देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात

देशान्तर

काठमाडौँ – पश्चिमी वायु तथा न्युनचापीय प्रणालीका कारण देशका विभिन्न ठाउँमा वर्षासँगै हिमपात भएको छ। काठमाडौँ उपत्यकाको चन्द्रागिरीमा हिउँ परेको छ।

हिमपात भएपछि आज चन्द्रागिरीमा हिउँ खेल्नेहरुको भीड लागेको छ। यस्तै मकवानपुरको दामन र सिमभन्ज्याङमा पनि हिउँ परेको छ। यस्तै रसुवा, दोलखाका हिमाली भेगमा पनि हिमपात भएको छ। गोरखा, लमजुङ, मनाङ र मुस्ताङमा पनि हिमपात भएको छ।

उता हिमपातका कारण कर्णालीका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। बुधबार रातीदेखिको वर्षा तथा हिमपातले हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम पश्चिमको जनजीवन प्रभावित भएको हो।

वर्षा एवम् हिमपातका कारण चिसो बढ्यो

देशभर बदली तथा वर्षा एवम् हिमपातका कारण चिसो अत्यधिक बढेको छ। पश्चिमी क्षेत्र हुँदै पूर्वतिर सर्दै गएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यकासहितका देशका अधिकांश क्षेत्रमा पानी परेको छ।

मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर सामान्यदेखि पुर्ण बदली रही अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  बिहीबार पनि वर्षाको सम्भावना छ भने  शुक्रबारदेखि मौसम क्रमिक रुपमा सुधार हुनेछ।