देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सांस्कृतिक संघद्वारा नेपाली कांंग्रेसको चुनावी गीत सार्वजनिक

देशान्तर

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाली सांस्कृतिक संघले यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मतदानको वातावरण तयार पार्ने चुनावी गीत सार्वजनिक गरेको छ ।

“कांग्रेसलाई जिताऔं” बोलको सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शंम्भुजित बास्काटाको संगीत, राधिका हमाल,सुजाता के.सी.,शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज के.सी.को निर्देशनमा तयार भएको हो ।

गीतमा नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने कारणसहित नागरिकहरुलाई रुख चिन्हमा मतदान गर्न अनुरोध गरिएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वी.पी. स्मृति भवन,सानेपा ललितपुरमा एक कार्यक्रमकाबीच गीतलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरेका छन् ।

“चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति ?” विषयक विचार गोष्ठी तथा नेपाली कांग्रेसको विजय  अभियानका लागि नेपाल सांस्कृतिक संघद्वारा तयार गरिएको चुनावी गीत तथा प्रचार प्रसार सामग्री सार्वजनिक कार्यक्रमलाई संबोधन गर्दै कांग्रेस महामन्त्री शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति  अनुरुप बनाउन सात प्रस्ताव अगाडि सारेका छन् ।

उनले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनु पर्ने, विगतमा गरिएका गल्ती र कमजोरीका बारेमा जनतासंग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कारको विकास गर्नुपर्ने, जनतालाई असंभव सपना देखाउन नहुने,आचारसंहिता र संवैधानिक अधिकारको पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपने र निर्वाचनको परिणामलाई स्वभाविक रुपमा स्वीकार्ने परम्पराको थालनी गर्नुपर्ने बताए।
कांग्रेस महामन्त्री शर्माले निर्वाचन पछि पनि सबैले मिलेर नेपाली समाजको सुधार र विकासको लागि गर्नुपर्ने थुप्रै काम रहेकोबताए। उनले दाइजो प्रथाको अन्त्य, जातीय भेदभाव र छुवाछुतको अन्त्य र स्वदेशमा रोजगारीको सबाल निकै संवेदनशील रहेको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरु घिमिरेले गीत र संगीतले सबैलाई मुग्ध बनाउने भएकोले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले चुनावी गीत ल्याएर प्रशंसनीय कार्य गरेको बताए।

उनले नेपाली कांग्रेस लोकतन्त्रवादी दल भएको तर अन्य दलहरुमा लोकतन्त्र र लोतान्त्रिक आचरणको कमी भएकोले नेपालमा लोकतान्त्रिक संस्कार बसाउन कठिन भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल सांस्कृतिक संघका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकूलपति विष्णुविभू घिमिरे,गायिका राधिका हमालले पनि बाेलेका थिए ।

नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन संघका महासचिव शिवशंकर रिजाल(जोगेन्दर  पानवाला)ले गरेका थिए ।