देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नेपाल फेष्टिभल ब्रिसबेनमा १० हजार दर्शक सहभागी हुने अपेक्षा ’

देशान्तर

अष्ट्रेलियाको क्वीन्सल्याण्डको ब्रिसबेनमा आगामी नोभेम्बर १३ तारिख नेपाल फेष्टिभलको आयोजना हुँदैछ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कुनैपनि ठूलाखाले सार्वजनिक कार्यक्रमहरु नभइरहेको सन्दर्भमा आयोजना गरिने नेपाल फेष्टिभलले नेपाली समूदायको मात्र नभई ब्रिसबेनको स्थानीय अष्ट्रेलियन समूदायलाई समेत आकर्षित गरेको छ ।

 यसअघिका नेपाल फेष्टिभलहरुको अनुभवबाट थप परिस्कृत गर्दै यस पटक नेपाल फेष्टिभललाई दर्शकसामू पस्कने तयारी एनआरएन क्वीन्सल्याण्डको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष एवं क्वीन्सल्याण्ड संयोजक विनोदभक्त आचार्यले नेपाल फेष्टिभलको सम्पूर्ण तयारी पूरा भएको बताए।

नेपाल फेष्टिभलको सेरोफेरोमा रहेर गरेको कुराकानीका सम्पादित अंश –

नेपाल फेष्टिभल दुई वर्षको अन्तरालपछि ब्रिसबेनमा आयोजना हुँदैछ । तयारी कहाँ पुगेको छ ?

तपाइको लोकप्रिय पत्रिका मार्फत नेपाल फेस्टिवल सम्बन्धि गतिबिधि समेटी जसरि समाचार सम्प्रेसण गरिरहनु भएको छ, म लगायत नेपाल फेस्टिवल ब्रिसबेन ब्यबस्थापन समिति यहाहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं। नेपाल फेस्टिवललाई भब्य रुपमा सफल बनाउन हामीले विभिन्न समिति र उपसमितिहरु गठन गरी धमाधम काम गरिराखेका छौं। कार्यक्रममा आउनुहुने सबै अतिथिहरूलाई निमंत्रणा गइसकेको छ। तल उल्लेखित अतिथिहरुले कार्यक्रममा हाम्रो निमंत्रणालाई स्वीकार समेत गरिसक्नु भएको छ:

  1. Hon. Steven Miles, Deputy Premier and Minister for State Development, Infrastructure, Local Government and Planning and Minister Assisting the Premier on Olympics Infrastructure in Queensland
  2. Hon. Kailash Raj Pokharel, Nepal’s Ambassador to Australia
  3. अतिथिको रुपमा ब्रिसबेनबाट संघिय एम.पी. मा. Stephen Bates
  4. अतिथिको रुपमा ब्रिसबेन सिटी काउन्सिल सदस्य Vicki Howard
  5. अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष्य डा. बद्रि के सी
  6. गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष्य नन्द गुरुङ लगायत विभिन्न राज्य समन्वय समितीका संयोजक तथा प्रतिनिधिहरू
  7. क्विन्सल्याण्ड राज्यमा रहनु हुने बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरू
  8. क्विन्सल्याण्ड राज्यमा रहनु हुने नेपाली संघ संस्थाका  प्रतिनिधिहरू

कार्यक्रमको महत्वपूर्ण आकर्षण नेपालको बिबिध संस्कृतिक झल्को दिने नेपाल परेडको तयारी अन्तिम चरणमा पुगेको छ। नेपाललाई चिनाउने नेपाल हाउसको तयारी पनि अन्तिम चरणमा पुगेको छ। त्यसैगरी विभिन्न संस्कृतिक नाचगानहरुको लागि तयारी पनि भैराखेको छ। लोकप्रिय कलाकार दिपक बज्राचार्य एबम रिदम ब्याण्ड र लोकप्रिय गायक प्रकाश सपूतले प्रस्तुति गर्नका लागि सबै तयारी पुरा भएको छ। समग्रमा नेपाल फेस्टिवल भब्य रुपमा मनाउन तयारी अन्तिम चरणमा पुगेको छ।

ब्रिसबेनसहित पूरै क्वीन्सल्याण्डमा नेपाल फेष्टिभललाई लिएर कस्तो उत्साह पाउनुभएको छ ?

