देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

देशान्तर

काठमाडौं – गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो । त्यसयता घट्दै गएको बजार दुई महिनापछि (कात्तिक २ मा) २ हजार ५ सय १० अंकमा ओर्लिएको छ ।

यस अवधिमा नेप्से उच्च अंकबाट २१.५ प्रतिशत घटिसकेको छ । परिसूचकसँगै दैनिक कारोबार रकममा पनि कमी आएको छ । यसअघि गत साउन ३१ मा २१ अर्ब ६४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । हाल ३–४ अर्बमा खुम्चिने गरेको छ ।

यसअनुसार मंगलबार कुल ३ अर्ब ७८ करोडको कारोबार भयो । दुई महिनाको अवधिमा लगानीकर्ताको सम्पत्तिको मूल्य कुल बजार पुँजीकरण ९ खर्ब रुपैयाँ घटेको छ । यसअघि कुल बजार पुँजीकरण ४४ खर्ब रुपैयाँसम्म पुगेको थियो । पुँजीकरण हाल ३५ खर्बमा खुम्चिएको छ ।

पछिल्लो समय बजार घट्नुको मुख्य कारण नै बैंकहरूले गरेको ब्याजदर वृद्धि रहेको सेयर विश्लेषक रवीन्द्र भट्टराई बताउँछन् । ‘ब्याजदरले खालि ऋणीलाई मात्रै असर पार्ने होइन, बैंकमा पैसा भएकाहरूले पनि झिकेर लगानी गर्न चाहँदैनन् । यसले खरिद पक्षलाई कमजोर बनाउँछ ।’

त्यसअघि राष्ट्र बैंकले ल्याएको सेयर कर्जामा ४ र १२ करोडको सीमा र हाल ब्याजदरले असर पारेको उनले प्रस्ट्याए । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोमा सेयर खरिदका लागि एक व्यक्ति वा संस्थाले बढीमा १२ करोड रुपैयाँसम्म ऋण पाउने र एक बैंक वा वित्तीय संस्थाबाट ४ करोडसम्म मात्रै पाउने गरी सीमा तोकिदिएको थियो । सीमाभन्दा बढी ऋण लिएकालाई घटाउन एक वर्षको समयसीमा दिइएको छ ।

कतिपयले दसैंपछि लगानीयोग्य रकममा सहजता आउने र ब्याजदर घट्ने अनुमान गरेका थिए । तर दसैंपछि ब्याजदर थप बढेपछि बजारलाई असर पारेको भट्टराईको भनाइ छ । यसरी बजार घट्दा जलविद्युत् र फाइनान्स उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । दुई महिनाको अवधिमा जलविद्युत् र फाइनान्स उपसमूहको सूचक ३४ प्रतिशत घटेको छ । बैंकिङ उपसमूह अरूभन्दा कम घटेको छ । कान्तिपुर दैनिकबाट