देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोह्र वर्षदेखि झुपडीको वास

देशान्तर

काठमाडौं – खोला छेउमै देखिने झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो ।

अवरोधभित्र सिरेटो छिर्छ तर, राप्ती गाउँपालिका–५ भुल्केखोला निवासी ७८ वर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको वर्षौं भयो। उनलाई त्यस्ता सिरोटो खप्ने बानी नै परिसकेको छ । “२०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”, उनले भने, “त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।” उनले त्यो छाप्रोमा १६ वर्ष बिताइसकेका छन्।

जस्तापाताका लागि निवेदन दिएको जनाउँदै जस्ता आएपछि छाना बनाउने उनले बताए। “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइ त राछ, क्यारे । टिन मिले छ भने गर्नुपर्ला”, उनले भने, “झन्झट छ । भताभुङ्ग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।”

उनका दुई छोरा छन् तर, दुवै छोरा छुट्टै बस्छन् । कहिलेकाहीँ जेठा छोराकामा गएर बस्ने गरेको भए पनि प्रायः त्यही छाप्रोमा उनको बास हुन्छ । त्यो छाप्रोलाई पनि उनले दुई तले बनाएका छन् । तल खाना पकाउने र माथि सुत्ने बनाएका छन्। उनकी श्रीमती बितेको पनि धेरै वर्ष भयो । उनी अहिले त्यही छाप्रोमा एक्लै जीवन बिताइरहेका छन्।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यो घरमा टिन उपलब्ध गराउने बताएका छन्। उनले अहिले त्यो घरबाट भित्र हावा छिर्ने र छिद्रा–छिद्रा परेकाले त्यसलाई पनि टालटुल पारिदिने बताए। “बास पनि आधारभूत कुरा हो”, उनले भने, “हाम्रो पालिकाभित्रका कोही पनि नागरिक झुप्रोमा वास बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, हामी त्यो अभियानमै छौँ ।”