देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मतदान होइन, मत ऋणमा मागेका छौं

देशान्तर

वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवारहरू अहिले प्रचार प्रसारमा व्यस्त भएका छन् । चुनावी प्रचार प्रसारमै रहेका भक्तपुरकाे सूर्यविनायक नगरपालिकाका मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका नेता निशान ढुंगेलसँग कुराकानी गरेका छाैं ।

तपाईंलाई किन भोट दिने ?
स्थानीय तहको निर्वाचनमा म नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दलका तर्फबाट सूर्यविनायक नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिएको छु । नेपालको सबै लोकतान्त्रिक आन्दोलनहरूको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेस हो । समग्र देशको विकास, लोकतान्त्रिक समाज निर्माणका लागि लागेको पाटीको एक जना कार्यकर्ता म निरन्तर जनताको बीचमा रहेर काम गरिरहेको छु । हरेक दुःखसुखमा साथ दिनका लागि आगामी दिनमा पनि तयार रहेर वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकाले यस क्षेत्रका मतदाताले मलाई मत दिनुहुनेछ ।

तपाईंका एजेन्डा के के हुन् ?
म नगरलाई समृद्ध नगर बनाउने, सुशासित नगर बनाउने, भ्रष्टाचारमुक्त नगर बनाउने र आम जनताले अपनत्व स्वीकार गर्न सक्ने, नगरपालिका निर्माण गर्ने, निरन्तररूपमा जनताका बीचमा रहने जनप्रतिनिधि दिनका लागि हामीले मत मागिरहेका छौं ।
तपाई अहिले कांग्रेसको नगर सभापति हुनुहुन्छ, आफै उम्मेदवार बन्नु भयो ?
पार्टीको संगठन निर्माणका क्रममा पद जिम्मेवारी र भूमिका एउटा कुरा भयो । आम मतदाताका बीचमा जाँदा त्यो भूमिका अलग्गै कुरा हो । निर्वाचनमा जानका लागि पार्टीभित्रका नेताहरूले आआफ्नो जिम्मेवारी सम्हाल्नु भएको छ, पार्टीकै साथीहरूको सल्लाहअनुसार नै अहिले म चुनावी प्रचार प्रसारमा केन्द्रित छु ।

गठबन्धनले गर्दा जित्न सजिलो छ, कि तपाईंहरू आफैं सक्षम हो ?
दुवै कुरा हो । हामी आफैं पनि सक्षम छौं । अझ गठबन्धनले गर्दा हामीलाई थप हौसला प्राप्त भएको छ । यो क्षेत्रमा अलग्गै किसिमको परिस्थिति पनि छ । विगतमा निर्वाचित भएका जनप्रतिनिधिहरूले राजनीतिलाई अपराधीकरण र प्रदूषित बनाइरहेको अवस्थाबाट आजित रहेका आम मतदाताहरू अहिले हामीलाई मत दिनेमा हामी विश्वस्त छौं । नेपाली कांग्रेसको यहाँ संगठन पनि राम्रो छ र पाँच दलको गठबन्धन पनि भएकाले उहाँहरूको संगठनका कारण पनि हामी यहाँ चुनाव जित्छौं ।

भनेको जित सुनिश्चित देख्नुहुन्छ ?
देख्ने मात्र होइन । हामी निश्चितरूपमा सूर्यविनायक नगरपालिकामा चुनाव जित्छौं । हामीप्रति मतदाताले देखाएको सद्भावले पनि उत्साहित भएका छौं । हामी अहिलेका जनप्रतिनिधिजस्तो विश्वासघात गर्दैनौं, त्यस गर्दा यस क्षेत्रमा उत्साह थपिएको छ ।
प्रतिस्पर्धा कोसँग ?
हाम्रो प्रतिस्पर्धा अहिले कसैसँग छैन । हामीसँग विगतमा अपराधीकरण गरेका र गलत क्रियाकलापमा लागेकाहरू हामीसँग प्रतिस्पर्धा गर्न आएका छन् ।

सूर्य विनायकका अहिलेका जनप्रतिनिधिले गलत नै गरेका थिए त ?
सबै जनप्रतिनिधिहरूले यस्तो गरे भन्न त सकिन्न । केही राम्रा पनि हुनुहुन्छ । भन्न खोजेको यहाँ प्रवृत्ति गलत थियो । अहिले त्यही गलत प्रवृत्तिलाई अन्त्य गर्नका लागि हामी चुनावी मैदानमा उत्रिएका हौं ।

सुरुमा टिकटको दौडधुपमा धेरै आकांक्षीहरू हुनुहुन्थ्यो, अहिले उहाँहरूका बीचमा तपाईंको सम्बन्ध कस्तो छ ?
यो विस्तारै समाधान हुने क्रममा छ । स्वाभाविक रूपमा एउटा दलमा धेरै आकांक्षी हुनुलाई गलत मान्न सकिन्न । यतिका साथीहरू हुनुहुन्छ, उहाँहरूको आआफ्नै योगदान पार्टीका लागिरहेको छ । त्यसले गर्दा उहाँहरूले पनि टिकट दाबी गर्नु स्वाभाविक कुरा हो । टिकट त एउटै हुन्छ, त्यो एक जनाले पाउने हो ।

तपाईंले जितेपछि सूर्यविनायक नगरपालिका कस्तो बन्छ ?
हामीले चुनाव जितेपछि सूर्यविनायक नगरपालिकाका जनताले म आफैं जनप्रतिनिधि हुँ भन्ने महसुस गराउने किसिमले हामीअघि बढ्छौं । विकासका सन्दर्भमा हामीले अधिकतम सहमति र न्यूनतम क्षतिका आधारमा विकासको मोडेलहरू अघि बढाउँछौं । यो पटक हामीले मतदातासँग मतदानको रूपमा लिइरहेका छैनौं, हामीले मत ऋणको रूपमा लिन्छौं । उहाँहरूबाट लिएको मतको ऋणलाई यो नगरको विकास र समृद्धि गरेर ब्याजसहित ऋण चुक्ता गर्ने अभियानमा हामी लाग्नेछौं । यसैगरी शिक्षा, स्वास्थ्य, सरसफाइ, पर्यटनलगायतका क्षेत्रमा पनि हामीले काम गर्नेछौं । हामी अहिले गाउँबाट नगरवासी त भयौं तर व्यवस्थित नगरवासी र सहरवासी हुनलाई सबै कामहरू बाँकी छन् । त्यो सबै कामहरू हामी गर्छौं ।