देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेथिति, भ्रष्टाचार र विभेद अन्त्यका लागि मेरो उम्मेदवारी

देशान्तर

वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारहरू अहिले प्रचार प्रसारमा व्यस्त भएका छन् । चुनावी प्रचार प्रसारमै रहेका भक्तपुरकाे चाँगुनारायण नगरपालिकाका मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका नेता जीवन खत्रीसँग कुराकानी गरेका छाैं ।

तपाईलाई किन मतदान गर्ने ? 
चाँगुनारायण नगरपालिका नयाँ नगरपालिका रहेको छ लिंग, वर्ण, जात, धर्म र राजनैतिक आस्थाका आधारमा हुने सबै प्रकारको विभेद अन्त्य गर्न र जनप्रतिनिधिहरू जनताको सच्चा सेवक हुन् भन्ने चरितार्थ गर्नका लागि हामीलाई मतदान गर्नुपर्छ । हामीले उठाएका कुराहरू पूरा गर्नका लागि हामी तयार छौं । यहाँको सम्मुनत विकासका लागि हामी दिनरात खटिने छौं । यसैगरी यहाँ स्वच्छ खानेपानी, सरसफाइ तथा ढल निकासको उचित प्रबन्ध गर्ने हाम्रो योजना रहेको छ भने सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, भौतिक स्तरोन्नति गर्दै सामाजिक, आर्थिक विभेद न्यूनीकरणको आधार तय गर्न पनि हामीले उम्मेदवारी दिएका छौं ।

विभिन्न स्थानीय तहहरूमा विभेदका कुरा, भ्रष्टाचारका कुराहरू पनि आउँछन् नि ?
हो, यो नगरपालिकाभित्र रहेका बेथिति, भ्रष्टाचार र विभेदका कुराहरू समाप्त गर्नका लागि पनि मेरो उम्मेदवारी हो । यसैगरी शिक्षा, स्वास्थ्य र नगरपालिकाभित्र रोजगारी पनि सिर्जना गर्नका लागि काम गर्नु पर्नेछ । अहिले रहेका जनप्रतिनिधिहरूले निहित स्वार्थ र व्यक्तिगत इच्छाका आधारमा चलेकाले यो प्रवृत्ति अन्त्य गर्दै, यो हामी सबै यहाँ बसेकाहरूको नगरपालिका हो भन्ने भावनाका साथ यहाँबाट प्रदान गरिने सेवा सुविधाहरूलाई कुनै पनि विचारबाट बन्देज नगराइकन स्वतःस्फूर्त प्राप्त गर्नका लागि पनि मेरो उम्मेदवारी रहेको छ ।

गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ ? 
हो, तर हामीले उम्मेदवारी दर्ता भने एक्लाएक्लै गरेका थियौं । राष्ट्रिय राजनीतिको आवश्यकता रहेकाले हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि गठबन्धन गरेर अघि बढ्छौं । आम मतदाताको चाहनाअनुसार यहाँ मतदान हुन्छ भन्नेमा हामी आशावादी छौं ।
अहिले एमालेले उपप्रमुखलाई प्रमुखमा उम्मेदवार बनाएको छ, चुनावी प्रतिस्पर्धा कतिको कडा देख्नुहुन्छ ?
प्रतिस्पर्धाभन्दा पनि यहाँका नागरिकको चाहना, इच्छा बुझ्न जरुरी छ । प्रतिस्पर्धाको रूपमा हामी राष्ट्रिय गठबन्धनको रूपमा पनि लागेका छौं । यो नगरपालिकाको योजनाबद्ध विकास गर्ने कुरामा नेतृत्व गर्ने पार्टी भनेकै नेपाली कांग्रेस हो । एमालेबाट उपप्रमुख भएर काम गरिसकेको व्यक्ति प्रतिस्पर्धामा आएकाले जनताले उहाँबाट कार्यक्षमता सबै कुरा जाँची सकेका छन् । उहाँले यो बीचमा धेरै नै गलत कामहरू गरेकाले अहिले हाम्रो प्रतिस्पर्धाभन्दा पनि प्रक्रिया पु¥याउनका लागि हुन गइरहेको जस्तो लागेको छ ।
भनेको जित सुनिश्चित हो ?
हाम्रो जितभन्दा पनि हामीले उम्मेदवारी दिएपछि जनताले राम्रो रेस्पोन्स गरेका छन् ।

जित्नु भयो भने चाँगुनारायणका लागि गर्नुपर्ने काम के हो ?
चाँगुनारायणका लागि पूर्वाग्रहरहित रूपले सेवा सुविधाहरू सहज सरल रूपले जनतालाई दिनेछौं । पूर्वाधार विकासमा प्राथमिकीकरण गरेर अघि बढ्ने, पर्यटकीय हिसाबले पनि धेरै सम्भावना बोकेका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्र पनि यहाँ रहेकाले यसको संरक्षण र विकास तथा विस्तारमा योगदान रहन्छ ।
 अरू कुनै एजेन्डा छन् त ?

हामीले ज्येष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमताका नागरिकलाई यथोचित सम्मानपूर्ण व्यवहार, संरक्षण र उत्प्रेरणा सुनिश्चित गर्नेछौं भने सडक सञ्जाल विकास गरी सार्वजनिक निजी साझेदारीको अवधारणामा चाँगुनारायण नगर यातायात सेवा सञ्चालन गर्ने योजना पनि बनाएका छौं । यसैगरी हरेक वडाका बस्तीहरूमा व्यवस्थित खुल्ला स्थान, बालउद्यान र सामुदायिक केन्द्र स्थापना गर्ने र प्रविधिमैत्री सार्वजनिक सेवालाई टोलटोलमा पु¥याउने योजना रहेको छ । वैज्ञानिक कर प्रणाली, स्थानीय उत्पादनको बजारीकरण, बाह्य लगानी प्रोत्साहनलगायतका कार्यहरू गर्नुका साथै पर्यटन, कृषि र उद्योग क्षेत्रबाट स्थानीयस्तरमै उल्लेख्य परिमाणमा रोजगारी सिर्जना गर्न पनि केन्द्रित हुनेछौं । पर्यावरणमैत्री सहरका रूपमा विशिष्ट पहिचान बनाउने तथा उत्थानशील समुदाय निर्माण गरी हरेका खालका विपद्बाट नगरवासीलाई सुरक्षित राख्ने कुरामा पनि केन्द्रित हुनेछु ।