देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकी काम पूरा गर्न पुनः उम्मेदवारी

देशान्तर

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन गरेको छ । मेयरमा यसअघिको कार्यकाल पूरा गरेका चिरीबाबु महर्जन नै उम्मेदवार भएका छन् । ७५३ वटा स्थानीय तहमध्ये उत्कृष्ट काम गरेका ललितपुरको मेयरका रूपमा आफू पुनः दोहोरिनका लागि महर्जन अहिले चुनावी प्रचारप्रसारमा केन्द्रित भएका छन् । देशान्तरसँगको कुराकानीमा महर्जनले विगतमा आफूले सुरु गरेका कामहरू पूरा गर्नका लागि पुनः उम्मेदवार भएको बताउँछन् । उनै महर्जनसँग मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

पहिलो कार्यकालमा के कुरा बाँकी रह्यो र दोस्रो कार्यकालका लागि उम्मेदवार बन्नु भयो ?
मेरो पहिलो कार्यकाल निकै सुखद रह्यो । सुखद यस अर्थमा भनें की, पहिलो कार्यकालमा प्रवेश गर्दैगर्दा सुरुको ६–७ महिनाको समय स्थानीय सरकार सञ्चालन ऐन नआएकाले हामी अन्योलमा रह्यौं । हामीले घोषणापत्रमा यो गर्छौं र त्यो गर्छौं भनेर त गयौं । तर, त्यहाँ लथालिंग र भताभुंग अवस्थामा थियो । त्योभन्दा अगाडि कर्मचारीतन्त्रले शासन सञ्चालन गरेका थिए । हामी महानगरमा जानासाथ काम गर्ने ‘प्रोजेक्ट बैंक’हरू केही पनि थिएन । सुरुमा केही अप्ठेरो भए पनि अहिलेको अवस्थामा आइपुग्दा धेरै योजनाहरू तर्जुमा गर्‍यौं र ती योजनाहरू नगरवासीहरूलाई ‘डेलिभरी’ गर्न सक्यौं । त्यसको फाइदा प्रचुर मात्रामा महानगरवासीले उठाइरहनु भएको छ । यति भनिराख्दा हामीले कतिपय योजनाहरू सञ्चालन गर्‍यौं । कुनै दुई तिहाइ सकियो, कुनै आधा सकियो, कुनै भर्खर सुरु भएका छन् । त्यसैले ती योजनाहरू पूरा गर्दै जनताको ‘लिभिङ स्टान्डर्ड हाई’ गर्नका निमित्त बनेका योजनाहरू अहिले हाम्रो प्रोजेक्ट बैंकमा छन् । तसर्थ ती योजनाहरू पूरा गर्नका लागि गएको पाँच वर्ष अलि समय पुगेन । सुरुमा काम गर्न लथालिंग भयो र पछि कोभिडले अप्ठेरो परेको कुरा सबैलाई थाहा छ । त्यसैले अबको पाँच वर्ष समय पर्याप्त हुन्छ भनेर नै म फेरि दोस्रो पटक उम्मेदवार बनेको छु ।

सम्पूर्ण ललितपुर महानगरवासीहरूले अबको एक पटकका निमित्त चिरिबाबुले निर्वाचित भएर आएको खण्डमा धेरै राम्रो हुन्छ भन्ने ठम्याइँ रहेको कारणले गर्दा खेरि पनि मैले पुनः उम्मेदवारी दिएको छु ।

तपाईंले सुरु गरेको योजना पूरा गराउनका लागि कांग्रेसबाटै अरू उम्मेदवार बनेको भए हुँदैनथ्यो ?
मेरो पाँच वर्षको अनुभव र त्योभन्दा अगाडि म तीन पटक वडाध्यक्ष भएर काम गरेको अनुभव, जनस्तरमा ज्यादै नै ख्याति कमाएको ज्यापू समाजको अध्यक्ष भएर काम गरेको अनुभव र मेरो आर्थिक पारदर्शिता मेरो ‘पब्लिक रिलेसन’, सम्पदा क्षेत्र निर्माण अथवा, अन्य प्रोजेक्टहरूमा मेरो जुन अनुभव छ, यो अनुभव आउँदो पाँच वर्षसम्म मैले निखारेर लगाउन पाएको खण्डमा महानगरमा राम्रो विकास र सुशासन कायम हुन्छ भन्ने ठम्याइँ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति, नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिलाई पनि परेको छ । त्यसैले सम्पूर्ण ललितपुर महानगरवासीहरूले अबको एक पटकका निमित्त चिरिबाबुले निर्वाचित भएर आएको खण्डमा धेरै राम्रो हुन्छ भन्ने ठम्याइँ रहेको कारणले गर्दा खेरि पनि मैले पुनः उम्मेदवारी दिएको छु ।

