देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तह निर्वाचन

कांग्रेस गठबन्धनले निरन्तरता पाओस् भन्ने पक्षमा

देशान्तर

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । निर्वाचनको परिणामअनुसार नेपाली कांग्र्रेस पहिलो पार्टी बनेको छ । दोस्रोमा नेकपा एमाले र तेस्रोमा नेकपा माओवादी छ । कांग्रेसले माओवादी, नेकपा एस, जसपा, जनमोर्चासँग गठबन्धन गरेर निर्वाचनमा होमिँदा नेकपा एमालेले राप्रपा नेपाल, लोसपालगायतका साना दलसँग चुनावी तालमेल गरे । चुनावी परिणामपछि सत्तारूढ गठबन्धनमा अन्तरघातको आरोप लाग्ने गरेको छ भने गठबन्धन प्रभावकारी भए नभएको कांग्रेस बाहेकका दलका नेताहरूले बोल्न थालेका छन् । आगामी दिनमा कांग्रेस के चाहन्छ ? के चुनावी परिणामले कांग्रेस सन्तुष्ट छ ? यी यावत् विषयमा सहकर्मी शिखरजंग श्रेष्ठले कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

स्थानीय तहको नतिजा जति कांग्रेसको पक्षमा आएको छ । यो अपेक्षाकृत नै थियो कि ?
अझ बढी आउन सक्थ्यो । जसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले जसरी लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पारेर, संविधानको मर्यादालाई कमजोर पारेर, कोभिड व्यवस्थापन नगरेर शासन सत्ता चलाए । यी यावत् कारणले नेपाली कांग्रेस नै जिम्मेवार पार्टी रहेछ भन्ने जनतामा परेको हो । कांग्रेस सत्तामा आएपछि पनि जिम्मेवारीपूर्वक काम गरेको छ । अरूको पनि सहयोग लिन सफल भयो । त्यस्ले गर्दा कांग्रेसको जनआधार विस्तार भएको थियो । पार्टीपंक्ति भित्र अन्तरघात र असहयोग नगर्ने प्रवृत्ति समाप्त भएको भए अझ बढी स्थानमा जित हात पारिन्थ्यो । मतगणनाका क्रममा प्राप्त मतान्तरलाई हेर्दा चार सय भन्दा माथि जित सुनिश्चित हुने रैछ भने लाग्छ ।

यो पटक पनि पार्टीभित्र अन्तरघात भयो र ?

अहिले पनि भाछ । ठाउँठाउँबाट रिपोर्टिङ भइरहेको छ । त्यसका बाबजुत पनि यो परिणाम आएको सन्तोषजनक मान्नुपर्छ । पार्टीभित्र अन्तरघातको रोग समाप्त भएको भए र एउटा लयमा गठबन्धन भएको भए अझै धेरै स्थानमा जित्ने सम्भावना थियो । अहिले जे नतिजा आएको यसैमा सन्तुष्टि मान्नुपर्छ ।

तालमेल वा गठबन्धनको लय भन्नाले ? 
जसरी केन्द्रबाट महानगर र उपमहानगरमा जसरी तालमेल भयो । सोही स्प्रिडमा तल्लो तहसम्म तालमेल भएको भए सिट संख्या थपिन्थ्यो । कांग्रेस एक्लै लडेको ठाउँमा पनि अन्तरघातको कारण कतिपय ठाउँमा सकारात्मक परिणाम आउन सकेन ।

माओवादी केन्द्रले गठबन्धनमा कांग्रेस इमानदार नबनेको आरोप लगाइसकेको अवस्थामा नेकपा एस पनि सन्तुष्ट छैन नि ?
आरोप गलत छ । जे जसरी सहमति भएको छ । सोहीअनुसार नेतृत्व तहबाट कार्यान्वयनमा हरकोसिस रह्यो । त्यसमा कुनै द्विविधा छैन । तर कतिपय ठाउँमा कांग्रेसका सम्पूर्ण भोट गठबन्धनमा ट्रान्सफर नभएको हुन सक्छ । कांग्रेसको नेतृत्व इमानदार भएर सहमति कार्यान्वयन लागेकोमा शंका गर्ने ठाउँ छैन । केही छिटफुट स्थानमा स्थानीय समितिले अन्य दलसँग सहकार्य गरे । त्यो हाम्रो चाहनाले भएको हैन । गठबन्धन भएका अधिकांश स्थानमा कांग्रेसले इमान कायम गरेको छ ।

