काठमाडौँ – ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभरु को काम सुरु हुने भएको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी आउँदो शुक्रवार फ्लाइओभरु को कामको उद्घाटन हुने सडक विभागले जनाएको छ ।
१७ करोड ६८ लाख रुपैयाँ लागतमा आरसी, समानान्तर र रेलिग्रे जेभीले फ्लाइओभर निर्माणको जिम्मेवारी पाएका छन् । गएको वर्षको माघमा ठेक्का पाएका कम्पनीले फागुनदेखि डिजाइन गरिरहेका थिए । डिजाइन र पूर्वतयारीका काम सकिएकाले अब काम सुरु हुने विभागले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाइओभरको उचाइ छ मिटरको हुने छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चक्रपथको विस्तारित खण्ड कोटेश्वरबाट कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा फ्लाइओभर निर्माण गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ग्वार्कोमा काम सुरु गर्न लागेको जानकारी दिए ।
सबै प्रकारका गाडी आवतजावत हुन सक्ने यो फ्लाइओभर चार लेनको हुनेछ । निर्माण भइसकेपछि यस चोकमा चक्रपथका गाडी फ्लाइओभर भएर आवतजावत गर्नेछन् भने पाटन र इमाडोल आउजाउ गर्ने गाडी फ्लाइओभर मुनिबाट चल्नेछन् ।
फ्लाइओभरको लम्बाइ चार सय ५५ मिटरको हुनेछ ।
प्रतिक्रिया