अबको कार्यकालका लागि निर्वाचित हुनुभयो भने, ललितपुरवासीले अपेक्षा गरेका कुराहरू कसरी पूरा गर्नुहुन्छ ?
मसँग अहिले थुप्रै प्रोजेक्ट बैंकहरू छन् । ती प्रोजेक्ट कार्यान्वयन गर्छु । र जनस्तरबाट आउने प्रोजेक्टहरू पनि राम्रोसँग कार्यान्वयन गर्छु । कतिपय कुराहरू हामीले ‘एड हव प्यासिभ’मा पनि गर्नुपर्ने हुन्छ । जस्तै उदाहरणका लागि कोभिड आउँछ भन्ने कुरा कसलाई थाहा थियो र ? तर कोभिड आइसकेपछि ललितपुर महानगरपालिकामा जनस्तरबाट काम गर्‍याैं र त्यसको नतिजा जुन हिसाबले प्राप्त गर्‍यौं, वास्तवमा भन्ने हो भने देशभरका ७५३ स्थानीय तहहरूमध्ये हामीले अब्बल काम गरेका छौं । आकलन नगरिएको परिस्थितिमा त राम्रो काम गर्न सक्यौं भने अब त हामीले प्रोजेक्ट राम्रोसँग कार्यान्वयन गर्न सक्छौं भन्ने विश्वास पनि छ । त्यसैका आधारमा ललितपुरवासीका अपेक्षाहरू पूरा गर्न सक्षम हुन्छौं भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।

तपाईंको पहिलो कार्यकालमा सम्झिने कामहरू के गर्नुभयो ?
मैले गरेको कामको लिस्ट त लामै छ । सम्पदा क्षेत्रमा हामीले कायापलट गरेका छौं । पाटनको भीमसेन मन्दिर निर्माण गर्दा ललितपुर उद्योग वाणिज्य महासंघसँग मिलेर एकदमै राम्रो काम गर्‍यौं । यसको उद्घाटन हालसालै प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको छ । यस्तै, पुल्चोकको ‘समय फाल्चा’सहित ७७ वटा पाटी हामीले निर्माण गर्‍यौं । ललितपुर महानगर क्षेत्रमा ८–१० वर्ष टिक्ने ४२ किलोमिटर पिच रोड निर्माण गर्‍यौं । यसैगरी स्मार्ट स्ट्रिट लाइटको काम गर्‍यौं । अहिले पहिलो फेजको काम सकियो । तपाईं यदि बागमती पुल क्रस गरेर रातिको समयमा ललितपुर प्रवेश गर्नुभयो भने तपाईं उज्यालो सहरमा पुग्नुहुन्छ । यो भनेको पहिलो फेजको कुरा हो । अब दोस्रो फेजको काम सुरु भइसकेको छ । दोस्रो फेजमा हामीले ११५० बत्ती राख्छौं । यो भनेको खोकना, बुङमती, हरिसिद्धि, धापाखेल र सुनाकोठीमा बत्ती राखेर जावलाखेल, लगनखेल, पुल्चोकमा जोडिन आउँछौं ।

पहिलो कार्यकालमा गर्न नसकेको कामहरू के के छन् ?
एउटा कुरा हामीले बिर्सन हुँदैन । घोषणापत्र बनाउँदाखेरि भावनात्मक रूपले पनि लेखिने रहेछ । त्यसको अध्ययन र डीपीएआर पनि भएको हुँदैन । किनभने त्यो गर्ने पोजिसनमा पुगेको पनि हुँदैन । तर, यो पटक हामीले निकै परिस्कृतरूपमा घोषणापत्र बनाएर आएका छौं । मैले गर्न नसकेको त भन्दिनँ । तर ‘प्रि एक्टिभिटी अफ द प्रोजेक्ट’अन्तर्गत पुल्चोकदेखि थापाथलीसम्मको १.४ किलोमिटरको फ्लाइओभर छ, यो फ्लाइओभरको अध्ययन गरायौं । यो कार्यान्वयन गर्नका लागि हामीलाई प्राविधिक समस्या पर्‍यो । त्यो भनेको हामीले बनाएको फ्लाइओभर गएर माइतीघर त्रिपुरेश्वरको सेक्सनमा फ्लाइओभर राख्ने नेपाल सरकारको निर्णय छ, नेपाल सरकारलाई त्यसका लागि डीपीआर गर्न जापान सरकारले सहयोग गरेको छ । त्यसमा पाटनतिर एउटा मुख छोडिएको छ । तर अहिलेसम्म माइतीघर त्रिपुरेश्वरको फ्लाइओभर बनाउने सन्दर्भमा नामोनिसान केही अघि बढेको छैन । कथम् कदाचित हामीले बनाएर लगेको अवस्थामा पनि कहाँ जोड्ने, कहाँ ल्यान्डिङ गर्ने, हामीलाई यो प्राविधिक समस्या छ । यो समाधान गर्ने कुरा हाम्रो काबुभन्दा बाहिर छ । यदि सरकारले माइतीघर, त्रिपुरेश्वरको फ्लाइओभरको प्रोजेक्ट बनाएमा ललितपुर महानगरपालिकाले यो प्रोजेक्ट सुरु गर्न सक्छ ।

