हिउँदे वर्षासँगै मौसममा आएको परिवर्तनका कारण अहिले देशभर अत्यधिक चिसो बढेको छ भने उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।
वर्षासँगै हिमपात हुँदा जनजीवन कष्टकर बने पनि कृषिमा आश्रित नेपालीहरूलाई यसले राहत पनि दिएको छ । मौसममा आएको परिवर्तनले गर्दा चिसो बढ्दै जाँदा गरिखाने वर्गलाई भने यसले मार पार्ने नै भयो, जसले गर्दा उनीहरूको दैनिकीमा असहजता आएको छ ।
स–साना बालबालिका र वृद्धवृद्धालाई पनि चिसोले अत्यधिक प्रभाव पार्ने भएकाले घरबारविहीन अवस्थामा रहेकाहरूको अवस्था के होला सोचनीय छ । कोरोना महामारीका कारण अहिले पनि आम नेपालीको जनजीविका सहज भइनसकेको अवस्थामा चिसो बढ्दा त्यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीमा पनि धेरै पहुँचबाहिर नै रहेका छन् ।
अहिले पनि रातिको समयमा चिसो हुने भन्दै असावधानीवश कोइला, दाउरा, हिटर बालेर सुत्नेहरूका लागि चिसो आफैंमा काल बनेर आएको थुप्रै उदाहरणहरू भेट्न सक्छौं । त्यसैले अहिलेको मौसमबाट जोगिनका लागि पनि हामीले धेरै सावधानी अपनाउन जरुरी छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । कतिपय पर्यटकीय क्षेत्र पनि प्रभावित भएका छन् भने हिमाली क्षेत्रका पदमार्ग बन्द गरिएको छ । अन्नपूर्ण पदमार्गमा हिउँ पर्दा र केही स्थानमा हिउँ पहिरो जाँदा पर्यटक र स्थानीयवासीलाई समेत उद्धार गर्नुपर्ने अवस्था आइसकेको छ । घर आँगनमै हिउँ पर्दा हुम्ला, जुम्ला र डोल्पालगायतका कतिपय जिल्लाका मानिस घरबाट बाहिर निस्कन सकेका छैनन् । गोठमा रहेका बस्तुभाउ तथा चौपाया चरन क्षेत्रसम्म पुर्याउन नसक्ने अवस्था छ । यही बीचमा पूर्वी तथा मध्य तराईमा शीतलहर सुरु भएको छ । पुसे झरीमा समेत रुझ्न बाध्य मानिस शीतलहर खेप्न बाध्य भएका छन् । भत्केको झुपडीमा पातलो लुगा लगाएर लगलग काँपेर दिनरात बिताउने अवस्थामा उनीहरू पुगेका छन् ।
तराईमा पनि शीतलहरका कारण बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । खासगरी बारा, पर्सा, रौतहट, धनुषा, सिरहा र सप्तरीका विपन्न परिवारका मानिसहरूले जाडोकै कारण ज्यान गुमाइरहेको समाचारहरू बर्सेनि आउने गरेको छ । न्यानो लुगा छैन, पक्की घर छैन, आगो ताप्न दाउरा छैन, घरमै बसीबसी खान अन्न छैन ।
जाडोमा न्यानो लुगा लगाउन नपाएर तथा पेटभरि खान नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउँदासमेत जिम्मा लिन्छु भन्ने तर कुनै पनि तहका सरकारले कुनै काम गरेको अहिलेसम्म सुन्नमा आएको छैन । मुलुकमा यतिबेला तीन तहका सरकार छन्, स्थानीय, प्रदेश र संघीय सरकार छ तर, जाडो उत्कर्षमा पुग्दा र नागरिकहरू लगलग काँप्दासमेत कुनै पनि तहका सरकारले जनतालाई न्यानो बाँड्ने योजना बनाएका छैनन् । सबैभन्दा बढी समस्या देखिने प्रदेश २ को सरकारले बर्सेनि कार्यक्रम ल्याउँछ तर कार्यान्वयन तहमा पुगेको सुनिएको छैन ।
जाडोसँगसँगै कोरोनाको जोखिम उच्च बन्दै गइरहेको छ, यसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सिंगो विश्व आक्रान्त छ र छिमेकी मुलुक भारतमा पनि यसले आफ्नो त्रासदीको प्रभाव बढाउँदै लगेको छ । राजधानी नयाँ दिल्लीका शिक्षण संस्था बन्द गरिएको छ भने सार्वजनिक सवारी साधन र व्यापारिक केन्द्रमा प्रतिबन्धका नियम लागू गरिएको छ ।
भारतमा कोरोना संक्रमण बढ्दा त्यसको असर नेपालमा पनि पर्ने विगतका घटनाहरूबाट पुष्टि हुन्छ । खुला सिमाना र सहज आउजाउ तथा सीमा नाकामा फितलो व्यवस्थापनका कारण भारतमा फैलिने महामारीले नेपालमा सहजै प्रवेश पाउने स्पष्ट छ । यस्तो अवस्थामा नेपालमा चिसो बढ्दा अझ बढी सचेत र सावधान हुनु पर्नेछ ।
कुनै पनि महामारीबाट नागरिकलाई जोगाउनु सरकारको पहिलो कर्तव्य हो, अझ लोकतान्त्रिक र लोककल्याणकारी राज्यले त जनताका हरेक समस्यामा ध्यान पु¥याउनु जरुरी छ । जनतालाई चिसोबाट जोगाउन सरकारले न्यानो बाँड्ने तथा अन्य उपायहरू अवलम्बन गरी सुरक्षित राख्नु पनि सरकारको दायित्व हो । यसतर्फ लोकतान्त्रिक सरकारको ध्यान जानु अत्यन्त जरुरी छ ।
प्रतिक्रिया