देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्योलमै खोप, पर्खाइमै जनता

देशान्तर

कोरोनाविरुद्धको खोप पर्याप्त नहुँदा थप अन्योल बढेको छ । खोप पर्याप्त नहुँदा पहिलो मात्रा लगाएकासमेत अन्योलमा परेका छन् । हाल, नेपालमा कोभिड सिल्ड र भेरोसेल खोप उपयोगमा छन् ।

२३ फागुन २०७७ मा खोप पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो मात्रा दिन नसकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६५ वर्षमाथिका ९ लाख ज्येष्ठ नागरिकले पहिलो मात्रा लगाएका थिए ।

खोपविज्ञका अनुसार कोभिड सिल्ड पहिलो मात्रा लगाएको ८ देखि १२ साताभित्र दोस्रो मात्रा दिनुपर्नेहुन्छ । यसरी जेठ तेस्रो सातासम्म दोस्रो मात्रा लगाइसक्नुपर्नेहुन्छ । तर, अझै खोप आउने निक्र्योल हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप ल्याउन कूटनीतिक प्रयास गर्दै आएको बताए पनि ‘कुनै देशले खोप दिने ?’ भन्ने ठोस प्रतिबद्धता भने जनाएका छैनन् ।

कोभिड सिल्ड उत्पादनकर्ता सेरम इन्स्टिच्युटले खरिद गरेको १० लाख मात्रा खोप तत्काल दिन नसक्ने बताएपछि थप अन्योल भएको हो ।

स्वास्थ्य मन्त्रालयले अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने प्रक्षेपण गरेको थियो । भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात नगर्ने संकेत गरेपछि नेपालमा समस्या देखिएको हो ।

आफ्नो देशका नागरिकको जीवन जोखिममा राखेर कोभिड–१९ विरुद्धको खोप निर्यात गरिएको भनी ठूलो विरोध भएपछि सेरमले विज्ञप्ति निकालेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले पर्याप्त खोप नहुँदा अभियानमा चुनौती देखिएको उल्लेख गरे ।