साइकल लेनको प्रोजेक्ट कति सफल ?
यो सफल प्रोजेक्ट हो । कुनै पनि प्रोजेक्ट सफल पार्नका लागि स्थानीय तहकोमात्रै जिम्मेवारी रहँदैन । यसका लागि प्रदेश सरकार र केन्द्र सरकारको पनि सहभागिता रहनु पर्छ । हामीले साढे ३२ किलोमिटर साइकल लेन बनायौं । अन्तर्राष्ट्रियस्तरको बनाउन नसके पनि थोरै चौडाइको साइकल लेन बनायौं, हामीले त्यो बनाउँदा साइकल लेनसँग सम्बन्धित केही छैन भनेर ऐन पनि बनायौंं । तर पास नभएर बसिरहेको छ । ऐन महानगरबाट पास गर्नुपर्छ भनेर लाग्दाखेरि हामीले अर्को समस्या पनि भोग्यो । ऐन बनाउँदा कि संविधान वा अरू ऐनको दफामा टेक्नुपर्छ, तर नेपालमा साइकल लेनको कुरा कतै पनि छैन । अझै नेपालमा संघीय सरकार र प्रदेश सरकारले साइकल लेनसँग सम्बन्धित ऐन बनाउने छाँट छैन, त्यसैले बरु पछि हाम्रो ऐन बाझिएछ भने परिमार्जन गर्नेछौं, अबको नगरसभामा हामीले साइकल लेनसँग सम्बन्धित ऐन पास गरेर अघि बढ्छौं ।

‘प्रि एक्टिभिटी अफ द प्रोजेक्ट’अन्तर्गत पुल्चोकदेखि थापाथलीसम्मको १.४ किलोमिटरको फ्लाइओभर छ, यो फ्लाइओभरको अध्ययन गरायौं । यो कार्यान्वयन गर्नका लागि हामीलाई प्राविधिक समस्या पर्‍यो ।

शिक्षा र स्वास्थ्यमा तपाईंको एजेन्डा के हो ?
ललितपुर शिक्षाको ‘हब’ भनिन्छ ।  यहाँ सामुदायिक विद्यालयदेखि निजी विद्यालयहरू पनि धेरै छन् । यहाँको ‘रिजल्ट’ नेपालको अब्बल रिजल्टको रूपमा आइरहेको छ ।  हामीले शिक्षाको क्षेत्रमा महानगरपालिकाको तर्फबाट धेरै कामहरू गरिसकेका छौं र गर्दै पनि छौं । यो एउटा निरन्तर चल्ने प्रक्रिया पनि हो । शिक्षा क्षेत्रलाई अझै पनि सुधार गर्दै सबैको पहुँचमा पुग्ने गरी काम गर्न हामी लागिपरेका छौं । महानगरमा हामीसँग शिक्षा महाशाखा छ । त्यहाँ रहनुभएका कर्मचारीहरू पनि अति नै अनुभवी र सल्लाहकारहरू पनि अति नै उच्चस्तरको हुनुहुन्छ । उहाँहरूको सल्लाह र सुझावअनुसार नै हामीले शिक्षा क्षेत्रमा काम गर्दै आएका छौं । हामी शिक्षालाई सर्वसुलभ बनाउने प्रयास निरन्तर रहनेछ । स्वास्थ्यको क्षेत्रमा हामीले कोभिडको बेला पनि काम गरेका छौं । कोभिड बाजा बजाएर त आएको होइन, हामीले कोभिड निराकरणका लागि सुरुदेखि नै अति राम्रो काम गर्‍यौं । त्यसैका कारण ७५३ पालिकाहरूमध्ये कोभिड—१९ को सन्दर्भमा सबैभन्दा राम्रो काम भएको ललितपुर महानगरपालिका हो भन्ने सबैको ठम्माइँ रहन पुग्यो । कोभिडको समयमा अक्सिजनको हाहाकार भएको थियो । त्यतिबेला पाटन अस्पतालमा अक्सिजन नभएर प्रताडित भएका बेला त्यो संम्बोधन गर्न ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा अक्सिजन प्लान्ट नै स्थापना गर्न सफल भयौं । अहिले पाटनका प्रत्येक बेडमा अक्सिजन पाइपबाट पुगेको छ भने कसैलाई आवश्यकता पर्दा तत्काल उपलब्ध गराउने व्यवस्था हामीले मिलाएका छौं । हामीले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निमोनियाको भ्याक्सिनेसनको कार्यक्रम सुरु गर्ने भनेर अघि बढायौं । यो हामीले दक्षिण एसियामै पहिलो पटक ललितपुरमा सुरु भएको हो । यो भ्याक्सिन निकै महँगो छ । त्यसका लागि हामीले व्यवस्थापन गरेको बजेट अपुग भएपछि ७० वर्षको साटो ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई यो भ्याक्सिन लगाउने व्यवस्था मिलायौं ।

