काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन् ।
देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट पारित गर्नुपर्ने छ ।
प्रमुख विपक्षी नेताका रूपमा देउवाले यसअघि ओलीसँग हार्दिकतापूर्ण सम्बन्ध राखेका थिए । विपक्षी नेताका रूपमा देउवाले ओलीलाई अप्ठ्यारो पारेनन् । प्रधानमन्त्रीबाट आफू हट्नुपरेका कारण सुरुआती दिनका असन्तुष्टि बाहेक ओलीका पनि देउवासँग खासै गुनासा छैनन् ।
ओलीको सबैभन्दा बढी आक्रोश नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छ । नेपाल र दाहाल सत्तासाझेदार भए पनि एमसिसी पारित गर्ने विषयमा देउवाका लागि ओली निकट हुन सक्छन् ।
देउवाका निम्ति नेपाल र दाहाल एमसिसी पारित गर्ने विषयमा चुनौती हुन सक्छन् । तर ओलीको साथ लिन सके भने उनलाई राजनीतिक रूपमा लाभ हुने देखिएको छ । एमसिसी उपाध्यक्ष फतिमा सुमारको आगामी बिहीबारदेखि हुने नेपाल भ्रमणका क्रममा नेपाल र दाहालसँग समेत वार्ता गर्ने कार्यक्रम तय भइसकेको छ । सुमारसँग कुराकानी भइसकेपछि उनीहरू संसद्बाट एमसिसी पारित गर्ने बाटोमा जान पनि सक्छन् । तर पनि कुसूचनाले धेरै गिजोलिसकेको एमसिसी मुद्दाले पार पाउन सहज छैन ।
यी समग्र विषयलाई ध्यानमा राख्दै गत मंगलबार देउवाले आफ्ना विश्वासपात्र कानुन तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीसँग भेटका निम्ति पठाएका थिए । ओलीसँग पहिल्यैदेखि राम्रो सम्बन्ध रहेका कार्कीले संसद् सुचारु गर्न आग्रह गरेका थिए । प्रमुख विपक्षीले संसद् बहिष्कार गरेर अगाडि बढ्न नदिएमा फेरि अध्यादेशबाटै शासन गर्नुपर्ने स्थिति आउन पनि सक्छ ।
सकेसम्म संसद्मा रहेका अध्यादेश पारित गर्ने र ओली सरकारले ल्याएकै बजेटबाट अगाडि बढ्न सक्ने संकेत पनि सरकारले दिएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकबाट ओली सरकारले ल्याएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय गरेर देउवाले हर्दिकताको हात फैलाइसकेका छन् ।
‘संसद् सुचारु गर्न विपक्षी दलको सहयोग चाहिन्छ,’ कार्कीले ओलीसँगको भेटबारे प्रस्ट पार्दै भने, ‘सरकार र विपक्षी दलको कार्यगत सम्बन्ध हुनु जरुरी छ । हामी सबैले ठूलो बलिदान, समर्पण र त्याग गरेर ल्याएको अहिलेको राजनीतिक पद्धतिलाई सुदृढ गर्दै अघि बढाउनु हामी सबैको कर्तव्य हो ।’ नागरिक दैनिकबाट
प्रतिक्रिया