ललितपुर महानगरको मतपरिणाम हेर्दा उपमेयरको उम्मेदवारलाई मत नगएर रूखमा मत आउनुलाई कांग्रेस कसरी हेरेको छ ?
अन्तिम समयमा समझदारी बन्यो । उक्त सहमतिलाई तल्लो तहसम्म लैजान सकेनौं । नमुना मतपत्रमा कहाँ छाप लगाउने भन्ने ज्ञान कार्यकर्ता र मतदातामाझ लैजानुपथ्र्यो । त्यो काम समय अभावका कारण हुन सकेन । जस्को फलस्वरूप उम्मेदवार नै नभएको ठाउँमा मत प्राप्त भएको अवस्था देखियो । हाम्रो मात्र होइन्, माओवादी केन्द्रले पनि बाटो बिराएको छ । तालमेल कांग्रेससँग गरेर एमालेलाई सहयोग गरेको छिटफुट घटनाहरू छन् । यी सबै घटना केन्द्रीय नेतृत्वले चाहेर भयो भनेर भन्न मिल्दैन । पोखरामा कांग्रेसले सहयोग गरेकै छ । नेकपा एसका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् । कांग्रेस गठबन्धनमा इमानदार भएरै निर्वाचनमा होमिएको हो ।

गठबन्धनका दलहरू कति इमानदार भए भनेर जान्नका लागि अन्तिम परिणाम पर्खनुपर्छ भन्ने खोज्नु भएको हो ?
हो, अन्तिम परिणाम आउन अझै केही दिन लाग्छ । परिणाम आफैँ बोल्छ । कहाँ कस्को सहयोगले कुन पार्टीको उम्मेदवार विजयी भए भनेर बुझ्नका लागि अन्तिम मत परिणाम विश्लेषण गर्दा आइनै हाल्छ । माओवादी केन्द्रका उम्मेदवारले जितको संख्या बढाएको छ । कति स्थानमा अग्रता कायम छ । त्यहाँ एकअर्काको सहयोग नभएको भए हुँदैनथ्यो । हामीलाई पनि उहाँको सहयोग छ । अहिले नै आरोप प्रत्यारोपमा जानु उपयुक्त हुँदैन । अन्तिम परिणाम आएपछि शीर्ष नेताहरू बसेर समीक्षा गर्ने काम होला । जिल्ला जिल्लाबाट रिपोर्ट आउला । त्यसपछि एउटा निष्कर्ष आइनै हाल्छ । त्यसैले अहिले नै यस्तो उस्तो भन्न हतार हुन्छ ।

नेकपा एमालेले गठबन्धनको सरकारले निर्वाचनमा तीन चरण (निर्वाचन अघि, हुँदै गर्दा र पछि) धाँधली गर्‍यो भन्ने आरोप छ नि ?
यो सरासर झुटो कुरा हो । निर्वाचनकै दिन एमाले अध्यक्ष आफैँले निर्वाचन सम्पन्न भएको भन्दै धन्यवाद पनि दिनुभएको थियो । पछि परिणाम आउन थालेपछि धाँधली भयो । सरकारी स्रोतको दुरुपयोग भयो भन्ने आरोपमा कुनै सत्यता छैन । नेपाली कांग्रेस धाँधली गरेर निर्वाचन जित्न चाहँदैनन् र जान्दैन पनि । बरु, उहाँहरू सरकारमा हुँदा भएका निर्वाचन कसरी भए, त्यसलाई जनताले अझै स्मरण गर्छन् । तर कांग्रेसले धाँधली गरेर निर्वाचत जितौँ भन्ने भावना राख्दैन । हामीले २०७४ सालमा पनि निर्वाचन गरायौँ । हामी हार्‍यौँ । यसपटक पनि निष्पक्ष तवरले कार्यसम्पादनको वातावरण बनाइदिएका छौ ।
तर तपाईंहरू माथि छानिछानी आफू अनुकूल कर्मचारी र प्रहरीको जिम्मेवारी हेरफेर भयो भन्ने आरोप छ नि ?
हैन, कहाँ गर्‍यौँ । रिक्त रहेको ठाउँमा जिम्मेवारी दिनुलाई गलत रूपमा हेर्नु हुँदैन । मत परिणाम उल्ट्याउन खोज्ने, अनावश्यक दबाब दिने काम हामीबाट भएको छैन । त्यो संस्कार कांग्रेससँग छँदा पनि छैन ।

