देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘वाम गठबन्धन नटुटाऔं, सरकारमा माओवादीसँगै मिलौं’

देशान्तर

त्तारूढ एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेको छ । नेपाल समूहका राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले बुधबार सर्वोच्च अदालतको फैसलापछि नयाँ परिस्थिति सिर्जना भएकाले सकेसम्म वाम गठबन्धन टुटाउन नहुनेमा जोड दिएको हो ।

बैठकमा नेतारूले तत्काल वामपन्थी दलको एकता सम्भव नभए पनि सरकारबाट चाहिँ छुट्न नहुने मत प्रकट गरेका थिए । एमाले वरिष्ठ नेता नेपालले वामपन्थी घोषणापत्र जारी गरेर त्यसको बलमा प्राप्त जनमतलाई जोगाएर जानुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ‘हामीले वाम घोषणापत्रका आधारमा मत पाएका हौं, त्यसलाई कायम राखेर जानुपर्छ, अन्यथा ढंगले अघि बढ्नु हुँदैन,’ नेपाललाई उद्धृत गर्दै ती नेताले भने । अर्का वरिष्ठ नेता झलनाथ खनालको धारणा पनि नेपालकै जस्तो थियो । खनालले त बुधबार प्रतिनिधिसभा बैठकपछि सार्वजनिक रूपमै एमालेको सरकारलाई अब दुई वर्षसम्म टिकाउन लाग्ने बताएका थिए । त्यसका लागि वाम गठबन्धन कायम राख्नुपर्ने उनको धारणा थियो ।

केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकपछि नेता रघुजी पन्तले सरकारको विषयमा अहिलेको गठबन्धन टुटाउन नहुने धारणा अधिकांशको रहेको जानकारी दिए । ‘सरकार वामपन्थीहरूको हुनुपर्छ, त्यसैले यो परिस्थिति निर्माण गर्नेतर्फ लाग्नुपर्छ,’ बैठकपछि पन्तले भने, ‘तत्काल पार्टी एकता सम्भव होला कि नहोला तर वामपन्थीकै सरकार आवश्यक छ ।’

अन्य वामपन्थी दलहरूसँगसमेत एकता गरी अघि बढ्नका लागि पनि अहिलेको गठबन्धन कायम राख्नुपर्ने नेपाल समूहका नेताहरूको धारणा छ । सर्वोच्च अदालतको फैसलापछि सांसदहरू एमाले र माओवादी केन्द्रमा विभाजन भएकाले केपी ओली नेतृत्वको सरकार संकटमा परेको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा वा संसद्मा अविश्वासको प्रस्ताव आउँदा एमाले नेतृत्वको सरकार टिकाउन समस्या हुन्छ । त्यसैले सकेसम्म माओवादी केन्द्रसँगको सहकार्यलाई जोगाउँदै जानुपर्नेमा नेपाल समूहको जोड छ । नेपाल समूह नेकपामा तत्कालीन माओवादी केन्द्र धारसँग मिलेर अघि बढेको थियो । संसद् विघटन गर्ने ओलीको कदमविरुद्ध सडक संघर्षसमेत गरेको यो समूह सर्वोच्च अदालतको फैसलापछि ओलीसँगै मिलेर जानुपर्ने अवस्थामा पुगेको छ । त्यसैले नयाँ परिवेशमा विगतको एमालेको शक्तिलाई कायम राख्दै त्यसका लागि सबैले आ–आफ्नो ढंगबाट अधिकतम योगदान गर्नुपर्ने नेताहरूले बताएका छन् । ओली समूहले पार्टी एकता नै गलत थियो भन्ने ढंगले चर्चा गरिरहेका बेला नेपाल समूहका नेताहरूले भने त्यसलाई अस्वीकार गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।