काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले आगामी चुनावलाई केन्द्रमा राखेर कार्यकर्ता परिचालनसहितका चुनावी कार्यक्रमलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने भएको छ । कार्यकर्ता परिचालनलाई सहज र चुस्त बनाउने कांग्रेस भ्रातृ संस्था परिचालनको विषयलाई केन्द्रमा राखेको बुझिएको छ ।
कांंग्रेसले माघ २७ गतेका लागि कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएको छ । गत साता कांग्रेसले ३७ सदस्यीय कार्य सम्पादन समिति गठन गरेपछि पहिलोपटक बैठक बोलाएको हो ।
स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेका बेला बोलाइएको कार्यसम्पादन समितिमा खासगरी स्थानीय तहको निर्वाचन र भ्रातृ संस्थाको महाधिवेशनका बारेमा छलफल हुने जनाइएको छ । नेपाली कांग्रेसले यसपटक विशेष रणनीति बनाएर स्थानीय तहको निर्वाचनमा जाने तयारी गरेको छ । अघिल्लोपटक नेकपा माओवादी केन्द्रसँग केही पालिकामा गठबन्धन गरेको कांग्रेसमा यसपटक गठबन्धन नगरी एकल रूपमा चुनावमा जान दबाब छ ।
कांग्रेसका भ्रातृ तथा शुभेच्छुक गरी आठ वटा संस्था कम्तीमा आठ वर्षदेखि महाधिवेशन गर्न नसकेर नेतृत्वविहीन अवस्थामा छन् । नेविसंघ र तरुण दलका अध्यक्षहरू पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ती संगठन पनि नेतृत्वविहीन भएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले आगामी कार्यसम्पादन समितिको बैठकमा भ्रातृ संस्थाको महाधिवेशनका बारेमा छलफल हुने र एउटा निष्कर्षमा पुग्ने बताएका छन् ।
मन्त्री को ?
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका बेला कांग्रेस नेता डा.मीनेन्द्र रिजाललाई रक्षामन्त्री बनाए । त्यस्तै कांंग्रेस नेता गैरसांसद गजेन्द्रबहादुर उद्योग मन्त्री बने । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका रिजाल निर्वाचनमा पराजित भए ।
नियुक्त भएको तेस्रो दिन हमालले पदबाट राजीनामा दिए भने महामन्त्रीमा हारेपछि नैतिकताको कारण देखाउँदै रिजालले रक्षामन्त्रीबाट पनि राजीनामा दिए । दुवै मन्त्रीको राजीनामा पछि कांग्रेसको भागमा परेकामध्ये दुई मन्त्री पद रिक्त छन् ।
अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले रिक्त दुवै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । हमाल देउवाको कोटामा मन्त्री भएका थिए भने रिजाल वरिष्ठ नेता रामचन्द्र पौडेलको कोटामा नियुक्त भएका थिए । अब देउवाले चुनावी सरकारका लागि दुवै मन्त्री नियुक्त गर्ने तयारी गरिरहँदा कांग्रेस भित्रै को मन्त्री बन्ने भनेर हानथाप सुरु भएको छ ।
बालवाटार स्रोतका अनुसार देउवाले उद्योग मन्त्रीमा मीन विश्वकर्मा र रक्षामन्त्रीमा सुजाता कोइरालालाई नियुक्त गर्ने तयारी गरेका छन् । नेता प्रकाशमान सिंहको सिफारिसमा कोइराला रक्षामन्त्री बन्ने चर्चा चुलिएको छ । तर, यसअघि नै उपप्रधानमन्त्री बनिसकेकी कोइराला बन्त्री बन्न जान्छिन कि जान्नन् भन्ने छलफलकै विषय छ । विश्वकर्मा देउवा पक्षकै नेता हुन् ।देशान्तर साप्ताहिककाे माघ २३ गतेकाे अंकबाट
प्रतिक्रिया