काठमाण्डौ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको उच्च व्यवस्थापन टोलीले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेशनहरुको स्थलगत अनुगमन भ्रमण गरेको छ ।
टोलीले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेशन निर्माणमा भइरहेको प्रगति, समस्या, काम सम्पन्न हुने तालिका लगायतका विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरुसँग विस्तृत छलफल गरी जानकारी लिएको हो।
अनुगमनका क्रममा कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोरमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन तथा सबस्टेशन महत्वपूर्ण भएकोले तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
उनले वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानका लागि स्वीकृतिको प्रक्रिया तत्काल अगाडि बढाउन र सामाजिक समस्याहरुलाई समाधान गरी प्रसारण लाइनको निर्माण सुरु गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिएका छन् । यसका लागि माथिल्लो तहमा आवश्यक पहल र समन्वय गर्न आफू तयार रहेको उनको उल्लेख छ ।
हाल मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका ४ वटा सबस्टेशनहरुको निर्माण भइरहेको छ । आयोजना अन्तर्गत चितवनको नयाँ भरतपुर, लमजुङको उदिपुर तथा खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेशनहरु निर्माण भइरहेको छ । नयाँ भरतपुर र उदिपुर सबस्टेशन तीन महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ।
खुदी सबस्टेशन एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने तत्कालै निर्माण कार्य सुरु भएको धारापानी सबस्टेशन भौगोलिक रुपमा विकट ठाउँमा रहेकाले निर्माणमा केही समय लाग्ने स्रोतले बताएको छ ।
नयाँ भरतपुर र उदिपुर सबस्टेशनमा क्रमश २२० र १३२ केभी, ३२० एमभीए र २२०र१३२ केभी, १६० एमभीए तथा १३२ र ३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु रहने छन् । दुवै सबस्टेशनहरुका मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ भने उपकरणहरुको जडान भइरहेको छ ।
खुदी र धारापानी सबस्टेशनमा क्रमश स् २२० र १३२ केभी, १६० एमभीए तथा १३२ र ३३ केभी, ५० एमभीए र २२० र १३२ केभी, १०० एमभीए तथा १३२ र ३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन् । खुदी सबस्टेशनको मुख्य सिभिल संरचनाहरु निर्माणाधीन छन् ।
लमजुङको दोर्दी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाहरुको विद्युत् दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदिपुर सबस्टेशनमा जोडिने छ । उदिपुर सबस्टेशनको निर्माणमा केही समय लाग्ने देखिएपछि दोर्दी खोलाका आयोजनाहरुको विद्युत् वैकल्पिक व्यवस्थामार्फत अहिले सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युत् गृहको स्वीचयार्डमा जोडिने छ । लमजुङकै ङादी तथा त्यसका सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत् आयोजनाहरुको विद्युत् खुदी सबस्टेशनमा जोडिने छ ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब ११३ किलोमिटर छ ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदिपुरबाट नयाँ भरतपुर सबस्टेशनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदिपुर सबस्टेशन निर्माणाधीन छन् । तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेशन निर्माण भइरहेको छ ।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।
प्रतिक्रिया