काठमाडौँ – एमसीसी खारेज गर्न माग गर्दै आएका मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मालेसहितमा राजनीतिक दलहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रर्दशन गरेका छन ।
एमसीसी संसदबाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनालीसहितका नेताहरुको अगुवाईमा काठमाडौंमा विरोध प्रर्दशन गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले एमसीसी अनुदान नभएको दावी गरे । उनले कुनै पनि अनुदान संसदबाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताए । महासचिव मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीति भित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताए । उनले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताए ।
महासचिव मैनालीले भने यो एमसीसी जुन प्रयोजनको निम्ति नेपालमा आइरहेको छ त्यो भनेर प्रचार गरिएअनुसारको आएको छैन । यसलाई अनुदान हो भनिरहेका छन् । यो अनुदान हुँदै होइन । कुनै अनुदानलाई संसदबाट पास गर्नुपर्छ र ? एमसीसी अमेरिकाको एउटा रणनीतिको अभिन्न अंग हो । नेपाललाई उसले त्यो रणनीति भित्र पार्न चाहन्छ । सैनिक संगठनमा नेपाललाई प्रयोग गर्न चाहन्छ । किनभने चीनसँग उसको जुन बिरोध भइरहेको छ । त्यो चीनसँग लड्नको निम्ति नेपाललाई उसले अखडाको रुपमा प्रयोग गर्न चाहन्छ । हामी त्यो अखडा बन्न दिँदैनौँ । त्यो नेपाल अफगानिस्तान र इराक बन्नु हो । ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री हुनु हुँदैन भन्ने हाम्रो भनाइ हो ।’
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताए । उनले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाए । नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए । उनले एमसीसी पारित भए नेपाल रणभूमिमा परिणत हुने दाबी गरे । उनले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेको आरोप लगाए ।
नेता गजुरेलले भने, ‘हामीले एमसीसी एउटा धोका हो भनेर आज पनि नारा लगाइरहेका छौँ । बाहिर एउटा कुरा हो । हात्तीको देखाउने दाँत जस्तो छ । भित्रि दाँत अर्कै छन् । विकास निर्माणको नाममा आउने तर संयुक्त राज्य अमेरिकाले आफ्नो सुरक्षा रणनीतिलाई यसको माध्यमबाट लागू गर्ने यसको उद्देश्य भएकोले त्यस्तो काम हुँदा हाम्रो मुलुकको शान्ति खतरामा पर्ने, हाम्रो मुलुक रणभूमिमा परिणत हुने, स्वतन्त्रता र सार्वभौमिक सत्ता खण्डित हुने, देशकै अस्तित्वमा प्रश्न उठ्ने भएकोले एमसीसी सम्झौता धोका र राष्ट्रघाती हो । सत्ताधारीहरुले एमसीसीको बारेमा खुलेर बोल्न चाहेको छैन । राष्ट्रिय जनमोर्चाले खुलेर बिरोध गरिरहेको छ भने अरु दल मौन छन् । विदेशीहरुको पैसा खाइसकेकोले एमसीसी पास गर्न बाध्य छन् । तर हामी त्यो हुन दिँदैनौँ । एमसीसी सम्झौता खारेज नभएसम्म हाम्रो आन्दोलन जारी नै रहन्छ । जनतामा पुग्न नसकिने र भोट घट्ने हो कि भन्ने डरले गठबन्धनका नेताहरु लर्खराएका मात्रै हुन् । राष्ट्रिय जनमोर्चाबाहेक अन्य सरकारमा सहभागी दल बाह्य शक्तिको अघि कुनै न कुनै हिसावले चुकेको हुनाले, झुकेका हुनाले यो समस्या आएको भएको हो । २००७, २०४६ र २०६३ सालका राजनीतिक परिवर्तनमा साथ दिएकाहरुले उनीहरुको प्रभाव र हस्तक्षेपलाई संलग्न दलहरुले स्वीकार गरेको हुनाले उनीहरु चुकेका छन् । आश्वासनमा बिकेका छन् । उनीहरुको पैसामा बिकेका छन् ।’
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले ससदवादी दलमा पनि देशभक्त नेताहरु भएकोले सहजै एमसीसी पास हुन नसकेको बताए । उनले केही पार्टीहरु फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताए ।
संयोजक दुलालले भने संसदवादी पार्टीहरु भित्र पनि देशभक्तहरु प्नि छन् । उनीहरु यसलाई सजिलैसँग पारित हुन दिने स्थितीमा छैनन् । केही संसदवादी पार्टीहरु विभिन्न फुटहरुबाट आएका छन् । उनीहरु आगामि चुनावमा यो मुद्दाले असर नगरोस् भनेर पनि पहिला एमसीसीको पक्षमा हौसिएजति अहिले हौसिएका छैनन् ।’
संयोजक दुलालले एमसीसी लागू भएको छैन भन्ने कुरा सत्य नभएको र एमसीए भन्ने संस्था बनेर ११ अर्ब बढी रकम खर्च गरिसकेको बताएका छन् ।
प्रतिक्रिया