हिजो देशले ७२औं प्रजातन्त्र दिवस मनायो, अर्थात् देशमा प्रजातन्त्र स्थापना भएको ७१ वर्ष पुग्यो र त्यसैगरी बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएको ३२ वर्ष एवम् गणतन्त्र स्थापना भएको समेत झन्डै १५ वर्ष पुगिसकेको छ । प्रजातन्त्रमा जनताको मत अभिव्यक्त हुने माध्यम भनेको जनताका प्रतिनिधि संस्था राजनीतिक दलहरू नै हुन् । त्यसैले प्रजातन्त्रको मेरुदण्डको रुपमा राजनीतिक दलहरुलाई लिइन्छ भने यिनका गतिविधिमा प्रजातन्त्रको स्थायित्व निर्भर गर्दछ ।
नेपालमा राजनीतिक दलकै चरित्र, कर्म र व्यवहारकै कारण प्रजातन्त्र सुदृढ हुन सकेको छैन, त्यससँगै राजनीतिक स्थायित्व पनि हुन सकेको छैन । राजनीतिक दल र यसको नेतृत्व, देश र जनताप्रति पारदर्शी एवं उत्तरदायी बन्न सकेको, क्रान्ति, जनआन्दोलन, विरोध कार्यक्रमका नाममा लामो राजनीतिक संघर्ष र पटकपटकको सत्ताको राजनीति गरेर अनुभवले खारिएका भनिएका राजनीतिक दल र तिनको नेतृत्व अझै पनि लहडको भरमा अपरिपक्व र देश र जनताप्रति पर्वाह नराखी खेलबाडको राजनीति गरिरहेका छन्, जसले संविधान र राजनीतिक प्रणाली माथि नै संकट उत्पन्न गरिरहेका छन् । यसको पछिल्लो एक उदाहरण हो बहुचर्चित एमसीसी प्रकरण ।
निश्चयः नै राजनीतिक दलका आ–आफ्ना राजनीतिक सिद्धान्त, विचार र कार्यक्रम हुन्छन् । दलहरूका बीच शक्ति आर्जन गर्न र सत्तामा पुग्नका लागि राजनीतिक प्रतिस्पर्धा स्वाभाविक राजनीतिक प्रक्रिया हुन् तर राजनीतिक दलहरूले दलीय राजनीतिक प्रतिस्पर्धा गर्दा देशको सार्वभौमिकता, परराष्ट्र मामिलालगायतको राष्ट्रिय स्वार्थका विषयमा राजनीति गर्न हुँदैन, कुनै राजनीतिक खेलबाड गर्न हुँदैन । यी यस्ता देशका संवेदनशील विषय राजनीतिक दलको प्रतिस्पर्धा वा राजनीतिक लाभहानीको विषय बन्नु हुँदैन । यसतर्फ राजनीतिक दलहरू गम्भीर बन्नुपर्छ । तर नेपाली राजनीतिको दुर्भाग्य नेपाली राजनीतिक दल र तिनको नेतृत्व देशको यस्तै संवेदनशील विषयमा राजनीतिक दल र तीनका नेताको राजनीतिक लाभहानीलाई हेरेर राजनीतिक गरिरहेका छन् र देशको स्वाभिमान र अस्मितामाथि नै गम्भीर खेलबाड गरिरहेका छन् ।
राष्ट्रिय स्वार्थका संवेदनशील मुद्दालाई पनि सत्ता सौदाबाजीको विषय बनाउने प्रवृत्ति नेपाली राजनीतिको सबैभन्दा भद्दा रूप हो । एउटै राजनीतिक वा अन्य कुनै मुद्दामा सरकारमा भएको बेला एउटा कुरा गर्ने, प्रतिपक्षमा भएको बेलामा अर्को कुरा गर्ने प्रवृत्ति राजनीतिक इमानदारिता हैन, यो राजनीतिक धोखाधडी र देश र राजनीतिक प्रणालीकै लागि बेइमानी हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमसीसी प्रकरणमा प्रधानमन्त्रीसँग मिलेर अमेरिकालाई पाँच महिनाभित्र एमसीसी अनुमोदन गरिनेछ भनेर पत्र लेख्छन् तर कार्यकर्ता र आम जनता एमसीसी पास गर्न हँुदैन भन्दै कार्यकर्तालाई उचालेर विरोध प्रदर्शन गर्न लगाउँछन् । यस्ता स्वाँठ नेता भएसम्म नेपाली राजनीतिले स्थिरता पाउने छैन । राजनीतिलाई सुल्झाउनेभन्दा देशको राजनीतिलाई थप जटिल बनाउने र त्यसबाट राजनीतिक लाभहानीको सौदाबाजी गर्दै राष्ट्रियता, राष्ट्रिय अखण्डता र देशको स्वाभिमान माथि चरम खेलबाड गर्ने प्रचण्ड प्रवृत्ति देश र जनताप्रतिको चरम राजनीतिक अपराध हो । नेपाली जनताले बेलैमा यस्तो प्रवृत्तिको दल र नेतालाई जान्न बुझ्न जरुरी छ ।
प्रजातान्त्रिक शासन पद्धतिमा आदर्शको राजनीतिको अपेक्षा राखिन्छ । यसका लागि राजनीतिक नेतृत्वमा उच्च नैतिक चरित्र, जनताप्रति जवाफदेहिता र मर्यादित राजनीतिक व्यवहार आवश्यक हुन्छ न कि कुण्ठा, प्रतिशोध र पूर्वाग्रही राजनीतिक व्यवहार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अहिले यस्तै व्यवहार प्रदर्शन गरिहेको छ । हिजो आफंै सरकारमा हुँदा संसद्मा दर्ता गराएको एमसीसीलाई वर्तमान सरकारले संसद्बाट अनुमोदन गर्ने प्रयत्न गर्दा सरकारलाई सहयोग नगरी द्वैध राजनीतिक चरित्र देखाएर राजनीतिक मोलमोलाइ गर्दै एमसीसीका विषयमा तमासे भएर बसेको छ, यस्तो तुच्छ राजनीतिक प्रवृत्ति निन्दनीय छ । निश्चित राजनीतिक अडान, निर्णय गर्न सक्ने सामथ्र्य र विश्वसनीय राजनीतिक व्यवहार नभएको राजनीतिक नेताबाट देश र जनताले धेरै आशा गर्न सक्दैन । नेपाली राजनीति र देश अहिले यस्तै द्वैध राजनीतिक चरित्र भएका राजनीतिक नेतृत्वबाट शासित हुन बाध्य छ । यसबाट मुक्त नभई नेपाली राजनीति र प्रजातान्त्रिक आन्दोलनले सही बाटो समात्न सक्दैन ।
प्रतिक्रिया