ब्रिसबेनमा रहनु भएका सम्पूर्ण नेपाली संघ संस्थाहरू र प्राय सम्पूर्ण सक्रिय नेपाली सदस्यहरूले सक्रियताका साथमा एउटा एउटा जिम्मेबारी लिएर नेपाल फेस्टिवल सफल बनाउनको लागि अहोरात्र खटिरहनु भयको छ। ब्रिसबेन लगायत आसपास रहनु हुने नेपाली समुदाय नोवेम्बर १३ को लागि ब्यग्र प्रतिक्षारत रहेको पाएका छौं।

ब्रिसबेनको व्यवसायिक संघसंस्थाको सक्रियता र संलग्नता कस्तो छ नेपाल फेष्टिभलमा ?

ब्रिसबेन र आसपासमा रहेका प्राय सबै ब्यबसायिक संघ संस्थाहरूले नेपाल फेस्टिवललाई ब्यबसायिक प्रयोजन गर्नु भएको छ। यसका अतिरिक्त उहाहरू हाम्रो नेपाली समुदाय भित्रका सक्रिय सदस्य पनि हुनु भएको हुनाले व्यक्तिगत रुपमा समेत उहाँहरूको सक्रिय सहभागिता रहेको छ।

यसैगरी यहाँको पुरानो नेपाली संस्था नेप्लिज एस्सोसियसन अफ क्विन्सल्याण्ड (NAQ), Queensland Nepalese Cultural Centre (QNCC) लगाएत अन्य संघ संस्थाहरूको पनि सक्रिय सहयोग र सहभागिता रहेको छ।

नेपाल फेष्टिभल विगतमा पनि भएको थियो के फरक हुने अपेक्षा छ ? यसमा कस्ताखाले कार्यक्रम समावेश छन् ? दिनभर के के हुनेछ ?

ब्रिस्बेनमा नेपाल फेस्टिवल बिगतमा ४ पटक आयोजना भैसकेको छ। यो पाँचौ नेपाल फेस्टिवल हो। एन आर एनले अस्ट्रेलियामा नेपाल र नेपाली संस्कृति चिनाउनका लागि गरिने निरन्तर कार्यक्रम भएको हुनाले धेरै जसो कार्यक्रमहरु पहिलेको जस्तै निरन्तर नै हुनेछन। तर हरेक पटक पहिलेको भन्दा परिस्कृत र ब्यबस्थित रुपमा आयोजना गर्न निरन्तर प्रयासरत छौं।

नेपाल फेस्टिवल ब्रिसबेनमा देहाय बमोजिमका कार्यक्रमहरू समाबेश हुनेछन्:

  • बिहान १० बजे देखि १२ बजे सम्म (नेपाल परेड): विभिन्न जनजातिहरूको भेषभुषामा सुसज्जित भएर कुमारी, लाखे, झाँक्री लगायत विभिन्न बाजा र नाचहरू सहित नेपालको संस्कृतिक विबिधता झल्काउने गरी ब्रिसबेन शहरको निश्चित भूभागमा परिक्रमा गरिनेछ।
  • दिउसो १२ बजे देखि ३ बजे सम्म (औपचारिक कार्यक्रम): विभिन्न पाहुनाहरूको उपस्थितिमा औपचारिक कार्यक्रम संचालन गरिनेछ।
  • दिउसो ३ बजे देखि बेलुका ५ बजे सम्म (स्थानीय कलाकारहरूको कला प्रस्तुति): नाचगान, गीत संगीत
  • बेलुका ५ बजे देखि साँझ १० सम्म (गेस्ट पर्फर्मेस): नेपालबाट आउनुहुने कलाकारहरू (दिपक बज्राचार्य एबम रिदमब्याण्ड र लोकगायक प्रकाश सपूत) द्वारा सांगीतिक प्रस्तुति।

अतिथिको रुपमा कार्यक्रममा हामीले कसलाई निमन्त्रणा गरेका छौं ? कति दर्शक सहभागी हुने अपेक्षा छ ?