कहाँ कस्को सहयोगले कुन पार्टीको उम्मेदवार विजयी भए भनेर बुझ्नका लागि अन्तिम मत परिणाम विश्लेषण गर्दा आइनै हाल्छ ।

निर्वाचनको अन्तिम परिणामपछि गठबन्धन नरहन सक्छ भन्ने आशयका कुरा सार्वजनिक भइरहेका छन् । कांग्रेस के चाहन्छ ?
कांग्रेस गठबन्धन निरन्तर जानुपर्छ भन्ने पक्षमा छौँ । संघ र प्रदेशको निर्वाचनमा सहमतिमै निर्वाचन लड्नुपर्छ भन्नेमै छौँ । हाम्रो तर्फबाट गठबन्धनमा समस्या आउँदैन । माओवादीलगायतका दलबाट पनि समस्या नआउला भन्ने आशा छ ।

हाम्रो कारणले कांग्रेस ठूलो दल बन्यो भन्ने माओवादीको गुनासो छ ?
कांग्रेस गठबन्धनका अन्य दलभन्दा ठूलो छ भन्ने त जगजाहेर नै छ नि । जसरी माओवादी केही नेताहरू एमालेमै रहँदा पनि जुन परिणाम माओवादी केन्द्रको पक्षमा आएको छ । यसलाई नकारात्मक ठानिन्छ होला झैँ लाग्दैन । गठबन्धनले सबैलाई फाइदै पुगेको छ । घाटा छैन ।

फेरि कम्युनिस्टहरूमा २०७४ पछिकै अवस्था आउँछ भन्ने कोणबाट आकलन सुरु भइसकेको छ अनि ?
मलाई त्यस्तो लाग्दैन । त्यसबेलामा कांग्रेससँग केही ठाउँमा मात्र सहकार्य भएको थियो । यति व्यापक र कसिलो सहकार्य थिएन । यो पटक राष्ट्रिय आवश्यकताको आधारमा गठबन्धन गरेका हौँ । प्रचण्डजीले पनि भनिरहनुभएको छ । संविधानको रक्षार्थ यो गठबन्धन बनेको हो । केपि ओलीले संविधान मास्न खोजे भनेर सबैले भनिरहनुभएको छ । त्यसकारणले यत्ति छिट्टै अर्को परिस्थिति बनिसक्यो भन्ने कुनै आधार छैन ।

तर एमाले अध्यक्ष ओलीले मैले चाहेँ भने एक सातामै गठबन्धन टुटाउन सक्छु भन्दै आउनुभएको छ नि ?
उहाँ त अहिले हो र ? पहिलेदेखि नै गठबन्धन टुटोस् भन्ने पक्षमै हुनुहुन्छ नि । नसकेर र न हो । मनोवैज्ञानिक प्रभाव पार्न, द्विविधाहरू सिर्जना गर्न, गठबन्धन दलहरूमा विभाजन ल्याउन विभिन्न भविष्यबाणी गरिराख्नुभएको छ । निर्वाचनको केही दिन अघि मात्र गठबन्धन टुट्ने मिति नै सार्वजनिक गर्नुभो । यो सबै गठबन्धनभित्र खेल्न खोज्नु भएको हो । मतदाता प्रभावित बनाउने कोसिस पनि गरेकै हो नि । यस्तो कोसिस उहाँबाट भइनै राख्छ । त्यसलाई म अनौठो मान्दिनँ । ओलीको मनोवैज्ञानिक झटारोको आधारमा गठबन्धन भित्रका दलहरूले फरक दृष्टिकोण बनाउँछन् भन्ने लाग्दैन ।

