देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर संवाद

एमालेविरुद्धको हाम्रो विद्रोह सही थियो 

देशान्तर

सत्तारूढ गठबन्धनको एक घटक एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले विगतमा केपी ओलीका कारण एमालेबाट विद्रोह गर्नु परेको बताउँदै त्यो विद्रोह सही सावित भएको बताएका छन् । दुईदुई पटक संसद् विघटन गरेर संविधानमाथि प्रहार गरेका कारण नै एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरिएको बताए । एकीकृत समाजवादी पार्टी गठनसँगै अहिलेको गठबन्धन पनि निर्माण भएकाले यो गठबन्धन संविधान रक्षाका लागि सफल भएको बताए । वर्तमान गठबन्धन स्थिर सरकार निर्माणका लागि आउँदो चुनावमा जाने र जनजीविकाका सवालमा काम गर्ने पनि ज्वालाले बताए । देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै ज्वालाले अहिले पनि सिट बाँडफाँटको काम चलिरहेको बताउँदै सबैले धेरै दाबी गर्दा सहमति जुट्न नसकेको स्वीकार गरे । गठबन्धनले चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै उनले आफू सल्यानबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने पनि बताए । ज्वालासँग गरिएको कुराकानीको सम्पादित अंश :-

एकीकृत समाजवादीको चुनावी तयारी कस्तो छ ?
चुनाव आउन ३ महिना बाँकी छ । मंसिर ४ गतेको आम निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने निर्वाचन आयोगले कार्यतालिका प्रकाशित पनि गरिसकेको छ । चुनावका लागि अन्य राजनीतिक दलहरूजस्तै हाम्रो पार्टी एकीकृत समाजवादी पनि जुटिरहेको छ । अहिले हामी समानुपातिकको सूची तयार पार्नेदेखि घोषणापत्र बनाउनेसम्मका काममा केन्द्रित छौं । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र संघ र प्रदेशका समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउँछौं ।साथै प्रत्यक्षतर्फका उम्मेदवारको चयन गर्ने र निर्वाचनको अभियान अघि बढाउँदै गएका छौं ।

तपाईंहरूको पार्टी नयाँ भएकाले घोषणापत्र कस्तो आउँछ भन्ने चासो पनि छ ?
घोषणापत्रमा छुट्टै अलग्गै विषय लेख्नेभन्दा पनि हामीले हाम्रो पार्टी पुनर्गठन गर्दाखेरि राजनीतिक रूपमा र राष्ट्रको आर्थिक, सामाजिक परिवर्तनका निम्ति जे संकल्प गरेका छौं, र हिजो स्थानीय तहको निर्वाचनमा या २०७४ को निर्वाचनमा गरेको प्रतिबद्धताहरूलाई पुनः जनताका बीचमा दोहोर्‍याउने र कतिपय नयाँ इस्यु नयाँ एजेन्डाहरूजनताको बीचमा पुर्‍याउनु पर्नेछ, ती विषयहरूलाई सम्बोधन गरेर घोषणापत्र तयार गर्दैछौं ।

तपाईंहरूले जुन उद्देश्य लिएर एमालेबाट विद्रोह गर्नुभएको थियो, त्यो उद्देश्य पूरा भएको हो ?
हामी जसरी एमालेबाट हामीले प्रतिगमनका विरुद्धमा विद्रोह गर्‍यौं । राजनीतिक रूपमा जनआन्दोलन र जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूमाथि जुन प्रहार हुने काम भएको थियो, जसरी व्यवस्था र संविधानमाथि केपी ओलीले पटकपटक प्रहार गरेपछि त्यसका विरुद्धमा प्रतिगमनका विरुद्धमा  विद्रोह गर्दै आन्दोलनमा गएका थियौं । हामीले आन्दोलनमार्फत त्यो प्रतिगमनलाई पराजित गरेर संविधानलाई सही बाटोमा ल्याएका छौं । त्यस हिसाबले हाम्रो विद्रोहको औचित्य पुष्टि हुन जान्छ । त्यसैगरी कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीकाविरुद्धमा जसरी घात हुने काम भएको थियो र दक्षिणपन्थी अवसरवादका विरुद्धमा जुन संघर्ष गर्दै आएका थियौं र दक्षिणपन्थी अवसरवाद र कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनका विरुद्धमा भएका क्रियाकलापकाविरुद्धमा हामीले जुन विद्रोह गरेका थियौं त्यो औचित्यपूर्ण र सही थियो र छ  ।