मतदान होइन, मत ऋणमा मागेका छौं
चिरीबाबु महर्जन, ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार

तीन तहको सरकारबीच समन्वय कतिको सहज या असहज, तपाईं त अझ नजिकै हुनुहुन्छ ?
संघीय संरचनामा पहिलो पटक प्रवेश गरेकाले नेपाल अहिले सिक्ने अवस्थामै छ । तर मेरो यसमा धेरै गुनासो छैन । संघीय सरकारले विभिन्न शीर्षकम स्थानीय तहलाई दिनुपर्ने बजेटको विभिन्न तरिकाले विनियोजन पनि हुँदै आइरहेको छ । प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा बजेटको व्यवस्थापन गर्दै आएको छ । हामीले त कोभिडको समयमा नमाग्दा पनि प्रदेश सरकारले दिएको थियो । त्यसका लागि धन्यवाद पनि दिन चाहन्छु । अहिलेसम्मको सन्दर्भलाई कोट्याएर हेर्दाखेरि ललितपुर महानगरलाई प्रतिनिधिमूलक रूपमा हेरेर कुरा गर्ने हो भने संघीय सरकार र प्रदेश सरकारसँग खास धेरै गुनासो छैन । हुन त हामी सुगम ठाउँमा भएको कारणले पनि हुन सक्छ । दुर्गम ठाउँमा रहेकाहरूलाई एक्सेसको समस्या भएको हुन सक्छ । हामी त एकाबिहानै सबै मन्त्रालय घुम्न सक्छौं । जुन सुविधा दूरदराजका पालिकाहरूलाई रहँदैन ।  हामीले कुनै पनि काम गरेर बिगारेको बुद्धि नपुर्‍याउँदा असफल हुन गएको सन्दर्भमा नगरवासी वा अरू कसैले गाली गरेको अवस्थामा पनि ‘स्वाद’ आउँछ । तर यहाँ ४–५ वटा बाटोको प्रोजेक्टहरू छन्, ती प्रोजेक्ट पहिला नै संघीय सरकारले टेन्डर गरेर काम सुरु गरेको थियो, ती अहिलेसम्म पनि पूरा भएको छैन । तसर्थ ती बाटोहरू धुलाम्य र हिलाम्य भइरहेको छ । यो विषयमा स्थानीयस्तरबाट हामीले गाली खाइरहेका छौं । तसर्थ मैले नेपाल सरकारसँग ललितपुर महानगरपालिका भित्र रहेका सम्पूर्ण बाटाहरूको जिम्मा हामीलाई दिनुस् भनेर अनुरोध पनि गरेको छु । यदि सरकारले हामीलाई जिम्मेवारी दिने हो भने दुःखसुख गरेर बाटो बनाएपछि जनता जनार्दनलाई धुलो र हिलोबाट मुक्त बनाउन सकिन्छ । आठ मिटरभन्दा ठूलो बाटो संघीय सरकार मातहत भएकाले त्यसमा हामीले एउटा किल्ला पनि ठोक्न पाउँदैनौं । तर गाली भने हामीले खाँदै आएका छौं । यसमा मलाई धेरै चित्त दुःखाइ छ ।

दुर्गम ठाउँमा रहेकाहरूलाई एक्सेसको समस्या भएको हुन सक्छ । हामी त एकाबिहानै सबै मन्त्रालय घुम्न सक्छौं ।

