेलहरू जीवित हुन्छन् ।