देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवनमा भदौ १२ गतेसम्म निषेधाज्ञा थप

देशान्तर

चितवन । कोरोना भाइरस संक्रमण तीव्र भएसँगै चितवनमा निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला प्रशासनमा शुक्रबार दिउँसो भएको बैठकले निषेधाज्ञालाई जिल्लाभर भदौ १२ गतेसम्म निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । यसअघि जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको निषेधाज्ञा शुक्रबार मध्यरातबाट सकिँदै थियो ।

निषेधाज्ञाका बेला अत्यावश्यकीय खाद्यान्न किन्न बिहान ५ देखि ८ बजेसम्म र साँझ पनि सोही समयमा बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कन निषेध गरिएको छ । अत्यावश्यक खाद्यान्न किन्न पनि नजिकैको पसलमा पैदलै जानु पर्ने प्रशासनको निर्देशन छ । लामो दुरीका मालबाहक ट्रक, दमकल, एम्बुलेन्स, शब बाहन, तरकारी, फलफूल र दूध बोक्ने गाडी भने चल्ने छन् ।

पशुपंक्षीका दाना बोक्ने गाडी, खानेपानी र इन्धनका ट्याङ्कर, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका गाडी र अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासनबाट अनुमति लिएकाबाहेक सबै खाले निजी गाडी र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।

पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलबाहेक सबै पसल सञ्चालन गर्न निषेध गरेको भट्टराईले बताए । स्वास्थ्य संस्था र अत्यावश्यक सेवा दिने कार्यालय बाहेक अन्य सवै खाले सरकारी, गैर सरकारी कार्यालयहरु, गैर सरकारी संस्थाहरु, बैंक र वित्तीय संस्था तथा सहकारी संस्थाहरु पनि बन्द रहने छन् । धार्मिक, सांस्कृतिक कार्यक्रम गर्न, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुन पनि प्रशासनले रोक लगाएको छ ।

उद्योगहरु सञ्चालन गर्न पाइने तर नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूरा गर्नु पर्ने जनाइएको छ ।