काठमाडौं – देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९२ हजार १६४ जना पुगेको छ । दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८३६ जनालाई पहिलो मात्रा र पूर्ण मात्रा लगाउने ४६ लाख ६७ हजार ३२८ जना पुगेको छ । प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५.४ प्रतिशत छन् ।
गत वर्ष माघ १४ गतेदेखि सुरु भएको कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक ढङ्गले अघि बढेको देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि खोप लगाउने कार्यले झनै तीव्रता पाएको छ ।
कोरोना भाइरस र कोरोनाविरुद्धको खोप दुवै नयाँ भएकाले सुरु–सुरुमा स्वास्थ्यकर्मीहरूले समेत खोप लगाउन आनाकानी गरेका थिए । स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिले समेत खोपबाट प्यारालाइसिस हुने, विभिन्न किसिमका रोग लाग्ने भन्दै खोप लगाउन मानेका थिएनन् ।
नेपालमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न मात्र ल्याइएको हो भन्दै कतिपयले खोपलाई बहिष्कार गरेका थिए तर विस्तारै खोपले मात्र कोरोनालाई परास्त गर्नसकिने प्रमाणहरू आएपछि मानिसले खोप लगाउन सुरु गरेका हुन् । अहिले खोप केन्द्रहरूमा खोप लगाउने मानिसको लामो लाम लाग्ने गरेको छ ।
तत्कालीन खोप शाखा प्रमुख डा. झलक गौतमले सुरुसुरुमा नर्स, डाक्टरहरूले समेत खोपप्रति आशङ्का व्यक्त गरेर खोप नलगाएको जानकारी दिए । विस्तारै सरकारले खोपबारे गलत भ्रमलाई चिर्दै खोपले मात्र कोरोनाविरुद्ध काम गर्नसक्छ भन्ने भावना ल्याएको जानकारी उनले दिए । गोरखापत्र दैनिकबाट
प्रतिक्रिया