देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपामा धाँजा फाट्यो

देशान्तर

शीर्ष नेताहरूबीचको झगडाले चरम रूप लिएपछि सत्तारूढ नेकपामा धाँजा फाटेको छ । एकअर्काप्रति असन्तुष्टि जनाएर गुट–उपगुटको भेला गर्दै आएका नेताहरूबीच मंगलबार स्पष्ट कित्ताकाट देखिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष केपी शर्मा ओलीले एकलौटी स्थगित गरिदिए ।

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालनिकट स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री निवासभित्रै बैठक गरेर ओलीको कदमलाई अवैधानिक भनेका छन् । दुई आमन्त्रित र २८ स्थायी कमिटी सदस्य उपस्थित रहेको उक्त भेलालाई दाहाल–नेपाल समूहले ‘स्थायी कमिटीको आधिकारिक बैठक’ दाबी गरेको छ । ओली समूहले भने यसलाई दाहाल–नेपाल समूहको ‘गुटको भेला’ भनेको छ ।

पार्टी एकतापछि नेकपाभित्र देखिएको यो विवाद अहिलेसम्मकै चरम हो । यसअघि कैयौंपटक नेताहरूबीच विवाद हुँदा गुटका छुट्टाछुट्टै भेला मात्र भएका थिए । ‘पार्टीको बैठक’ नै दाबी गर्दै एउटा समूहको मात्र जमघट भएको थिएन । प्रधानमन्त्री निवास बालुवाटारभित्रै असन्तुष्ट नेताहरूले ओलीको विमतिका बीच स्थायी कमिटी बैठक दाबी गर्दै भेला गर्नुले नेकपाभित्रको पछिल्लो विवाद छताछुल्ल हुन पुगेको छ । यसको प्रभावकारी व्यवस्थापन हुन नसके पार्टीमा विग्रह आउन सक्नेसम्मको चिन्ता नेताहरूले व्यक्त गरेका छन् । कान्तिपुरमा खबर छ।