तपाईंहरूकै विद्रोहका कारण नेपालको कम्युनिस्ट आन्दोलन कमजोर भयो पनि भन्छन् त ?
आरोप त जसले जसलाई जे लगाए पनि हुन्छ । जसरी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै हामी राष्ट्र, राष्ट्रियता, जनजीविकाको निम्ति अगाडि बढ्दै थियौं, कम्युनिस्ट आन्दोलन सुदृढ बन्दै थियो, कम्युनिस्ट पार्टीले संसद्मा करिबकरिब दुई तिहाइ बहुमत पनि ल्याएको थियो । दुई तिहाइ बहुमतको सरकार पनि बनाएका थियौं । पाँच वर्ष हामीले जनताकोबीचमा राम्रो काम गर्न सक्ने अवसर थियो । समाजवादका आधारहरू निर्माण गर्न सक्ने मौका थियो, त्यो सबै अवसर र सम्भावनालाई क्षत्विक्षत बनाउने हामीले गरेनौं ।

तपाईंहरूले काम पनि त गर्न दिनु भएन ?
काम गर्न हामीले रोकेका थिएनौं ।सरकार निर्माण भएको थियो, प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो । उहाँनै पार्टीको शीर्ष नेतृत्वमा पनि हुनुहुन्थ्यो । पार्टीलाई ठीक ढंगले चलाउने र सरकारलाई जनता राष्ट्रको पक्षमा, परिवर्तन र रूपान्तरणको पक्षमा सरकारलाई उपयोग गर्ने कुराको निम्ति कोही कसैले रोकेको थिएन । हामीले त्यही काम गर भनेर निरन्तर दबाब दियौं खबरदारी गर्‍यौं । त्यो भएन, सरकार उल्टो बाटो हिँड्यो, एकातिर पार्टी ध्वस्त बनाउने र सरकारले पनि जनताको पक्षमा काम नगर्ने ढंगले जाँदाखेरि हामी बाध्य भएर कदम चालेका हौं । त्यतिबेला हामीले ओलीले जे गरे गर्नुहुन्छ भनेर आत्मसमर्पण गर्नु पर्ने थियो, कि भने हामीले विद्रोह गर्नुपर्ने थियो । हामीले कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनका साथै संविधान र अहिलेको व्यवस्था जोगाउनका लागि विद्रोहलाई रोज्यौं र त्यसमा हामी सफल पनि भयौं ।

तपाईंहरू जोगाउन भन्नुहुन्छ, एमालेले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्नका लागि भन्छ ?
कसले के भन्छ भन्दा पनि घटनाक्रमले के कुराहरू पुष्टि हुँदै गयो भन्ने कुरा होला नि। घटनाक्रमहरूले सवै कुरा त प्रष्टरूपले देखाउँदै आएको छ ।
एकीकृत समाजवादीले चुनावमा कति सिटमा उम्मेदवार उठाउँदै छ ?
देशभर संघीय संसद्तर्फ प्रत्यक्ष निर्वाचित हुने प्रणालीमा १६५ सिट र प्रदेशको ३३० सिट छ । ती सवै सिटहरूका निम्ति र समानुपातिकका निम्तिसबै निर्वाचन क्षेत्र, जिल्ला, प्रदेशबाट उम्मेदवारको सिफारिस गराएर पनि आइसकेको छ । समानुपातिकका निम्ति त हामीले हाम्रो पार्टीका तर्फबाट संघमा ११० जना र प्रदेशमा २२० जनाको तयारी गरिसकेका छौं । हामी त्यसैअनुसार बढ्दै छौं । जहाँसम्म प्रत्यक्षको कुरा छ, पाँच दलकोबीचमा गठबन्धन छ, गठबन्धनकाबीचमा छलफल पनि भइरहेको छ । संघीय संसद्को १६५ मध्ये १०० सिटमा सहमति पनि गरिसकेका छौं । यस्तो अवस्थामा प्रत्यक्षमा गठबन्धनको सहमतिअनुसार हाम्रो पार्टीको भागमा पर्ने सिटमा हामीले उम्मेदवार बनाउँछौं । यद्यपि हामी सबै सिटको निम्ति तयार पनि छौं ।

