महाधिवेशनको नाममा देशभरबाट प्रतिनिधिलाई चितवनमा भेला गरी आफ्नै गोजीबाट नामावलीको चिर्कटो निकालेर केन्द्रीय कमिटीको घोषणा गर्दासमेत सर्वसम्मत बनाउन नसकेका एमाले अध्यक्ष केपी ओलीले पार्टीको दसाैं महाधिवेशनलाई मात्रै ‘ओलीवेशन’ बनाएनन् देशभर भइरहेका उनको पार्टीको जिल्ला अधिवेशनहरूलाई पनि ओलीवेशनमा परिणत गरेको ‘१० बुँदे’ सहमतिलाई मूलमन्त्र मानेर अन्तिममा वरिष्ठ नेता माधवकुमार नेपाललाई धोका दिई ओलीसँगै लम्पसार परेका नेताहरूले नै बताउन थालेको एक १० बुँदे समर्थक केन्द्रीय सदस्यले देशान्तरलाई बताए । अध्यक्ष ओलीको यो रबैया रहिरहेमा एमालेमा रहिरहनुको औचित्य सकिने र राजनीति पनि सकिने अवस्थामा पुगेकोले अब १० बुँदे समर्थक एक भएर ‘ओली रबैया’विरुद्ध सशक्त निर्णय गर्नुपर्नेमा सबै एकमत रहेको पनि उनको भनाइ छ ।
लामो समयदेखि सक्रिय जिल्ला तहका नेताहरूमा निराशासँगै एमालेभित्र आक्रोश छाएको त्यही पार्टीका स्थानीय नेताहरूले पनि बताउन थालेका छन् । ओलीले कसलाई अध्यक्ष र कसलाई सचिव बनाउने भन्ने सूची सबै जिल्लामा पु¥याई सकेसम्म चुनाव नगराउनु, गराइहाले पनि आफूले भनेका मान्छेलाई निर्वाचित गर्नु भन्ने आन्तरिक सर्कुलर जारी गरेपछि उनले भनेअनुसार नै नाममात्रका अधिवेशन गरिएका छन् र नेतृत्व छानिएका छन् । ओलीको निगाह पाउनेहरू जिल्ला कमिटीको नेतृत्वमा परे, उनको निकटमा नरहेकाहरू बाहिर । चितवन महाधिवेशनमा अध्यक्षले जे गर्नुभयो, जिल्ला अधिवेशनमा त्यही दोहोर्याउनु भयो, यसले कार्यकर्ता तहमा राम्रो सन्देश गएको छैन, स्थानीय एक नेताले देशान्तरसँग भने ।
देशभरका ६१ जिल्लामा एकैसाथ अधिवेशन सुरु गरेको एमालेमा ओलीको आदेश मान्ने वा नमान्नेमा कार्यकर्ताबीचमा नै विवाद हुँदा एक सातासम्म मा पनि तोकिएका जिल्लामा अधिवेशन सम्पन्न हुन सकेको छैन । एमाले मुख्यालयका अनुसार शनिबारसम्म जम्मा ५६ वटा जिल्लामा मात्रै अधिवेशन भएको छ । अधिकांशमा ओलीले पठाएको सूचीअनुसार सहमतिको नाममा टीका लगाइएको छ भने ओलीको सूची नमानेका जिल्लामा चुनाव गराएर ओलीकै निकटस्थहरूलाई विजयी घोषणा गरिएको छ ।
देशैभर ओलीका समर्थकले जिल्ला नेतृत्व हत्याउँदा १० बुँदे सहमतिबाट एमालेमा फर्किएकाहरूको भने कन्तबिजोग भएको छ । चितवनको ओलीवेशनबाट पाखा लागेका उनीहरू जिल्ला ओलीवेशनबाट त बढारिएका छन् । ओलीको आशीर्वाद थापेर पद पाएका केही नेताहरूले आफ्नो जिल्लामा समेत आफू अनुकूल नेतृत्व स्थापित गर्न सकेनन् । १० बुँदे सहमतिको नेतृत्व गरेका तत्कालीन उपाध्यक्ष तथा अध्यक्षमा ओलीसँग पराजित भएका भीम रावलले आफ्नै जिल्ला अछाममा समेत आफूपक्षीय नेतालाई जिल्ला नेतालाई अध्यक्ष बनाउन असफल भए । घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायतका नेताहरूको जिल्लामा उपस्थिति र प्रभावशून्य देखिएको छ । दसबुँदेलाई बोकेर एमालेमा फर्केकाहरू फेरि रुल्ल टुल्ल भएका छन् ।
कोभिड नियन्त्रणको ढोंग
कोरोनाको पहिलो र दोस्रो लहरमा सरकारको नेतृत्व गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको नेकपा एमालेले कोभिडको तेस्रो लहर फैलिन थालेपछि नियन्त्रणका लागि भन्दै देउवा सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले आफूले सरकारको नेतृत्व गर्दा भएका भ्रष्टाचारका विषयदेखि लापरबाहीसम्मका सबै विषयलाई बिर्सेर वर्तमान सरकारका ११ वटा कमजोरी आंैंल्याई प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदा विगतलाई भने चटक्कै भुलेको छ । विगत मात्रै के भन्नु ? वर्तमानमा नै एमालेले कोभिड फैलाउन गरेका गतिविधिलाई पनि उसले बेवास्ता गरेको छ ।
सरकारले कोरोना महामारीमा २५ जनाभन्दा बढी व्यक्तिलाई सार्वजनिक ठाउँमा भेला हुन बन्देज लगाए पनि एमालेले शुक्रबार मात्रै ७ भन्दा बढी ठाउँमा सम्पर्क मञ्चको भेला गरेर सरकारी नियमको अवज्ञा मात्रै गरेन कोरोनाको हटस्पट बनेको काठमाडौंंमा कोरोना फैलाउन थप मद्दत गरेको स्पष्टै देखिएको छ । मास्कसमेत नलगाई एक सयभन्दा बढी नेता तथा कार्यकर्ता सहभागी गराएर सम्पर्क कमिटीको अधिवेशन गरेको एमालेले उल्टै सरकारको कमी कमजोरी औंंल्याउनु आफ्नै कमजोरी लुकाउनु जस्तै भएको छ ।
त्यति मात्रै कहाँ हो र ? एमालेका नेताहरू कति लापरवाह छन् भन्ने त शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देखिएको एमाले सचिव योगेश भट्टराईको गतिविधिले पनि प्रष्ट्याएको छ । उनले आफ्नो धोती खुस्किएको चालै पाएनन्, तब पाए जब उनको फोटो सार्वजनिक सञ्चारमाध्यममा र सामाजिक सञ्जालमा छायो । कोरोना महामारीमा सरकारको आलोचना गर्न ज्ञापनपत्र लिई प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष जाँदा योगेश भट्टराईले मास्क नै लगाएका थिएनन् । सरकारको कमजोरी देखाउन जाँदा आफू नै चिप्लिएको थाहा नपाउने योगेशले सरकारको कमजोरी केलाउनु नैतिकताले नै नदिने भन्दै बजारमा चर्चा चलिरहेको छ ।देशान्तर साप्ताहिक वर्ष ३९, अंक ३६ बाट साभार
प्रतिक्रिया