देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डीआईजी रञ्जितकारको असुली धन्दा

देशान्तर

वीरगन्ज । मधेस प्रदेशको नेपाल प्रहरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डीआईजी उमेश रञ्जितकारले बदनाम झुन्ड बनाएर आठवटै जिल्लाबाट तस्करीको लाइन बाँडेर कुस्त रकम असुली रहेका छन् । वर्तमान नेपाल प्रहरीको महानिरीक्षक आईजी शैलेश थापासँगै वैशाख १९ गते घर जाने भएकाले तस्करी रोक्ने मुख्य काम सशस्त्र प्रहरीको हो भन्दै आफ्नो मातहतमा बदनाम घुमुवाहरूको टिम बनाई करोडभन्दा बढी रकम महिनावारी असुली गरेको खबर प्राप्त भएको छ ।

पर्सा जिल्लामा काठमाडौं दरबन्दी भएका प्रहरी हबलदार राजु गुप्ता, बारामा महोत्तरी दरबन्दी भएका प्रहरी जवान सञ्जय जयसवाल, रौतहट जिल्लामा बारा दरबन्दी भएका प्रहरी हबलदार राजमंगल सिंह, सर्लाही जिल्लामा असई लालजी यादवलाई खटाइएको छ । उनको दरबन्दी रौतहटमा रहेको छ । सिंहको सहयोगको लागि प्रहरी हबलदार विनोद राम र प्रहरी जवान मञ्जित यादवलाई खटाइएको छ । उनीहरूको दरबन्दी क्रमशः नुवाकोट र सिन्धुली जिल्लामा रहेको छ । महोत्तरी जिल्लामा सञ्जय पासवान असई दरबन्दी काभ्रे, प्रहरी हबलदार बैजु यादवको दरबन्दी काठमाडौं र प्रहरी जवान राजेश यादव खटेका छन् । धनुषा जिल्लामा सई रामरेख यादवको कमान्डमा प्रहरी हबलदार महेन्द्र महतो खटेका छन् । उनको दरबन्दी सिन्धुपाल्चोक भएता पनि डीआईजी रञ्जितकारको आशीर्वादले धनुषामै काजमा बसी असुलीमा इमानदार देखिएको कारणले यसपटक भएको सरुवामा धनुषामैं दरबन्दी कायम गराउन सफल भएका छन् ।

सिरहा जिल्लामा हबलदार सन्तोष झा र सप्तरी जिल्लामा असई उदय सिंहलाई असुलीको जिम्मेदारी दिइएको छ । पर्साबाट ३५, बाराबाट २५, रौतहटबाट २५, सर्लाहीबाट २०, महोत्तरीबाट २५, धनुषाबाट ३०, सिरहाबाट २० र सप्तरी जिल्लाबाट २० लाख गरी कुल १ करोड ४५ लाख केवल तस्करीको पैसा डीआईजी उमेश रञ्जितकारले प्रत्येक महिनाको १ देखि ५ गतेभित्र बुझिरहेका छन् । घरेलु मदिरा र जुवाको खालबाट उठाइने रकम यसमा समावेश गरिएको छैन ।