त्यो भन्या संख्या कति ?
अहिले पनि संख्याको विषयमा छलफल चलिरहेको छ । हामीले गठबन्धनको बैठकमा संघीय संसद्को ४० सिट दाबी गरेका छौं । त्यसमा तलमाथि हुने कुरा होला । कांग्रेस, माओवादी, जसपा सबैको दावी त अलिकति बढी नै हुने भयो । अहिले संख्याका विषयमा सबैका कारणले सहमति भएको छैन । सबै सहमत भए भने टुंगो लाग्छ । सहमति गर्दा संख्या र निर्वाचन क्षेत्रको हकमा पनि कम्प्रमाइज गर्नु पर्नेछ । करिब १०० सिटमा एकल दाबी भयो ।  एकल दाबी भनेको टुंगिएको अवस्था हो । कतिपय क्षेत्रमा दुई पार्टीको मात्रै दाबी छ । दुई पार्टीको दाबी भएको क्षेत्रमा दुई पार्टीकाबीचमा पनि छलफल गरिरहेका छौं । कुनै कुनै निर्वाचन क्षेत्रमा तीन पार्टीका दाबी छ । कतिपय निर्वाचन क्षेत्र मिलाउन पनि पर्नेछ । त्यसकारणले हामी सिट बाँडफाँटको सहमतिको अन्तिम अवस्थामा छौं ।

तपाईंले सहमतिको अन्तिम अवस्थामा भन्नुहुन्छ, कतिले त फेरि अझैं पनि गठबन्धनको टुंगो छैन, बरु वाम गठबन्धन बन्छ भन्छन्, सम्भावना छ ?
अहिलेको वाम लोकतान्त्रिक गठबन्धन धेरै अगाडि बढी सकेको छ । अहिलेको गठबन्धनले प्रतिगमनकाविरुद्धमा सँगसँगै आन्दोलन गरेका थियौं । प्रतिगमनलाई पराजित गरेर सरकार बनायौं, राष्ट्रियसभाको निर्वाचन सँगै लड्यौं,  स्थानीय तहको निर्वाचनमा एक खालको तालमेल गर्‍यौं । अहिले पनि हामी गठबन्धनमा छौं । त्यस हिसाबले अहिलेको अवस्थामा वाम लोकतान्त्रिक गठबन्धन नै अघि बढ्छ ।

तपाईं कहाँबाट, संघ कि प्रदेश ?
म हाम्रो पार्टीबाट सल्यानको प्रतिनिधिसभाको उम्मेदवार बन्छु, साथीहरूले मलाई अहिले सिफारिस गर्नुभएको छ ।

यसअघि प्रदेशमा हुनुुहुन्थ्यो, यस पटक किन केन्द्रमा आकांक्षा देखाउनुभयो ?
एकै ठाउँमा दोहोर्‍याउनु पर्छ भन्ने पनि छैन । म एक पटक प्रदेशसभामा गएर काम गरिसकेकाले अहिले केन्द्रमा आउन खोजेको हुँ । पहिला पनि त प्रदेश संरचना नहुँदा सांसद भएको थिएँ ।  म जहाँ भए पनि राष्ट्र र जनताका निम्ति गर्न सकिने योगदान गर्ने हो ।

तपाईंका एजेन्डाहरू के के हुन् ?
आम एजेन्डाहरू देशभरका एकै नै छन् । राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनको सबालमा सबैका एजेन्डा एउटै हुन्छन् । खासगरी म सल्यानबाट प्रतिनिधिसभा, संविधानसभा रहँदामा र पछिल्लो समय संघीयता कार्यान्वयन गरौं भनेर अझै नजिकको सरकारको रूपमा प्रदेश सरकारमा सहभागी भए । प्रदेश सरकारका तर्फबाट गरेका कामहरू, त्यहाँका जनताका मन मस्तिष्कमा प्रष्ट छन् । विकास निर्माणको दृष्टिले पछाडि पारिएको केन्द्रबाट उपेक्षित गरिएको जिल्ला सल्यान पनि हो । त्यस्तो उपेक्षित जिल्लालाई राज्यको मूल प्रवाहमा ल्याउने मेरो पहिलो प्राथमिकता हुनेछ । त्यसैगरी अहिले पनि बाँकी कामहरू छन् । त्यहाँको सडक, बाटोघाटो, बिजुली, खानेपानी, स्वास्थ्य क्षेत्रलगायतका समस्या समाधानका लागि मेरो पहल हुन्छ ।