चुनावमा फेरि तपाई पुरानै प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, अहिले कत्तिको चुनौती छ ?
योभन्दा अघि पनि हामीबीच नेट टु नेट प्रतिस्पर्धा भएको थियो । त्यतिबेलाको परिस्थितिले त्यस्तो भएको थियो । अहिलेको चुनावमा पहिलाको जस्तो हुँदैन भन्ने मेरो आंकलन छ । मैले पाँच वर्ष मेयर भएर काम गरेर देखाएँ त्यसबाट नगरवासीहरू सन्तुष्ट हुनुहुन्छ । हिजोको दिनमा ललितपुर उपमहानगर पालिकालाई महानगरमा पदोन्नति गर्दा छिमेकी गाउँपालिकाहरू यसमा जोडिन आएका थिए । जोडिन आएका गाउँपालिकाहरूमा म चिरिबाबु महर्जन, त्यतिबेला त्यहाँ मेरो नाम चलेको थिएन । पब्लिक रिलेसन त्यो क्षेत्रमा राम्रो थिएन । जसले गर्दा उहाँहरूले मलाई चिन्नु भएको थिएन र समयको पावन्दीले गर्दा समयले साथ दिएन । त्यतिबेला थपिएका गाउँपालिकाहरूका लागि म टुरिस्ट उम्मेदवार जस्तै थिएँ । म आजको दिनमा टुरिस्ट उम्मेदवार होइन, घरकै उम्मेदवार हुँ ।

बेथिति, भ्रष्टाचार र विभेद अन्त्यका लागि मेरो उम्मेदवारी

तपाईंसँग मतदाता अलिकति रिसाएका पनि छन् नि, जात्राका बेला प्रहरी लगाउनु भयो नि ?
चिरिबाबु महर्जनलाई के भन्दाखेरि दोष निकाल्न सकिन्छ भन्ने कुराको छनकमात्रै हो । जुन दिन घटना भयो त्यो दिन त म कोभिड भएर टेस्ट गरेर बाहिर निस्कनै पाएको थिएन । तसर्थ घरमा बसिरहेको मानिसलाई त्यस्तो किसिमको आरोप लगाउनु चाहिँ ममाथिको अन्याय हो । म फिजिक्कली त्यो ठाउँमा गएको भए त्योे अवस्था आउने थिएन ।  अर्को कुरा वडा नम्बर १८ को गोपाल डंगोल भन्ने व्यक्तिले निर्वाचन आयोगमा मविरुद्ध बेरुजू रहेको भन्दै उजुरी पनि गरे । यो विषयमा पनि मैले गएर निवेदन पेस गरिसकेको छु । त्यहाँ मैले यो संस्थागत र प्रशासनिक बेरुजु हो भनेर लेखेको छु । प्रशासनिक बेरुजुको जिम्मेवारी प्रशासकीय अधिकृतको हुन्छ, यसमा व्यक्ति जिम्मेवार हुँदैन । कथम्कदाचित व्यक्ति जिम्मेवार हुने हो भने, सिंहदरबारभित्र २२ वटा मन्त्रालय छन्, प्रत्येक मन्त्रालयको बेरुजु एक अर्बभन्दा बढी छ । के त्यसो सबै बेरुजुको जिम्मेवारी प्रधानमन्त्रीको टाउकोमा राख्ने हो त भनेर उल्लेख गरेको छु । अहिलेको अवस्थामा व्यक्ति विशेषलाई लाञ्छना लगाउनका लागि गरिएको यो हर्कत भएको भन्दै जवाफ दिएपछि निर्वाचन आयोगले मविरुद्ध परेको उजुरी खारेज गरेको छ ।

गोकर्णमा सहज तरिकाले जित्छौं

यो चुनावमा गठबन्धन छ, झनै सहज हो जित्नलाई ?
गठबन्धन भएका कारणले गर्दा मलाई चुनाव जित्न धेरै सहज हुन्छ । ललितपुरमा माओवादीसँग गठबन्धन भयो । माओवादीबाट उपमेयरको उम्मेदवार हुनुहुन्छ, यो केन्द्रको निर्णय हो हामी मिलेर गएका छौं । मैले भोट माग्दा म चिरिबाबु महर्जन मेयरको उम्मेदवार रुख चिह्नबाट उठेको छु भने बाबुराजा वज्राचार्य माओवादीबाट उठ्नु भएकाले उहाँको चुनाव चिह्न  गोलाकारभित्र हसियाँ, हथौडामा मत दिनुहोस् भन्दै मागेको छु । हाम्रो जित सुनिश्चित र निश्चित पनि छ ।