देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल–खनाल समूहले नयाँ पार्टी खोल्ने

देशान्तर

 नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

पार्टीबाट निष्कासन हुनेमा नेपाल, खनालसहित नेताहरू भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खडका, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु र कलिला खातुन रहेका छन् । उनीहरूलाई पार्टीको साधारण सदस्य तथा पार्टीको तर्फबाट जनप्रतिनिधित्व, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्नि संघसंस्था वा संगठनका कुनै पद, ओहदा वा प्रतिनिधित्वमा रहेको भए सोसमेत नरहने गरी कारबाही गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए ।

‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने ।

यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको उनले जनाएका छन् । राजधानी दैनिकमा खबर छ ।