हालसम्म नेपाल फेस्टिवलका  लागि देहाय बमोजिमका अतिथीहरूले आफ्नो उपस्थितिको लागि हाम्रो औपचारिक निमन्त्रणालाई स्वीकार गरिसक्नु भएको छ:

  1. प्रमुख अतिथिको रुपमा क्विन्सल्याण्ड राज्यका डेपुटी प्रिमियर तथा State Development, Infrastructure, Local Government and Planning मन्त्री मा. Steven Miles
  2. बिशेष अतिथिको रुपमा अस्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम श्री कैलाश राज पोखरेल
  3. अतिथिको रुपमा ब्रिसबेनबाट संघिय एम.पी. मा. Stephen Bates
  4. अतिथिको रुपमा ब्रिसबेन सिटी काउन्सिल सदस्य Vicki Howard
  5. अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका अध्यक्ष्य डा. बद्रि के सी
  6. क्विन्सल्याण्ड राज्यमा रहनु हुने बहुसांस्कृतिक समुदायका प्रतिनिधिहरु
  7. गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष्य नन्द गुरुङ लगायत विभिन्न राज्य समन्वय समितीका संयोजक तथा प्रतिनिधिहरु।
  8. क्विन्सल्याण्ड राज्यमा रहनु हुने नेपाली संघ संस्थाका प्रतिनिधिहरु

नेपाल फेष्टिभल अघि हुने परेडको तयारीबारे बताइदिनुस् न । सहभागीहरु कहाँ जम्मा हुने हो ?

नेपाल परेडका लागि गैर आवासीय नेपाली संघ, क्विन्सल्याण्ड राज्य समितिका उपसंयोजक शम्भु घैशेको संयोजकत्वमा एउटा छुट्टै समिति गठन गरिएको छ। नेपाल परेडलाई बिगतका समयमा भन्दा अझ परिस्कृत रुपमा प्रस्तुत गर्नका लागि उक्त समितिमा विभिन्न जनजातिहरुको प्रतिनिधिहरू र सम्बन्धित बिज्ञहरु समाबेश हुनुहुन्छ। बिशेष गरी सुरेश श्रेष्ठ, कमल गुरुङ, अनिता आले मगर, देवकला श्रीषहरूको समूहले अहोरात्र रुपमा खटिरहनु भएको छ।

नोवेम्बेर १३ आइतबारको दिनमा बिहान ९ बजे भित्रमा ब्रिसबेनको किंग जर्ज स्क्वाएरमा आफ्नो मौलिक भेषभुषामा सज्जिएर भेला भैदिनु हुन् अनुरोध गर्दछौं।

नेपाल फेष्टिभल गर्नुको उद्देश्य नेपाल र नेपालीको प्रबद्र्धन हो । यस कार्यमा टेवा पुग्ने हिसाबले के के कार्यक्रम हुनेछन् ? अन्यत्रको नेपाल फेष्टिभलभन्दा फरक के गरिनेछ ?

अवस्य पनि नेपाल फेस्टिवल हामी सबैका लागि सुनौलो अवसर हो। यो अवसर संस्कृतिक झाँकी, बहुसांस्कृतिक समुदायलाई झल्काउने भेषभूषा, गीतसंगीत, नाच, एबम् नेपाली खानाको माध्यमबाट हाम्रो कला र संस्कृतिलाई बिश्व सामु र हाम्रो आफ्नै दोस्रो पुस्तालाई चिनाउने हो। यसैगरी हाम्रा कला, भेषभुषाहहरूको प्रदर्शनले नेपालका बारेमा जान्ने वा जान्न खोज्नेहरूलाई सहयोग गर्दै नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने र पर्यटकहरूलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि यस कार्यक्रमले राखेको छ।

अष्ट्रेलियावासी नेपालीलाई तपाईंको केही सन्देश छ कि ?

आउनुहोस् तपाईको एक दिन मातृभूमीका लागि छुट्याऊँ। तपाईको सहभागिताले यो कार्यक्रम अझै भब्य बन्न सक्नेछ। प्रत्येक दुई बर्षमा हुने यो महापर्बमा सहभागी बनौ। आफू आउंदा कम्तिमा एक जना स्वदेशी वा बिदेशी साथीलाई पनि संगै साथमा लिएर आऊँ।