कञ्चनपुर । सीमावर्ती बजारबाट घरायसी सामान ल्याएर फर्किरहेका दोधारा–चाँदनी नगरपालिका– १ चाँदनीका १६ वर्षीय नरेश लुहारमाथि भारतीय सुरक्षाकर्मीले सोमबार साँझ गोली प्रहार गरेका छन् । खुुट्टामा गोली लागेर घाइते भएका उनको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
नरेशको दायाँ खुट्टामा गोलीको छर्रा लागेको छ । भारतीय बजार गडिगोठबाट फर्किने क्रममा जंगल क्षेत्रमा आफूलाई गोली हानिएको उनले बताए । सीमापारि जंगलको बाटोमा काटेर फालिएको रूखका विषयमा सोधपुछ गर्ने भन्दै भारतीय सुरक्षाकर्मीको टोलीले उनलाई रोकेको थियो ।
‘घरका लागि चामल, दाल, चिनी, टमाटर किनेर फर्कंदै थियौँ । सँगै गएको साथी मभन्दा अगाडि थियो । जंगलमा रूख काटेर बाटोमा फालिएको रहेछ, भारतीय सुरक्षाकर्मीले मलाई रोकेर त्यही विषयमा केरकार गर्न थाले । त्यसक्रममा उनीहरूले डण्डाले हानेर मलाई लडाए । म उठेर भागेँ,’ अस्पतालमा उपचाररत नरेशले भने, ‘केही पर पुगेपछि पटका पड्केको जस्तो आवाज आयो, मेरो खुट्टामा गोली लागेको रहेछ ।’ अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनी गाउँमै ट्र्याक्टर चलाउँछन् ।
गोली हान्ने खैरो बर्दी लगाएका सुरक्षाकर्मी रहेको र उनीहरू १०–१२ जनाको समूहमा रहेको नरेशले बताए । कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले नरेशमाथि गोली हान्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी) वा भारतीय वन रक्षकमध्ये को हुन् भन्ने भन्ने अझै खुल्न नसकेको बताए ।
गोली लागेपछि पनि आफू केहीबेर भागेर नेपालपट्टिको पूर्णागिरि प्राथमिक स्कुलसम्म पुगेको नरेशले बताए । ‘स्कुलमा पुगेको वेला छिमेकी अंकलको फोन आयो, उहाँलाई घटनाबारे बताएर लिन बोलाएँ । उहाँले अस्पताल ल्याउनुभयो,’ उनले भने । नयाँ पत्रिका
प्रतिक्रिया