अहिले कांग्रेसको पक्षमा मत परिणाम आउँदै गर्दा कहिलेकाहीँ लाग्छ कि, एक्लै लडेको भए पनि पहिलो पार्टी बन्दा रैछौ भन्ने ?
राष्ट्रिय हितका लागि गठबन्धन गरेका हौँ । स्थानीय निर्वाचनमा लडेर राष्ट्रिय सरकार बन्ने त होइन । संसदीय निर्वाचनमा जुन प्रणाली आत्मसात् गरेका छौँ । यो प्रणालीबाट कुनै एउटा राजनीतिक दलको पक्षमा बहुमत आउने अवस्था छैन । त्यसकारण स्थानीय निर्वाचनबाटै सहकार्यको अभ्यास गरौँ भन्ने पनि हो । परिणाम आइसकेपछि कुन दलसँग मिलेर सरकार बनाउने भन्नुभन्दा पहिले नै फिक्स गर्नु राम्रो हो । त्यो सरकारले स्थिरता प्राप्त गर्छ भन्ने कोणबाट यो गठबन्धन बनेको हो । यही अवस्थामा बुझ्नुपर्छ ।

काठमाडौं महानगरसहितका केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको दबदबा देखियो, यसलाई कांग्रेसले कसरी लिएको छ ?
नेकपा एमालेको सरकारले देखाएको नैराश्यताको बाटो र एमालेकै मेयर हुँदा काठमाडौँमा आशातीत काम नगर्नुले मतदाताले विकल्प खोजेका हुन् । उनीहरू राज्य सत्तासँगको नैराश्यतालाई कुनै उम्मेदवारलाई प्रतीक बनाएर असन्तुष्टि पोख्ने परिपाटी काठमाडौँमा छ । फेरि, स्वतन्त्र उम्मेदवारलाई मतदातालाई पत्याउने क्रम यो पटक नयाँ होइन । पहिला पनि पटकपटक स्वतन्त्र उम्मेदवारलाई विश्वास गरेको दृष्टान्त हामीमाझ छ । यस्तो घटनालाई राजनीतिज्ञहरूले सिकाइको रूपमा पनि लिनुपर्छ । राजनीतिक पार्टी जनताप्रति संवेदनशील बन्नुपर्छ भन्ने सन्देश पनि हो । उम्मेदवारी चयनमा पनि ध्यान दिनुपर्छ । बेलाबेलामा फ्रेस अनुहारलाई अवसर दिनुपर्छ भन्ने होला । दूरदृष्टि राख्ने नेतालाई नेतृत्वमा पठाउनुपर्छ भन्ने सन्देश पनि दिएको जस्तो लाग्छ । यस्ता घटनालाई राजनीतिक दलले गम्भीर रूपमा लिएर परिमार्जनका लागि तयार हुनुपर्छ ।

एमालेले संसद्मा जारी अवरोध हटाएपछि तपाईंहरूलाई सहज बनायो होला ?
ढिलै भए पनि संसद् खोल्ने कुरा स्वागतयोग्य नै छ । यद्यपि, यतिका लामो समय बिनाकारण किन अवरोध गर्नुभयो । यो प्रश्नको जवाफ चाहिँ मिलेन । सायद, संसद् अवरोधले जनमत घटेको आभास भयो पनि होला । त्यसले पनि संसद्को अवरोध खोल्नमा एमाले तयारी भएको हुनुपर्छ ।

एमालेले देश संकटतर्फ गएकाले देश बचाउनका लागि संसद् चल्न दिने निर्णय लिएको भनेको छ नि ?
संकट त उहाँहरूले गर्दा आएको हो । संसद्लाई बिनाकारण चल्न नदिने ? संसद्को काम कार्यवाही अघि बढ्न नदिनु भनेको जनमतको विरुद्धको काम हो । उहाँहरूकै समस्याका कारण देशमा संकटतर्फ सन्मुख भएको हो । कांग्रेसले नेतृत्वको सरकारले व्यापक सुधारका काम गरेको छ । हिजोको ऋणमय मुलुकलाई अनुदानमय बनाएको छ । बिगारिएको विदेश सम्बन्धमा व्यापक सुधार गरिएको छ । हामीले देशलाई सुधारको बाटोमा लैजान चाहन्छौ । उहाँहरूले जनताको म्यान्डेडलाई लत्याउने काम गर्नुभयो । एमसीसीलाई अनावश्यक विवादित बनाउने काम भयो । कांग्रेसले राष्ट्रहितको पक्षमा रहेको एमसीसीलाई संसद्बाट पास गर्ने काम गर्‍यो । त्यसकारण, कांग्रेसको नेतृत्वमा देश बिगार्ने काम होइन्, अघिल्लो सरकारले बिगारेको कामलाई सुधार्ने काम गरेको छ । देशान्तर साप्ताहिकबाट साभार अन्तर्वार्ता