अब हामीले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने कुरा, बेरोजगार युवाहरूलाई रोजगारी दिने कुरा सकेसम्म देशभित्रै रोजगारी दिने र बाहिर जानुपर्ने अवस्थामा उनीहरूलाई सुरक्षित रोजगारीको सम्भावना खोजी गर्ने कुरामा ध्यान हुन्छ । यसैगरी सल्यान भनेको अदुवाको राजधानी पनि भएको र यहाँका मानिसहरूको जीविकोपार्जनको मुख्य आधार अदुवाका साथसाथै सुन्तला जातका फलफूल र बेमौसमी तरकारी पनि हो । त्यसैले सल्यान जिल्लालाई कृषिमा आत्मनिर्भर बनाएर निर्यात गर्न सक्ने अवस्थामा पुर्‍याउनु पर्नेछ । यी एजेन्डाहरू विगतमा पनि हामीले उठाएका थियौं, अहिले पनि पूरा नभएका योजनाहरूलाई पूरा गर्ने गरी मंसिर ४ गतेको चुनावमा केन्द्रित हुन्छौं ।

गठबन्धनका उम्मेदवार विजयी हुने आधार के हो ?
पछिल्लो समय गठबन्धनको राजनीति मौलाउँदै गएको छ । हामीले २०७४ सालको चुनावमा पनि वाम गठबन्धन बनाएका थियौं । यतिबेला केपी ओलीले पनि राप्रपालगायतका दलहरूसँग गठबन्धन गर्दै हुनुहुन्छ । हामीले पनि गठबन्धन गर्दैछौं । चुनावी हिसाबले गठबन्धन गर्दै जाने कुरा छँदै छ । गठबन्धनका बीचमा विश्वासिलो भरपर्दो आधार निर्माण गर्ने, निर्वाचनलाई निष्कर्षमा पुर्‍याउने निर्वाचनपछि राष्ट्रलाई स्थिरता दिने राष्ट्रलाई समृद्धिको यात्रामा अगाडि बढाउनका निम्ति हामी सबै एक भयौं भने गठबन्धन विजयी हुन्छ ।

२०७४ मा वाम गठबन्धनलाई जनताले पत्याए, तर तपाईंहरू नै सफल हुनुभएन, अब फेरि वाम लोकतान्त्रिक गठबन्धनलाई किन पत्याउने ?
राजनीति भनेको देशको विशिष्ट अवस्थाअनुसार अगाडि बढ्छ । नेपालका सन्दर्भमा निरंकुश पञ्चायतका विरुद्धमा, राजतन्त्रका विरुद्धमा आम रूपमा सामन्तवादका विरुद्धमा कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूकोबीचको तालमेलपछि वाम लोकतान्त्रिक गठबन्धनले पञ्चायत र राजतन्त्र फाल्यौं र देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भयौं । यहाँको विशिष्टताअनुसारको अभ्यासमा हामी सफल भयौं । हामीले संविधान निर्माण गरेर संघीयताको कार्यान्वयन गराउँदैछौं । संघीयतालाई अझ बलियो बनाउँदै राष्ट्रलाई समृद्धिको यात्रामा अघि बढाउनका लागि राजनीतिक स्थिरता चाहिन्छ । राजनीतिक स्थिरताका लागि दलहरूकाबीचमा एकता हुनुपर्छ । त्यो एकता निर्वाचनमा पनि व्यक्त हुनु पर्‍यो । निर्वाचनपछि फेरि संयुक्त सरकार बनाएर अघि बढ्नु पर्नेछ । हाम्रा राजनीतिक आस्था फरकफरक भए पनि मुलुकको हितको निम्ति हामीले गठबन्धन गरेकाले यो गठबन्धनलाई जनताले अनुमोदन गर्नुहुन्छ ।

अहिलेको गठबन्धनले स्थिर सरकार दिन्छ ?
हामी स्थिर सरकार दिन्छौं । अघिल्लो पटक जुन आशा र भरोसाका साथ जनताले मत दिए, त्यसमाथि तुषारापात गर्ने काम केपी ओलीबाट भयो । यो कुरा जनताले प्रष्टसँग बुझेका छन् । त्यसैले त्यस्ता शक्तिलाई जनताले सजाय दिन्छन् । अहिलेको गठबन्धन एकताबद्ध भएर जाँदा जनताले भरोसा गर्छन् । त्यसैका आधारमा हामीले स्थिर सरकार बनाउँछौं ।