देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले सरकार र राज्यले गर्ने कामको भेद छुट्याउन सकेनन् : देउवा

देशान्तर

काठमाडौं – प्रमुख प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले सरकार र राज्यले गर्ने कामको भेद छुट्याउन नसकेको आरोप लगाएका छन् । संवैधानिक परिषदमा रिक्त पदहरूको पूर्ति गर्ने विषयमा प्रधानमन्त्री ओलीसँग नियमित संवादमा रहेका विपक्षी दलका नेता देउवा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि भने झस्किएका छन् ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले पछिल्ला राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै भने, ‘संवैधानिक परिषद्ले गर्ने नियुक्ति जति पनि छन्, ती सबै राज्यले गर्ने हो, सरकारले होइन । तर, प्रधानमन्त्री ओलीलाई ती सबै नियुक्ति सरकारले गर्ने भन्ने लागेको रहेछ । संविधानले नै कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र प्रतिपक्षी दलको नेता समेतको सहभागिता परिषद्मा हुने व्यवस्था गरेको छ । तैपनि प्रधानमन्त्री ओलीलाई सबै आफैँले गर्ने हो भन्ने भ्रम छ ।’

संसदीय दलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता गर्दै संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ । ‘सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संविधानको मर्म र भावनाविपरीत छ, यो तत्काल फिर्ता गरिनुपर्छ,’ बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणले भने ।

बैठकमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचन गर्न सत्तासीन दलले आलटाल गरिरहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन सांसदले प्रश्न उठाएका थिए । तर, दलको बैठकले आधिकारिक निर्णय भने गरेन । जनताको आवाज उठाउने र कानुन बनाउने थलो संसद्लाई अप्रत्याशित ढंगले स्थगन गरी जनप्रतिनिधि र संसद्को भूमिकालाई संकुचित बनाएर अनिर्णयको बन्दी बनाएको कांग्रेसको ठहर छ ।

कांग्रेस संसदीय दलले कोरोना भाइरसका कारण रोग र भोगले प्रताडित भइरहेको अवस्थामा वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ । स्वास्थ्य सामग्री खरिद, वाइड तथा न्यारोबडी खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद र यती होल्डिङसँग सम्झौताजस्ता अनियमितताका प्रकरणमाथि छानबिन नभएकोप्रति निन्दा गर्दै कांग्रेसले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाहीको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।

यस्तै, उखु कृषकले उखु बिक्रीबापतको भुक्तानी पाउनका लागि काठमाडौंको चिसो सहेर लगातार पाँच दिनदेखि आन्दोलन गरिरहेकोप्रति पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । ‘लामो समयदेखि आफ्नो उत्पादनको भुक्तानी नपाउँदा कृषकहरू ऋणमाथि ऋण बोक्न बाध्य छन्, आफ्नो पसिनाको मूल्य प्राप्तिका लागि सरकारसँग हारगुहार गर्दा पनि भुक्तानी नपाउनु कृषकमाथिको अन्याय हो,’ प्रमुख सचेतक खाणले भने ।

बैठकले किसानले पाउनुपर्ने तुरुन्तै भुक्तानी गरी दोषी उद्योगीलाई कारबाहीको दायरामा ल्याउनसमेत सरकारसँग माग गरेको छ । यस्तै, मोरङको मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको अपहरणपश्चात् हत्या भएकोप्रति समेत कांग्रेसले भत्र्सना गरेको छ ।

‘राजनीतिक प्रतिशोधका नाममा नागरिकले स्वतन्त्रपूर्वक बाँच्न पाउनुपर्ने अधिकारको हनन भएको छ, सरकारले आमजनतालाई शान्ति सुरक्षा दिन सकिरहेको छैन,’ कांग्रेसले भनेको छ, ‘नागरिकका जिउधनको सुरक्षा गर्नु सरकारको दायित्व हो ।’ नयाँ पत्रिका दैनिकबाट